२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बम्जनलाई पक्राउ गर्नसमेत प्रहरीलाई हम्मेहम्मे !

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असोज ९, २०७७
    काठमाडौँः प्रहरीलाई अहिले लिटिल बुद्ध भनेर चिनिएका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न हम्मेहम्मे परेको छ । ११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न नसकेर आलोचित बनेको प्रहरीलाई बम्जन पक्राउ गर्नसमेत हम्मेहम्मे परेको हो ।

    निर्मला पन्तको हत्याराबारे प्रहरी अहिलेसम्म कुहिरोको कागझैँ रुमल्लिएको छ । निर्मला हत्या प्रकरणले प्रहरी मात्र होइन, सरकार नै आलोचित हुन पुगेको छ । निर्मला हत्याराबारे प्रहरीको सुरुदेखिको एउटै भनाइ छ,‘प्रमाणको अभावमा अनुसन्धान केही जटिल भएको हो । समय लाग्छ । अनुसन्धान जारी छ ।’

    तर बम्जनको हकमा निर्मला हत्या प्रकरणकाे जस्तो अनुसन्धान गर्नुपर्ने झन्झट प्रहरीलाई छैन । सबै पहिचान खुलेको र अदालतमा मुद्दा दायर हुँदा पनि आश्रममै बस्दै आएका बम्जनलाई पक्राउ गर्न प्रहरीले सकिराखेको छैन ।

    जसले प्रहरीको काम कारबाहीबारे स्वाभाविक प्रश्न उठाएको छ । बम्जनमाथि आफ्नै आनीलाई बलात्कारपछि बेपत्ता पारेको भन्दै जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको हो । तर, उनी छ महिनादेखि फरार छन् । बम्जन पक्राउ गर्न सर्लाही प्रहरी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सिन्धुली प्रहरी र सिन्धुपाल्चोक प्रहरीले तीव्र खोजी गरिरहेको जनाए पनि उनलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सकेका छैनन् ।

    सर्लाही अदालतले प्रहरीलाई पक्राउ गर्न दिएको पुर्जीको हदम्याद २१ असारमा सकिएपछि उनको मुद्दा सिधै अदालत पुगेको छ । प्रहरीले फरार बम्जनबारे अनुसन्धान प्रतिवेदन भने अदातलमा पेस गरिसकेको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले जानकारी दिए ।

    पक्राउ गर्न नसके पनि प्रहरीले बलात्कार आरोपमा उनी दोषी रहेको प्रतिवेदन अदालतमा पेस गरेको प्रहरीको भनाइ छ । पछिल्लो पटक ४ असारमा सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित बम्जनको आश्रम सिल गरेर सीआईबीको टोलीले करिब १० घट्ना अपरेसन चलाएको थियो ।

    तर, प्रहरीको उक्त अपरेसन पनि सफल हुन सकेन । उनी अझै पनि त्यही आश्रममा रहेको प्रहरीको अनुमान छ । यसअघि पनि प्रहरीले  बम्जनको सिन्धुपाल्चोकको आश्रम र सिन्धुलीको आश्रममा गरी पटक–पटक छापा मारिसकेको छ । तर, प्रहरीको पटक–पटकको प्रयास बम्जनले असफल पार्दै आएका छन् ।

    सिन्धुपाल्चोक प्रहरीले उनको आश्रमबाट शव गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू फेला पारेको थियो । उनीमाथि सर्लाहीकी रीता बोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया तामाङलाई यौनशोषणपछि बेपत्ता पारेको अभियोग छ ।

    सर्लाही अदालतले गत माघमै बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    १४ वर्ष जेल सजायको माग

    जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले बम्जनविरुद्ध असारमा बालबालिकासम्बन्धी ऐन, २०७६ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ । जसमा बम्जनसहित तीन जनालाई प्रतिवादी बनाइएको सरकारी वकिलकाे कार्यालयका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले जानकारी दिए ।

    तीमध्ये मुख्य प्रतिवादी बम्जनलाई १४ वर्ष र उनलाई सघाएको आरोप लागेका ज्ञानबहादुर बम्जन र जितबहादुर तामाङलाई त्यसको आधा सजायको माग दाबी गरिएको छ ।

    उनीहरू तीनै जना आफैँ अदालतमा हाजिर हुने वा प्रहरीले पक्राउ गरेर बुझाउने दुवै काम अहिलेसम्म नभएको गौतमले बताए ।

    बम्जनमाथि सुरुमा २०७३ साउन २० मा आश्रममै आएकी आनीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कार गरेको आरोप लागेको थियो । उनीमाथि त्यसको ३ वर्षपछि मात्रै पहिलो पटक सर्लाहीमा किटानी जाहेरी परेको थियो ।

    वन फडानी गरेर आश्रम निर्माण

    बम्जनले सिन्धुलीस्थित कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर बसेका छन् । अवैध रूपमा वन अतिक्रमण गरेर बनाएका उनका आश्रमसमेत भत्काउन वन विभागलाई सीआईबीले पत्राचार गरेको छ ।

    सीआईबीका प्रमुख डीआईजी थापाका अनुसार वन अतिक्रम गरेर बनाएका संरचनाबारे अनुसन्धान गर्ने क्षेत्राधिकार प्रहरीको नभएकाले बम्जनले निर्माण गरेका सबै संरचनाबारे अनुसन्धान गर्न वन विभागलाई पत्रचार गरिएको हो ।

    धर्मको नाममा जंगल मासेर संरचना बनाइएको प्रहरीको दाबी छ  । बम्जनले सिन्धुपाल्चोक, सर्लाही र नुवाकोटमा पनि आश्रम निर्माण गरेका छन । सिन्धुलीको आश्रमबाहेक अन्य आश्रममा बस्दा उनले आपराधिक गतिविधि सञ्चालन गरेको प्रहरीको निष्कर्ष छ ।

    सिन्धुलीको आश्रमभित्र बम्जनले आफ्ना लागि छुट्टै दरबार नै निर्माण गरेका छन् । त्यसका अलावा आश्रमभित्र उनको स्वीमिङ पुल, जिमखानासमेत छ ।

    आश्रमभित्र नेपालीबाहेक केही विदेशी नागरिक पनि रहेको प्रहरीको भनाइ छ । त्यस्तै, बम्जनले प्रयोग गर्ने दुई महँगा कारसमेत आश्रमभित्रै छन् । आश्रमका चारै नाकामा उनले सुरक्षा चेक पोस्ट राखेका छन् । शिलापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस