साउन २८, २०७७
चौताराः पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।
नेपालमा कोरोनाको कारणले ज्यान गुमाउनेको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। आज थप ८ जनाको मृत्युपछि योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको उनले बताए।
मन्त्रालयका अनुसार ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।
यसैगरी धादिङको निलकण्ठ नगरपालिका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ भने उनी क्षयरोगी थिए ।
यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । धनुषाकै ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ७२ वर्षीय पुरुष र मोरङको बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै कपिलवस्तु नगरपालिकाका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस