भदौ २२, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा पहिरोको जोखिममा परेको बस्ती स्थानान्तरणमै समस्या परेका छन। राष्ट्रिय पुननिर्माण प्राधिकरण भौगर्भिक अध्ययन तथा जग्गा व्यवस्थापन शाखाले जिल्लाका विभिन्न निकायसँगको समन्वय गरि २ सय ४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको निकर्ष छ।
तर, ती बस्ती स्थानान्तरणमा समस्या भएको छ। ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको थियो। जसमध्ये ७१ बस्ती जुनकुनै हिसाबले असुरक्षित रहेको औँल्याएको थियो।
प्राधिकरणले जोखिमयुक्त भनेको २४२ मध्ये २३३ बस्ती बाढी र पहिरोको कारण बस्न अयोग्य भएको तथ्याङ्क स्थानीय तहहरूले उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
पहिरोको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घर परिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ। यस्तै जुगल गाउँपालिकाले पनि यो वर्ष बाढी पहिरोबाट ठूलो क्षति व्यहोर्यो। जुगल गाउँपालिका–२ लिदी पहिरोमा ३७ घर पुरिए भने ३३ को मृत्यु भयो र छ जना बेपत्ता छन्। पहिरो गएकै स्थानमा १७२ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो।
लिदीसँगै नाम्फामा एक सय ६०, सञ्चगाउँमा १०७, नेम्लुङलगायत २९ बस्तीका ८५३ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो। तर, उक्त जोखिम बस्तिहरुको स्थानान्तण गर्न नसक्दा जिल्लाले पछिल्लो समयमा निकै ठुलो मानविय तथा भौतिक क्षति व्यहोर्नु परेको छ।
जिल्लामा बलेफी गाउँपालिकामा १४, बाह्रविसे नगरपालिकामा २३, भोटेकोशी गाउँपालिकामा ४९ र चौतारा साँगाचोकगढी नगरपालिकामा ४, हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङपालमा ३२, सुनकोशीमा १ र त्रिपुरामा ४ वटा बस्ती जोखिममा छन् उक्त तथ्याङक प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा सार्वजनिक गरिएको थियो।
प्रतिक्रिया दिनुहोस