भदौ १७, २०७७
चौताराः नेपालमा बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको हो।
बुधबार काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।
यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
थप १२ को मृत्यु
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो । काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए।
काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस