भदौ १३, २०७७
सकसपूर्ण २ हप्ते लकडाउन १४ गतेबाट चैट हुँदैछ । लकडाउन थप्ने वा हटाउने विषयमा सिडिओ सावको सायद मुडमा भर पर्छ कि ? खैर कोरोना रोकथामका लागि गरिएको लकडाउन लकडाउन अवधीभर प्रभावकारी भए पनि यसले जन्माउने दीर्घकालीन समस्याको बारेमा सम्वन्धीत निकायले खासै चासो दिएको देखिँदैन ।
अर्कोतिर लकडाउनको नाउँमा लुजडाउन मुखरित भएपछि सोझासिधा जनताहरु रणभूल्लमा पर्दे घरमा थुनिएर बस्ने र बलिया बाँगाले भने मौकामा चौका हान्दै शुभलाभको विरासत ठडयाँउदै हिड्ने गरेको दृष्टान्त दरिलोरुपमा दर्ज भएको हामीले देख्दै र भोक्दै आएका नै छौं । यसले कालान्तरमा विकराल समस्या ल्याउने र सामाजिक आर्थिक खाडल अझ ठूलो हुनेमा दुई मत नहोला ।
यस अवस्थामा सर्प पनि मर्ने र लठी पनि नभाँचिने लकडाउनको मोडालिटि अवलम्बन नगर्ने हो भने समय घर्की सकेपछि आउने सचेतना केवल ङ्याउरी मारी पछुतो मात्र हुने छ । अत : यो माहामारीको बीचमा यसो गर्न सकिए कसो होला ?
१) जिल्ला प्रवेश गर्ने हरेक नाकामा कडाई गर्ने । आउने जानेको विवरण सोही नाकामा संकलन गर्ने । जिल्ला प्रवेश गर्दै गरेका व्यक्ति जिल्लामा बस्छन् या फर्कन्छन् सो को यथार्थ जानकारी लिई बस्नेलाई सोही स्थानबाट १४ दिने क्वारेन्टाइनको व्यवस्थापन गर्ने । फर्कनेलाई पाहुनाको संकतेरुपी स्टिकर लगाई दिने ताकि त्यो संकेतबाट बाहिरबाट आएको पाहुना भनेर स्थानीयले सहजै पहिचान गर्दै उसँगको घुलमिल वा सामिप्यताबाट सर्तकता रहेर सामाजिक दुरी कायम गर्दै सुरक्षित रहन सहज बनाउने । पाहुनाका लागि निश्चित होटल छनौट गरि प्याकिङ खानाखाजाको प्रवन्धमा जोड दिने ।
२) पिसिआर परिक्षण तीव्र पार्ने । खासगरि हालसम्म जिल्लामा देखिएका संक्रमितहरुको कन्ट्याक ट्रेसिङलाई आधार बनाई उनीहरुको पिसिआर गर्न पटक्कै कञ्जुस्याँइ गर्दै नगर्ने । यो महामारीमा फ्रन्टलाईनमा उभिएर कार्य गर्नेहरुको परीक्षणलाई उच्च प्राथमिकता दिने । स्वाब दिने अनि बाहिर लठकलठक हिड्ने प्रवृत्ति बढ्दो छ । स्वाब दिनेहरुलाई नतिजा नआएसम्म सेल्फ क्वारेन्टाईनमा बस्न कडाई गर्ने । कन्ट्याक्ट ट्रेसिङ गर्दा पहिलो घेरामा पर्नेहरुलाई मात्र हैन, दोस्रो र तेस्रो घेरामा पर्नेहरुलाई पनि पहिलो घेरामा पर्नेहरुको स्वाब नतिजा नआएसम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गर्ने । तिनीहरुलाई बेला बेलामा सम्पर्क गर्दै लक्षण र स्वास्थ्य स्थिति बारे सोधपुछ गरिरहेने । सेल्फ आइसोलेसनमा बस्न प्रेरित गरिरहने ।
३) हरेक पसल होटल लगायतका व्यवसाय, कार्यालय र मानवीय गतिविधिलाई निर्वाध संचालन गर्न दिने । सबै व्यवसायी र कार्यालयहरुले अनिवार्य साबुनपानी वा स्यानीटाइजरको व्यवस्था गरिदिने । ग्र्राहक, उपभोक्ता वा सेवाग्राहीले साबुनपानी वा स्यानिटाइजर प्रयोग नगरेसम्म कुनै पनि कारोबार अगाडि नबढाउने । यसको नियमनका लागि प्रहरीसँगको समन्वयमा स्थानीय टोल विकास समितिलाई परिचालन गर्ने । यस्ता समिति नभएको ठाउँमा स्वयम्सेवक दस्ता तयार गर्ने ।
४) झारो टार्ने किसिमका क्वारेन्टाइन भन्दा पनि साँचिक्कै व्यवस्थित र सुविधासम्पन्न क्वारेन्टाइन बनाउन स्थानीय सरकार लगायतका सरोकार निकायले कुनै कसर बाँकी नराख्ने । डक्टर, नर्स, भ्यान्टिलेटर लगायतका उपकरणसहितको आइसोलेशन तयारी अवस्थामा राख्ने । आइसोलेसन र क्वारेन्टाइन कुनैपनि संक्रमितलाई कुनै पनि कोणबाट कैदीघर जस्तो नलागोस भनेर सो अनुरुपको वातावरण निर्माण गर्ने । पूर्व तयारीका लागि सबै बन्दोबस्त बेलैमा मिलाउने । ता कि भोलि दुईजना संक्रमित राख्न पनि बेडको अभाव नहोस ।
५ ) संक्रमितलाई निश्चित स्थानमा पु¥याउन कम्तिमा एउटा एम्बुलेन्स हाई हर्लटमा राख्ने । चालकको पारिश्रमिक लगायतको सुविधालाई समयमै सम्वोधन गर्ने । ताकि अप्ठ्यारो अवस्थामा चालकले कुनै पनि संक्रमित ओसारपसारमा बहानाबाजी गर्न नपाओस र यति हुँदाहुँदै पनि चालकले संक्रमित बोक्न आनकानी गरे कारबाही गर्ने ।
६ ) जिल्लाबाहिरबाट मात्र हैन भित्रैबाट पनि बाहिरिने ढुवानी, खद्यान्न, तरकारी लगायतका गाडीहरुलाई नाकामा नै निर्मलीकण गर्नुपर्ने । खासगरि तरकारी र खाद्यान्न लगायतका गाडीहरुले स्थानीय बजारमा सामान आपूर्ति गर्दा सामाजिक दुरी कायम गरे ÷ नगरेको कडाईका साथ निगरानी गर्ने । त्यस्ता गाडीहरु निश्चित दिन वा बारमा आउने हुँदा स्थानीय टोल विकास समिति वा स्थानीय आफैले सो कार्य गर्न सकिने ।
७ ) निश्चित अवधीको वितेसँगै यो “लकइन”को प्रभावकारीताको गम्भीर ढंकबाट अध्ययन गरि सफल भएको निष्कर्ष निक्सिएको खण्डमा मात्र सभागोष्ठीलाई क्रमश खुकुलो बनाउँदै लान सकिने ।
८ ) लामो समय विद्यालय बन्द हुँदा शैक्षिक गतिविधि ठप्प मात्र भएका छैनन् । बालबालिकाको मनोविज्ञानमा समेत प्रभाव देखिन थालेको छ । जिल्लामा यो “लकइन” मोडालिटी सफल हुँदै गएको खण्डमा क्रमश एउटा मात्र कक्षा सञ्चालनमार्फत विद्यालयमा शैक्षिक गतिविधि प्रारम्भ गर्ने । लकइनको प्रभावकारिता बढ्दै गएको खण्डमा क्रमश अन्य कक्षाहरु पनि सञ्चालन गर्दै लाने ।
९ ) खासगरि पछिल्लो चरण संक्रमित व्यक्तिलाई दुरदुर छि छि गर्ने र संक्रमित परिवारलाई सामाजिक बहिष्करणमा पार्ने जस्ता अमानवीय गतिविधि बढ्दै गईरहेको छ । यस विषयलाई बेलैमा गम्भीर ढंकबाट निराकरण गर्न सकिएन भने भविष्यमा पार्ने नकारात्मक असरले स्वयम मानवजातिमाथि प्रश्न चिन्ह्र खडा गर्न सक्छ । त्यसैले ढिला नगरिकनै समाजिक सघसंस्था, महिला स्वास्थ्यस्वयमसेविका, फुर्सदिला बनेका शिक्षक शिक्षिका, सञ्चार माध्यमहरुलाई परिचालन गर्दै संचेतना फैलाउने कार्यमा संलग्न गराउने ।
१० ) प्रत्येक सञ्चार माध्यम, फेसबुक प्रयोगकर्ताहरुले कोरोनाबाट मृत्यु भएको समाचारलाई पहिलो प्राथमिकता दिनुको साटो कोरोना जितेकोहरुको सूचना संप्रेषण गर्दा यसबाट सामाजिक मनोविज्ञानमा हाउगुजीको रुपमा स्थापित हुँदै गएको कोरोना त्रास न्यूनिकरण हुँदै जाने छ । पछिल्लो २४ घण्टामा यति उति संक्रमित पुष्टि भयो भन्नु भन्दा पहिले पछिल्लो २४ घण्टामा यतिजना कोरोना संक्रमित निको भएर आइसोेलेशनबाट डिस्चार्ज भए भनेर समाचार संप्रेषण गर्दा के जान्छ र ? यसतर्फ पनि ध्यान दिने कि ?
हो सुझब दिन सजिलो छ तर गर्न गाह्रो छ । र फेरि पनि हामीले भूल्न हुँदैन कि कोभिडसँगको वास्तविक लडाई भर्खर मात्र सुरु भएको छ । हिजो लडाइ सुरु नहुँदै हामीले प्रतिरोधका लागि अनेक हत्कण्डा अपनायौं । झण्डै ३ महिने लकडाउन, त्यसबीच गाउँगाउँ छिर्ने नाकामा हामीले नै पहरा दिएर कसैलाई छिर्न दिएनौ । बाटोमा पर्खाल लगाएनौ कि चिलाउनेको लाथ्रोले छेकेनौ कि ? गाउँमा कोही कतैबाट आउँदा क्वारेन्टाइन बस्न ÷ बसाउन दबाव दिएनौ कि ? के गरेनौ ? बीचमा लकडाउन लुजडाउन भयो, संपूर्णरुपमा लकडाउन हटाउने कार्य भयो र आज डडेलो भएर सल्कँदै छ संक्रमण ।
वनमा आगालागि भइसकेपछि अग्नि रेखा बनाउनुको कुनै तुक छैन । यतिखेर सिन्धुपाल्चोकको मानव जङ्गलमा, केही बुट्यानहरुमा मात्र संक्रमणको आगो सल्किन खोज्दैछ । जसलाई निभाउन कुनै आईतबार चाहिँदैन । हो त्यो आगोलाई निभाउँदै बढ्दो संक्रमण नियन्त्रणका लागि नाका कडाई गर्दै अग्नि रेखा कोर्न सकियो भने बनभित्र रहेका मानवरुपी चराहरु बाँच्ने मात्र छैनन् दैनिक जीवनयापनमा सहजताका उडान भदै खुशीका गीतहरु गाउने छन् । यसतर्फ ध्यान दिन जरुरत छ ।
प्रतिक्रिया दिनुहोस