भदौ १३, २०७७
वासिङटनः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्रेट्सको तर्फबाट उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसलाई यस पदका लागि उनी अयोग्य रहेको आरोप लगाएका छन् ।
ट्रम्पले बरु आफ्नै छोरी इभान्का ट्रम्प उपराष्ट्रपतिको भूमिकामा योग्य रहेको जिकिर गरे । इभान्का हाल ट्रम्पको सल्लाहकारको भूमिकामा छिन् । लन्डनडेरी, न्यु ह्याम्पसायरस्थित आफ्ना समर्थकहरुमाझ चुनावी अभियानको क्रममा ट्रम्पले यस्तो आरोप लगाएका हुन् ।
क्यालिफोर्निया डेमोक्रेट्सको चुनावी अभियानलाई उनले हाँसोमा उडाउँदै आफ्नी छोरी उपराष्ट्रपतिको उपयुक्त दावेदार हुनसक्ने जिकिर गरेका थिए । ‘तपाईँलाई थाहा छ, मलाई पहिलो महिला राष्ट्रपति बनेको देख्ने मन पनि छ । तर उनको तरिकाले यस पदमा आएको देख्न चाहन्न म । र उनी सक्षम छैनन्, उनी सक्षम छैनन् । उनीहरु सबैले भनिरहेका छन्, हामी इभान्कालाई चाहन्छौँ,’ ट्रम्पले भने ।
रिपब्लिकनको अधिवेशन समापन भएको एक दिनपछि उनले ह्यारिसविरुद्ध यस्तो प्रतिक्रिया दिएका हुन् । कमला ह्यारिस अमेरिकामा पहिलो अस्वेत र पहिलो दक्षिण एसियाली मूलकी उपराष्ट्रपति उम्मेदवार हुन् । उनले संसदमा पनि २०१७ देखि क्यालिफोर्निको प्रतिनिधत्व गर्दैआएकी छन् ।
यसअघि उनी क्यालिफोर्नियाको महान्यायाधीवक्ता र त्यसअघि सान फ्रान्सिस्कोको जिल्ला न्यायाधीवक्ता थिइन् । अमेरिकामा आगामी नोभेम्बर ३ देखि राष्ट्रपतीय निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ ।
कमला ह्यारिस बाइडेनको पक्षबाट, अर्थात् डेमोक्रेट्स उपराष्ट्रपति उम्मेदवार हुन् । ट्रम्पले भने अभियानको क्रममा विना तथ्य, प्रमाण बाइडेन र ह्यारिसलाई विभिन्न लान्छना र आरोप लगाउँदै आएका छन् । साथै उनले विभिन्न झुटो दावी र भ्रामक अभिव्यक्ति दिएको कुरा अन्तर्राष्ट्रिय मिडियाले उजागर गरिसकेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस