साउन ९, २०७७
एउटा सानो बहानामा कानुनमन्त्रीबाट राजीनामा गर्न बाध्य बनाइएका शेरबहादुर तामाङ अहिले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने र त्यसका उत्पादनबाट राज्यले लाभ लिनुपर्ने कुराको वकालत गरिरहेका छन् । कानुन विषय अध्ययन गरेका र वकालतको प्रमाणपत्र पनि लिएका शेरबहादुरको यो वकालतले भने अहिलेसम्म प्रभावकारी परिणाम दिन सकेको छ उनै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङसँग गरिएको कुराकानीः
तपाईंं गाँजा वैधानिकताको पक्षमा हुनुहुन्छ, यहाँकी पत्नी भने घरेलु मदिराको वैधानिकताका पक्षमा । के यो संयोग हो?
तपाईंं गाँजा भन्नुस् या घरेलु मदिरा, ती हाम्रा आन्तरिक उत्पादन हुन् । जति पनि आन्तरिक उत्पादन छन्, हाम्रै श्रममा आधारित । धेरै अघिदेखि नेपालमै उत्पादित वस्तुलाई प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय उत्पादन भित्रायाउने र त्यसलाई राष्ट्रिय पँुजी मानेर अघि बढ्ने, फेरि दलाल, नोकरशाही पँुजीपतिको विरोध पनि गर्ने काम हँुदै आयो । व्यवहारमा स्वाधिन अर्थतन्त्रको विकासतिर हामी कहिल्यै लागेनौं ।
अहिले नेकपामा देखिएको विवादबारे के भन्नुहुन्छ?
विगतमा पनि कम्युनिष्ट पार्टीभित्र नेतृत्वको टकराव पर्ने र यसलाई सैद्धान्तिक लेपन लगाउने प्रवृत्ति देखिएको हो । यसलाई नेतृत्व तहबाटै मिलाउन सके राम्रो हुन्थ्यो । कार्यकर्ताचाहिँ पक्ष वा विपक्षमा सडकमा निस्कने गरी यो विवाद तन्काउनु हुँदैन । विवादले पार्टीलाई मात्र होइन, कालान्तरलाई मुलुकलाई नै नोक्सानी पु¥याउँछ ।
मन्त्रीबाट कस्तो हालतमा तपाईंंहरूको बर्खास्ती भएको थियो? कसरी सम्झनुहुन्छ ती दिन?
बर्खास्तीको रूपमा म लिँदै लिन्न । आफैंले राजीनामा दिएर हिँडेको हो । परिवर्तनका लागि काम गर्दागर्दै झिनामसिना कुरामा विवादित हुनुपर्ने, सामान्य भनाइका क्रममा पनि आलोचित हुनुपर्ने । त्यही भएर राजीनामा दिएको हो ।
त्यतिखेर तपाईंंलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी ओलीले हुर्मत लिएको पनि सुनिन्थ्यो । वास्तविकता के हो?
सल्लाह त भइहाल्छ । आफ्नो पार्टीको प्रधानमन्त्री, पार्टी अध्यक्ष, टिमभित्रको कार्यकारी प्रमुखसँग ।
त्यतिबेलाको क्याबिनेटमा गोकुल र तपाईंं मात्रै प्रधानमन्त्रीका रक्षक हुनुहुन्थ्यो । अहिले प्रधानमन्त्रीनिकट मानिएका ईश्वर पोखरेल, प्रदीप ज्ञवालीहरू चुपचाप रहनुहुन्थ्यो । यो कुरा कत्तिको सत्य हो?
प्रधानमन्त्रीले गर्न खोज्नुभएको कैयौं चिजमा मन्त्रिमण्डलका सदस्यहरूले त्यसको डिफेन्ड गरेको त्यो बेला मात्र होइन, अहिले पनि पाइँदैन । प्रधानमन्त्री मुलुकको कार्यकारी । उहाँलाई मुलुक बनाऔं भन्ने सोच त हुन्छ नै १ त्यही सोचअनुरूप बोलिरहनुभएको हुन्छ ।
आफैं डिफेन्स गर्नुपर्ने, आफैं बाहिर आउनुपर्ने, आफैं मिडियामा पटक पटक बोल्नुपर्ने बाध्यता अहिले पनि छ । प्रधानमन्त्रीको सोचअनुसार मन्त्रीहरूले काम गरेको अहिले पनि देखिँदैन । त्यही कारण प्रधानमन्त्रीले बोलेको केही शब्दावली तल–माथि पर्दा बेला बेलामा उहाँ आलोचित भइरहनुभएको छ ।
सिन्धुपाल्चोकको बाढी–पहिरोमा सरकारी उदासिनता देखियो । बरु यो विपद्को घडीमा पनि सरकारले अयोध्यालाई प्राथमिकता दिएको पाइयो । यस्तो देख्दा तपाईंंलाई कस्तो लाग्छ ?
सरकार भनेको केन्द्रका मन्त्रिमण्डल, प्रधानमन्त्री मात्र होइन । मुलुकमा ३ तहको सरकार छ । सबैले आ–आफ्नो ड्युटी निर्वाह गरेकै छन् । केन्द्र सरकारले प्रदेश, स्थानीय तहलाई बजेट पठाउँछ । तिनै बजेटको व्यवस्थापन गरी बाढी पहिरोलगायत व्यवस्थापन गर्ने हो । प्रदेश सरकारले अहिले बाढी–पहिरो पीडितलाई प्रतिपरिवार १ लाखको दरले दिने, मृतकहरूका लागि घर बनाइदिने, स्थानीय तहका १२ वटै पालिकाले विपद् व्यवस्थापन कोषमार्फत सहयोग पनि गरिरहेको छ । क्षति न्यूनीकरण गर्ने, पुनर्वासको कुरा अघि बढिरहेको छ । यी विषयलाई केपी ओलीले नै हेर्नुभयो वा हेर्नुभएन भन्ने कोणबाट मात्र हेर्नुहुन्न ।
तपाईंंको पालामा न्यायाधीश नियुक्तिमा कस्तोसम्म तनाव र भागबण्डा भयो?
न्यायाधीश नियुक्तिमा सिनियरिटी,काम गर्ने क्षमता,प्रक्रिया अवलम्बन गर्ने हो भने कुनै विवाद आउँदैन । तर यी कुरालाई नाघेर नियुक्ति गरिँदा विवाद आउने हो । आर्थिक चलखेल पनि हुन्छ कि भन्ने सुनिन्छ । जतिखेर म काममा सक्रिय थिएँ । मापदण्डअनुसारै काम गर्दा कुनै प्रकारको विवाद भएन् । कसैले प्रश्न उठाउने अवस्था पनि भएन । पछिल्ला नियुक्ति पनि त्यही ढंगबाट गरिँदा विवादै हुँदैन । विगतमा के भयो भन्नुभन्दा स्थापित मापदण्ड बनाएर नियुक्ति गर्ने हो भने कसैले कसैलाई प्रश्न उठाउने अवस्था नै रहँदैन ।
आज न्यायालय यस्तो अप्ठ्यारो बेला सरकारलाई ब्याज, कर नतिर भन्छ, बूढानीलकण्ठमा मातेर श्रमिककी पत्नी,लालाबालाकी आमा किचेर मार्ने९जिल्ला,उच्चमा सावितलाई कोरोनाको बहानामा सफाइ दिन्छ, सुन्दा कस्तो लाग्दै छ?
जनता अन्यत्र कतैबाट न्याय नपाएपछि न्यायालय पुग्ने हो । कहीँबाट न्याय नपाएपछि त्यसको अन्तिम सुनुवाइ गर्ने थलो हो न्यायालय । न्यायालयमाथि नै विश्वास उड्यो भने सबै उडिहाल्यो । न्यायालयमाथिको विश्वास उड्नु हुँदैन । न्यायालयले फैसला त्रुटिपूर्ण ढंगले गर्नुहुँदैन । स्थापित मान्यतालाई जोगाउनै पर्छ । कोही पनि पीडक नछुटोस्, कोही पनि पीडित माथि अन्याय नहोस् भन्ने मान्यता राखिन्छ । न्यायाधीशले गर्ने त्रुटिपूर्ण फैसलाले त्यसको लेखाजोखा त हुन्छ ।
अब फेरि न्यायाधीश नियुक्तिको खेल शुरु भएको छ, भनसुनको लागि कत्तिको आउँछन्?
कतिपय मान्छे योग्यता, क्षमता पुग्दा, मापदण्डभित्र पर्ने हुँदाहुँदै पनि जिम्मेवारी नपाइरहेको अवस्थामा यस्तो कुरामा तपाईंंहरूले खबरदारी गरिदिनुपर्छ है भन्न आउँछन् । यद्यपि, निश्चित स्थापित मापदण्डभित्र रहेर न्यायाधीश नियुक्ति गर्ने हो भने कसै न कसैको जानुपर्ने भनसुन गर्नुपर्ने स्थिति रहँदैन ।
न्यायालयमा तपाईंंले बसाल्न खोज्नुभएको विधिको परिपाटीमा तपाईंंपछिका मन्त्रीहरू कत्तिको सफल रहे?
विधिसम्मत ढंगले चलाउने कुरामा केही तल–माथि नगरी अघि बढ्यो भने द्वन्द्व हुँदैन । न्यायालयलाई अझै बढी पारदर्शी, जनमुखी बनाउने, पीडित शोषित, जनताको पक्षमा बनाउने विषयमा अलि गहन ढंगले काम गर्नुपर्नेमा अलि उदासीन भएको हो कि भन्नेचाहिँ लाग्छ ।
तपाईं पार्टीभित्र कहिल्यै स्थिर हुनु भएन । कहिले वामदेव, कहिले माधव, कहिले केपीको गुटमा हुनुभो । यसरी गुट बदलिरहँदा के असर हुँदो रहेछ?
