२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सभामुखसँग गृहमन्त्रीले भनेः पहिरो पीडितलाई राहत र पुनर्स्थापना तत्काल हुन्छ

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ४ साल अघि
  • भदौ १, २०७७
    चौताराः सभामुख अग्निप्रसाद सापकोटा र माननीय गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ ।

    आइतबार सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार विस्थापित भएकोले उनीहरुलाई पुनस्र्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराए।

    त्यस अवसरमा उनले ०७१ साउन १७ गते गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भइरहेको ढिलाइबारे चासो समेत राखेका थिए ।
    राख्नुभएको थियो ।

    गृहमन्त्री थापाले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र बिस्थापितको पुनर्स्थापनाका लागि छिटोभन्दा छिटो काम थालिने जानकारी दिए।

    जुरेकोे रकम वितरणमा पहल

    साथै, गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरणसम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    यही साउन ३० गते सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदिमा गएको पहिरोमा परेका ३८ जनामध्ये आइतबार साँझसम्म १९ जनाको शव फेला परेको छ ।

    त्यसअघि गत असार २४ गते राति गएको पहिरोमा परी बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको बुल्कुटे, असार ३१ गते बिहान खसेको पहिरोले भोटेकोशी गाउँपालिकाको फुल्पिङमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । यस्तै, मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिका समेत पहिरोले मानविय क्षति भएको थियो।

    भूगर्भविद्सहितको टोली जाने

    सभामुख सापकोटाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जोखिममा रहेका सिन्धुपाल्चोकका लिदि, नाम्फा लगायतका बस्ती स्थानान्तरणको काम थाल्नेबारे छलफल गरेका छन्।

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थलगत अध्ययनका लागि भूगर्भविद्सहितको टोली पठाई विस्थापितको पुनर्स्थापना एवं बस्ती स्थानान्तरण सम्बन्धमा प्रतिवेदन तयार गर्ने योजना बनाइसकिएको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जानकारी गराए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस