२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

‘संविधान गतिशील दस्तावेज हो, त्यसको कार्यान्वयन महत्त्वपूर्ण कार्यभार’

  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • असोज ३, २०७७
    चौताराः सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्त्वपूर्ण कार्यभार भएको बताएका छन्।

    संविधान दिवस २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले संघ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिए।

    सन्देशमा उल्लेख छ, ‘संविधानअनुरुप निर्माण भएका ऐनका नियमावली निर्माणमा ढिलाइ भएको गुनासा सम्बोधन गर्नुपर्ने छ, कानुन बन्ने तर नागरिकले प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था आउन नदिनेतर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’

    सभामुख सापकोटाले आजको विशेष दिनले सबैलाई संविधानको मर्म र भावनानुसार काम गर्न प्रेरणा मिल्ने पनि विश्वास व्यक्त गरे।

    सभामुख सापकोटाले नेपालको संविधानको धारा १०९ मा संघीय संसद्को व्यवस्थापकीय अधिकार, धारा १९७ मा प्रदेशसभाको व्यवस्थापकीय अधिकार र धारा २२१ मा स्थानीय तहको व्यवस्थापकीय अधिकारको व्यवस्था गरिएका कारण तीन वटै तहले कानुनको निर्माण गर्ने अधिकार राख्ने र आवश्यकतानुसार कानूनको निर्माण र कार्यान्वयन गरिरहेको स्मरण गरेका छन्।

    संविधान गतिशील दस्तावेज भएको उल्लेख गर्दै सभामुख सापकोटाले नीतिनिर्माण तथा राज्यका विभिन्न संयन्त्रमा समावेशिताको व्यवस्था गरिएको जनाएका छन्। संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) कानुन बनेको तथा संविधानसँग बाझिएका कानुन संशोधन भइसकेको जनाउँदै उनले प्रदेश र स्थानीय तहले आफ्ना एकल अधिकारअन्तर्गतका कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको बताएका छन्।

    नेपालको संविधान नेपालका अग्रगामी परिवर्तन पक्षधर जनताको संघर्ष र शहीदका बलिदानको प्रतिफल रहेको उल्लेख गर्दै सभामुख सापकोटाले शहीदको साहस, अग्रगामी परिवर्तनको तीव्र इच्छाशक्ति एवं बलिदानीपूर्ण संघर्षका कारण नेपालको संविधान निर्माण सम्भव भएको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस