असोज ६, २०७७
चौताराः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कोभिड १९ महामारीका कारणले पुनर्निमाण प्रभावित बन्न पुगेकाले एक बर्षका लागि समय थप गर्ने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बताए। थपिएको समयावधिको करिब साढे छ महिना अर्थात् २०७८ असार मसान्तसम्म प्राधिकरणले हाल गर्दै आएका काम गर्नेछ ।
बाँकी अवधि अर्थात् पाँच महिना १० दिन लेखा परीक्षण, फरफारक र सरकारका विभिन्न निकाय तथा स्थानीय तहलाई बाँकी रहेका कार्य जिम्मेवारीका साथै पुनर्निर्माणका दस्तावेज हस्तान्तरण गर्नेछ ।
बैठकले अन्तर्राष्ट्रिय सम्मेलनको तयारी प्रक्रिया अघि बढाउन र त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारलाई लोकतान्त्रिक आन्दोलन एवं संघर्षको संग्रहालय बनाउन पनि स्वीकृति दिएको छ
निर्देशक समितिको निर्णयानुसार चालु आर्थिक वर्ष २०७७÷०७८ भर निजी आवाससम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नेगरी निजी आवास पुनर्निर्माण लाभग्राहीले प्राप्त गर्ने अनुदानको समयसीमा प्राधिकरणको कार्यकारी समितिले तय गर्नेछ ।
प्राधिकरणको कार्यावधि २०७७ पुस १० गते सकिँदै थियो । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ मा प्राधिकरणको कार्यावधि थपसम्बन्धी प्रावधान छ ।
समितिको बैठकले पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी मौजुदा बजेट योजनालाई परिमार्जन गरी रु चार खर्ब ८८ अर्बको संशोधित बजेट र कार्यक्रम स्वीकृत गरेको छ । परिमार्जित बजेट तथा कार्यक्रमको अधीनमा रही पुनर्निर्माणका चालु तथा बाँकी काम सम्पन्न हुनेछन् । यस योजनामा उल्लेख भएबाहेकका पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी कार्य विभिन्न तहगत सरकारलाई हस्तान्तरण हुनेछन् ।
प्रतिक्रिया दिनुहोस