भदौ २१, २०७७
गत साउन ३० गते जुगल–२ लिदिमा गएको भिषण पहिरोमा परि हाल सम्म ३७ जनाले ज्यान गुमाएका छन् । २ जना अझै वेपत्ता छन् । पहिरो गएको २ साता बितिसक्दा पनि हालसम्म २ जनाको लास समेत भेटिएको छैन । ०७२ को विनासकारी भूकम्पले जमिन चिराचिरा पारेपछि लिदीबासी पहिले देखिनै त्राशमा दिन रात बिताइ रहेका थिए । बस्ती नै असुरक्षित बन्दै गएपछि आफ्नो जिउधनको रक्षा गरिदिन लिदीबासीले जिल्ला बिपद् व्यवस्थापन समितिलाई पटक पटक अनुरोध गरिरहे।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बस्ती स्थानान्तरण गरि नागरिकको जिउधनको रक्षा गर्नुको साटो उल्टै पीडित पक्षलाई अबदेखि यस्तो कुरा लिएर म कहाँ नआउनु भनेर फर्काएका थिए । प्रमुख जिल्ला अधिकारी ढकालले हकारेर पठाएको एक सातापछि लिदिमा भिषण पहिरो गयो ।
पहिरोले ठुलो धनजनको क्षती गर्यो । त्यसपछि सुरु भयोे स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयबीच आरोप प्रत्यारोप । घटना प्राकृतिक विपत्ती जन्य हो । तर, सम्बन्धित निकायले चाहेको भए मानविय क्षतिलाइ अवश्य रोक्न सक्थ्यो । असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा समयमै सार्न सकेको भए पक्कै यो भयवह अवस्था आउने थिएन ।
अब यो घटनाको जिम्बेवारी स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले लिन तयार छ कि छैन ? यो र यस्ता घटनाबाट सम्बन्धित निकाय र हामी नागरिकहरुले सिकेका छौंकि छैनौँ ? अबको सवाल यो हो । अधिकार सम्पन्न स्थानीय सरकारले चाहेर पनि बस्ती सार्न नसकेको हो वा चासो नराखेको हो ? नागरिकले ६ बर्षदेखि गुहार माग्दा वास्ता वेवास्तामा पारेको निकायबाट अब नागरिकले के आशा राख्ने ?
यसैगरि सम्बन्धित निकाय मुकदर्शक बन्ने हो भने यस्ता विपत्तिले जिल्लाबासीलाई सधै नै पिरोल्ने पक्का छ । त्यसैले सम्बन्धित निकाय जिम्बेवार बन्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस