साउन १७, २०७७
चौताराः क्यान्सर पीडित पूर्व लडाकू नैनबहादुर तामाङको बारेमा अनर्गल प्रचार गरिएको नेकपा केन्द्रीय सदस्य सुबोध सापकोटा ‘माधव’ले गुनासो गरेका छन् । एक राष्ट्रिय दैनिकमा ‘बेकार युद्ध लडिए छ’ भन्ने शिर्षकको समाचार देखेपछि आफू छक्क परेको सापकोटाले बताए ।
सिन्धुपाल्चोक सुनकोसीका क्यान्सर पीडित पूर्व लडाकू तामाङलाई नेकपा अध्यक्ष प्रचण्डले केही दिनअघि भेट्ने इच्छा गरेका थिए । त्यसपछि दुई दिनअघि मात्रै सापकोटालगायतका नेकपा सिन्धुपाल्चोकका नेताहरूले पीडित तामाङलाई प्रचण्ड निवास खुमलटार लिएर गएका थिए ।
अध्यक्ष प्रचण्ड क्यान्सर पीडित तामाङलाई देखेर भावुक भएका थिए । सो क्रममा प्रचण्डले तामाङलाई आर्थिक सहयोग गरेका थिए । कुराकानीपछि क्यान्सर पीडित पूर्व लडाकु तामाङ हर्षित मुद्रामा नेकपा नेतासँगै खुमलटारबाट फर्किएका थिए ।
तर, प्रचण्डलाई भेटेको दुई दिनपछि क्यान्सर पीडित पूर्व लडाकु तामाङको बारेमा राष्ट्रिय दैनिकमा त्यस्तो समाचार प्रकाशन भएपछि आफू आश्चर्यमा परेको सापकोटाले बताए ।
नेकपा केन्द्रीय सदस्यसमेत रहेका सापकोटाले भने, ‘क्यान्सर पीडित पूर्व लडाकु तामाङको समाचार प्रकाशितपछि तामाङसँग कुरा गर्दा उहाँले त्यस्तो बोलेको छैन भन्नुभयो ।’
सापकोटाले थपे, ‘समाज र व्यवस्था परिवर्तनका निमित्त प्रचण्ड मर्न हिँडे । आखिर विश्वमा ठूला ठूला परिवर्तन सजिलै आएका छन् रु आखिर किन गरिन्छ प्रचण्डमाथि प्रहार रु हुँदै नभएको कुरालाई हाईलाईट किन गरियो? यो समाचार कुन उद्देश्यका साथ आएको हो बुझ्न गाह्रो भएको छ ।’
समाजले गलत कुरालाई कसरी प्रश्रय दिँदो रहेछ भनेर आफू छक्क परेको उनले बताए । उनले प्रश्न गर्दै भने, ‘यसको जवाफ कसले दिन्छ ?’ उनले यस विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।
यता, यो समाचारले प्रचण्ड सचिवालयले पनि आश्चर्यमा परेको जनाएको छ । यसैबीच क्यान्सर पीडित पूर्व लडाकु तामाङकी श्रीमती तिर्थमायाले समेत एक विज्ञप्ती जारी गर्दै नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मनत्री युवराज दुलाल, सिन्धुपाल्चोक जिल्ला पार्टी, युवासंघ विद्यार्थी र पूर्व जनमुक्ति सेनालगातयले सहयोग गरिरहेको बताएकी छन् ।
साथै उनले हालसम्मको सहयोगका लागि प्रचण्डलगायतलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेकी छन् । (खबरडबलीबाट)
प्रतिक्रिया दिनुहोस