२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

भूकम्पपछि सिन्धुपाल्चोकमा त्रासः सुरक्षा निकायहरुलाई अलर्टमा बस्न निर्देशन

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • भदौ ३१, २०७७
    चौताराः बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो ।

    कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ । सिन्धुपाल्चोकवासीले बाढीपहिरोदेखि भूकम्पको सामना गर्नुपरेको छ । ०७१ साउन १७ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरे पहिरोमा परेर १४५ जनाको मृत्यु भएको थियो । सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् ।

    सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको भूकम्पका कारण सिन्धुपाल्चोकबासीमा बुधबारको भूकम्पले थप त्रास बढेको छ ।

    बुधबार बिहान आएको भूकम्पको कारण मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक ९इन्सपेक्टर० नवराज न्यौपानेका अनुसार बाह्रबिसेका स्थानीय डरले घरबाहिर निस्केर बसेका छन् ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भूकम्पका कारण जमिन कमजोर भएको अनुमान गर्दै जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्ने निर्देशन दिएको बताए । भूकम्पले पहिरोको जोखिम बढेकाले सबैलाई अलर्ट रहन निर्देशन दिएको उनले बताए।

    भूकम्पले निकै हल्लाए पनि त्यसबाट भएको क्षतिको जानकारी कतैबाट नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

    ०७२ सालमा गएको भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोक प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको विज्ञहरुको भनाइ छ । भूकम्पले थिलथिलो सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, भोटेकोशीमा आएको बाढी, भूकम्पबाट क्षति, हवाई दुर्घटना र सडक दुर्घटनाको चिनारी हो ।

    हरेक वर्ष बाढी–पहिरो जस्ता प्राकृत्तिक विपत्तिको सामना गनुपरेको छ सिन्धुपाल्चोकवासीले । यसवर्ष पनि बाह्रबिसे नगरपालिका, जुगल र भोटेकोशी गाउँपालिकालाई बाढी, पहिराले दुःख दियो ।

    यस वर्षको मनसुन शुरु भएसँगै ०७७ जेठ ३० पछि सिन्धुपाल्चोकमा १७ ठाउँमा बढी–पहिरो आयो । जसकारण ५५ जनाको मृत्यु भयो । २३ जना अझै बेपत्ता छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस