भदौ १४, २०७७
चौताराः नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै १२ सय २१ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३ सय ४८ महिला र ८ सय ७३ पुरुष रहेका छन्।
योससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् । त्यस्तै आज मकवानपुरमा ९ जना, रसुवामा ३, काभ्रेमा २५, चितवनमा ९०, धनुषा ७५ र बारामा ८२ जना थपिएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।
थप १४ जनाको मृत्यु
नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् ।
यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको छ।
प्रतिक्रिया दिनुहोस