२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

मेलम्ची खानेपानी आयोजनाः दोस्रो चरणको निर्माणका लागि तयारी

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ १, २०७७
    चौताराः मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ ।

    दोस्रो चरणको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिने भएको छ । सो अध्ययनका लागि सम्बन्धित पालिकाहरुले सहमति दिने बताइसकेका छन् ।

    मेलम्चीको दोस्रो चरण याङग्री र लार्केमा परामर्शदाताले यस अघि नै अध्ययन सकेर मेलम्ची खानेपानी विकास समितिलाई प्रतिवेदन बुझाइसकेको छ । त्यसपछि आयोजना निर्माणस्थलको वातारणीय प्रभावसम्बन्धी अध्ययन गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

    दोस्रो चरणको डिजाइन गर्ने परामर्शदाताले सन् २०१८ मा नै आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । यसमा विज्ञसँग एक पटक छलफल भइएको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो । यहाँका पालिकाले सहमति दिएपछि त्यो वातावरण प्रभाव मूल्याङ्कन वातावरण मन्त्रालय पठाइने उनको भनाइ छ ।

    डिजाइन दुई वर्ष पहिले सकिएको भए पनि त्यतिबेला स्थानीयवासीले कतिपय माग पहिले पूरा हुनुपर्ने बताएका थिए । अहिले ती मागमध्ये कतिपय आयोजना कार्यालय र कतिपय सम्बन्धित कार्यालयबाट कार्यान्वयन गर्ने सहमति भएको छ ।

    सडक निर्माण विभागले गर्ने र अरु कतिपय पूर्वाधार सम्बन्धित कार्यालयले तथा कतिपय समितिले नै गरिरहेको छ । त्योअनुसार त्यहाँका पालिका सकारात्मक रहेकाले सहमति पत्र दिने उनको भनाइ छ ।

    दोस्रो चरणको निर्माणका लागि अहिलेसम्म डिजाइन फाइनल भएको र त्यसको लागत पनि यकिन भइसकेको उहाँले बताउनुभयो । सो आयोजनाको लागत झण्डै रु पाँच अर्ब लाग्ने उल्लेख छ । मेलम्चीको पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणमा पनि सहयोग गर्ने एशियाली विकास बैङ्कले प्रतिबद्धता जनाएको थियो ।

    मेलम्चीबाट ५१ करोड लिटर पानी ल्याउने भन्ने पहिले भएको सहमतिमा उल्लेख छ । बैङ्कले पहिलो चरणमा गरेको प्रतिबद्धताअनुसार सहयोग गर्छ भन्ने समितिको विश्वास छ ।

    पहिलो चरणको पानी काठमाडौँ आएपछि ऋण अनुदान गर्ने भनी सहमति भएको थियो । समितिले सुरुङमा भेटिएका त्रुटि सच्चाएर मेलम्ची खोलाको पानी ल्याउने तयारी गरेको छ । उनले भने, “अबका केही महिनामा नै त्रुटि सच्चाइएपछि सुरुङमा पानी पुनः पठाइनेछ ।”

    पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याइएपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७(१७ करोड लिटर पानी राजधानी ल्याउने समितिको लक्ष्य छ । मेलम्ची खोलाको मुहानस्थल अम्बाथानबाट याङग्री झण्डै आठ र लार्के दुई किमी दूरीमा रहेको छ ।

    समितिले सुन्दरीजलमा प्रशोधन केन्द्र निर्माण गर्नेसम्मको काम गर्नेछ भने सुन्दरीजलबाट उपत्यकामा पानी वितरणको काम भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्ने जनाइएको छ ।

    आयोजना यसअघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ ।

    गत वर्ष असोजमा यो कम्पनीसँग सहमति भएको थियो । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँले काम गर्दै आएका छन् । (राससं)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस