२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सडक अबरुद्ध हुदा तातोपानी नाकाबाट बन्द, खुल्ने अनिश्चित

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन १०, २०७७
    चौताराः अविरल वर्षापछि आएको बाढी पहिराले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ ।

    सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुनसकेको छैन । चीनमा कोरोनाको सङ्क्रमण बढेपछि विसं २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नाका भित्रिसकेका करोडौँ मूल्यका सामग्री तातोपानीमै रोकिएका छन् । तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताए ।

    भन्सार तथ्याङ्कअनुसार नाका चलेको नौ महिनामा तातोपानी भएर रु साढे नौ अर्ब मूल्यको सामग्री आयात भएको थियो । झण्डै रु छ करोडको सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिए। रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान छन् ।

    केही दिनअघि आएको बाढीपहिराले सडक कटानपछि एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनसमेत सञ्चालन हुन नसकेपछि बाह्रबिसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरे पनि त्यहाँभन्दा माथि भने समस्या देखिएको छ ।

    सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । सडक कार्यालयले बिग्रिएको सडक सुधार गर्न प्रभावकारी काम नगरेपछि तातोपानी नाकामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीले नै स्काभेटर प्रयोग गरिरहेका छन् ।

    त्यस्तै बाह्रबिसे नपाले पनि एउटा स्काभेटर प्रयोग गरेर सडक सुधार गर्न खोजे पनि सडक कार्यालय चरिकोटले सहयोग नगरेको प्रमुख शेर्पाले गुनासो गरे ।

    बाढीपहिराले क्षति बनाएको सडक तत्काल सुधार गर्नका लागि एक साताअघि सभामुख अग्नि सापकोटाले सडक विभागका अधिकारीलाई निर्देशन दिए पनि त्यो निर्देशनानुसार कामै नभएको शेर्पाले दुःखेसो गरे ।

    दुई तीन दिनमै बाह्रबिसेबाट जम्बुसम्मको बाटो छिचोलिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतोले बताए । उनका अनुसार बाह्रबिसेबाट जम्बुसम्म चार किलोमिटर दूरी पर्दछ । सडक डिभिजनको स्काभेटर बिग्रेका कारण काममा केही ढिला भएको डिभिजन प्रमुख महतोले बताए । अब निरन्तर बाटो खन्न खटिने उनले जानकारी दिए।

    भोटेकोशी नदीले कटान गरेको खुर्सानीबारी नजिकैको सडक सुधार गरेर सवारी साधन सञ्चालन भइसकेका छन् । खागदलमा पनि सडक मर्मत गरेर अहिले राजमार्गको सबैभन्दा बढी जोखिम रहेको सिरिसेमा सडक कार्यालय, बाह्रविसे नगरपालिका र व्यापारीसहित तीन स्काभेटर लगाएर सडक मर्मत शुरु गरिएको छ । तर सडक कार्यालयको स्काभेटर बिग्रिएपछि दुई स्काभेटरले मात्रै काम गर्दा ढिलाइ भएको प्रमुख शेर्पाले बताए । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस