२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

कोरोनाबाट एकैदिन चारको मृत्यु, जोखिमसँगै संक्रमित बढ्दै

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • साउन १६, २०७७
    चौताराः नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

    मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको स्थास्थ्य मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो।

    यस्तै, वीरगञ्ज महानगरपालिका—१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए। १३ गते अस्पताल भर्ना उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो।

    यस्तै, वीरगञ्ज—२ का ६५ वर्षीय अर्का पुरुषको पनि साउन १५ कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा। गौतमले बताए। उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

    वीरगञ्ज ११ स्थायी घर भई ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो। मधुमेहका बिरामी ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन्।

    ज्वरो, खोकी र श्‍वासप्रश्‍वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन्। साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

    नेपालमा पछिल्लो समय लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम पनि बढ्दै गएको छ। लकडाउन खुकुलो भएर जोखिम बढेसँगै सरकारलेक कोरोना परिक्षणलाई घटाएको छ।

    संक्रमित बढ्दै
    नेपालमा शुक्रबार २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ३१६ छ।

    पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै, शुक्रबार १ सय ५१ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस