२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

छानबिन समितिको ठहरः मेलम्चीको सुरुङ निर्माणमै ‘गम्भीर त्रुटि’

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • साउन १५, २०७७
    चौताराः मेलम्चीमा गम्भीर प्राविधिक त्रुटिका कारण दुर्घटना भएको खानेपानी मन्त्रालयद्वारा गठित छानबिन समितिका ठहर छ । पर्याप्त प्राविधिक आधार तयार नगरी लापरबाही ढंगले डिजाइन र जडान गरेकाले मेलम्ची सुरुङको ढोका खुलेर दुर्घटना भएकोले पुनरावलोकन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिले मन्त्रालयका सचिव माधव बेल्बासेलाई बुझाएको छ ।

    सुरुङमा पानी पठाउन परीक्षण भइरहँदा गत असार ३० मा सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहाननजिकैको फ्लसिङ अडिटको ढोका खुलेर चार कर्मचारीलाई गाडीसहित बगाएको थियो । घटनामा परेका तीन इन्जिनियरमध्ये एकको मृत्यु भएको छ भने घाइते अवस्थामा उद्धार गरिएका दुई उपचाररत छन् ।

    एक जना कर्मचारी अझै फेला परेका छैनन् । उक्त घटना छानबिन गर्न मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन गरेको थियो ।

    प्रतिवेदनअनुसार सुरुमा सुरुङभित्र खुल्नेगरी बनाइएको ढोकाको डिजाइन परिवर्तन गरेको र बाहिरबाट खुल्ने बनाउँदा निर्माण कम्पनी, परामर्शदाता र आयोजनाबीच पर्याप्त छलफल नहुनुका साथै प्राविधिक जाँच नै नभएकाले ढोकाका नटबोल्टहरू खुस्किएर दुर्घटना भएको हो ।

    ढोका पहिले भित्रबाट खुल्ने बनाएको डिजाइन परिवर्तन गरेपछि त्यसको जडानमा किन ख्याल गरिएन भन्ने प्रश्न उठेको छ ।

    ढोकाको निर्माण, डिजाइन, र जडान भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले गरेको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले प्रतिवेदनमा समेटिएको बुँदाबारे बताउँदै डिजाइनमै त्रुटि देखिएको जानकारी दिए ।

    उनका अनुसार प्रतिवेदनमा अहिले भत्केको बाहेक हेलम्बुदेखि सुन्दरीजलसम्म २७ किमि सुरुङको ग्याल्थुम, सिन्धु र सुनदरीजलमा बनाइएका ढोकाहरूको डिजाइन पुनरावलोकन गर्नुपर्ने पनि उल्लेख छ ।

    डिजाइन परिवर्तन गर्दा प्राविधिक लापरबाही भएको र अन्य ढोकाहरूको पनि पुनरावलोकन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख हुनुले निर्माणका क्रममा भएका त्रुटिको जिम्मेवारी अब कसले लिने भन्ने प्रश्न उठेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस