असोज ८, २०७७
चौताराः सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ७ धुम्थाङमा गएको पहिरोले चिनिमाया थामीको घरबार बगायो। उनी अहिले दाताले सहयोग गरेको टेन्टमा जीविका चलाउदै आइरहेकी छिन्।
‘पहिरोले घर बगायो। अहिले दाताले दिइएको टेण्टमा अस्थायी रुपमा बसोबास गरिरहेका छौँ। अन्यन्त्र जाने ठाउँ कहि छैन। भएको पहिराले लगिहाल्यो’ उनले दुखेसो पोखिन्।
उनकोजस्तै समस्या सोही ठाउँका रामकृष्ण भण्डारीको पनि छ। पहिरोले घरबार लग्यो। आफ्नो ज्यान बाचेकालाई अहिले बर्षायातको समयमा बाच्न मुस्किल परिरहेको उनी सुनाउँछन्।
पहिरोले घरखेत बगाएर लग्यो। अन्यन्त्र जाने थलो छैन। अब कहाँ कसरी गएर आफ्नो र आफ्नो परिवारको सुरक्षा गर्ने उनलाई पिरोलिरहेको छ। ‘यही टेण्टमा बर्षा त जाला। तर, अब हिउद लागिसकेको छ। चिसोमा कसरी बसौँ यही’ उनले भने।
जिम्मेवार निकायले बाढीपहिरो पीडितको तत्कालै व्यवस्थापन गर्नुपर्ने उनले बताए। ‘सरकारले केही गर्ला कि भन्ने आश छ। तर, अरु ठाउँको पीडितको अवस्था हेर्दा हाम्रो पनि त्यस्तै अवस्था हुने होकी जस्तो लाग्छ’ उनले थपे।
भदौ २८ गते राति गएको पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ भने १५ जना अझै बेपत्ता भएका छन्।
प्रतिक्रिया दिनुहोस