जहाँ छु त्यहीँ उभिएको छु कहिलेकाहीँ नेताहरूले फलानो खेमा भनिदिन्छन् । नेताहरू को, कता उभिन्छन् ठेगान छैन । नेताहरू उभिएको कारण कुनै कार्यकर्तालाई व्याख्या गरिदिनु छुट्टै कुरा हो । कहिलेकाहीँ दृष्टिकोण मिल्न सक्छ । दृष्टिकोण मिलेका कारण एउटा खेमाको, दृष्टिकोण बाझिएको कारण अर्को खेमाको भनेर लेपन लगाउनु ठीक होइन । पार्टीभित्र खेमाबन्दी गर्ने कारणले नै आज यो विग्रहको स्थिति आइरहेको छ । किन खेमाबन्दी गर्नुप¥यो? यति विशाल पार्टीमा मेरै भनेर बनाउनुपर्ने के जरुरी छ? अहिले पनि प्रधानमन्त्रीको पक्षमा केही केही साथी सडकमा निस्किएर नारा लगाइरहेको देख्छु । उहाँ सडकमा निस्कने साथीहरूका मात्र प्रधानमन्त्री त होइन । समग्र देश र जनताको प्रधानमन्त्री । हामी कुनै पनि कार्यकर्ता पार्टीको अंश होइन । व्यक्ति मात्र केन्द्रित भएर सोच्ने हो भने खेमाबन्दी हुन्छ । मुलुकका लागि भनेर सोच्नेबित्तिकै किन खेमाबन्दी गरिरहनुप¥यो र?
तपाईं चीनसँग सीमा जोडिएको जिल्लाको माननीय, कति लाभान्वित हुनुभा’छ?
पछिल्लो समय सीमा जोडिएका जिल्लामा चीन पक्षबाट नेपाल सरकारमार्फत सहयोग आइरहेको छ । दक्षिण भारतको पनि थियो हिजोका दिनमा त्योचाहिँ व्यक्तिमार्फत थियो । सीमना जोडिएका १४ जिल्लामध्ये सिन्धुपाल्चोकमा पनि पालिकाहरूमा केही सहयोग आइरहेको देखिन्छ । तातोपानी नाकामार्फत निकै ठूलो व्यापार हुन्थ्यो तर जुरेको पहिरो,भूकम्पपछि नाका राम्रो चलिरहेको छैन । कन्टेनर ओहोर दोहोर भइरहेको छ तर आमजनताले व्यावसायिक काम गर्ने स्थिति छैन । हिजो लाखौँ मान्छे त्यहाँ आश्रित थिए अहिले टुटेको छ । कोरोना पछाडि त्यो नाका खुल्छ । सम्बन्ध राम्रो हुँदा बोर्डर जिल्लामा केही न केही सपोर्ट त आउँछ नै १
राणाहरूले हेलम्बूबाट तरुनी ओसार्थे, त्यो तपाईंंको निर्वाचन क्षेत्र, त्यहाँको अवस्था अहिले के छ?
हिजो के थियो । यस्ता चीजमा नगई वर्तमानमा के गर्छांै त्यो मुख्य कुरा हो । कलंकित इतिहास हुनसक्छ । त्यस्ता चिज कम गर्ने र हुन नदिने हो । वर्तमानलाई राम्रो बनाउँदै भविष्यको अझ सुन्दर परिकल्पना गर्ने हो । यसरी हेर्दा सिन्धुपाल्चोक, हेलम्बु, पाँचपोखरी, जुगललगायत स्थान छन् । पर्यटकीय प्रचुर सम्भावना छ । यी ठाउँलाई भविष्यमा सुन्दर राख्ने,त्यहाँको पानी काठमाडौंको जनतालाई खुवाउने ढंगले अघि बढ्नुपर्ने छ । पछिल्लो समय सिन्धुपाल्चोक विकासमा पनि तंगँदै गएको छ । हिजो बोकेका कतिपय कलंक मेटिँदै गएको छ ।
तपाईंंको निर्वाचन क्षेत्र मेलम्चीको खेलोमेलो के हो?
राष्ट्रिय गौरवको आयोजना शुरु भएको २०।२२ वर्ष भयो । यो नकारात्मक विम्बको रूपमा स्थापित हुने स्थिति बन्दै गएको थियो । अहिले धेरै मिहिनेतसाथ सम्पन्न गर्ने दिशातिर गएको छ । पानी छिटो ल्याउने कुरामा लागिरहेका छौं । अस्ति एउटा दुर्घटना भयो । टेस्टिङ गर्दा हामीलाई थाहै नदिई हतार हतार भयो भन्ने गुनासो छ । प्राविधिक हिसाबले राम्रोसँग चेक जाँच नभई परीक्षण हुँदा फुट्न गयो र दुर्घटना भयो । मन्त्रालयले कार्यदल बनाएर जाँचबुझ गर्दै छ । काठमाडौंभित्रै पनि मेलम्चीको पानी आइसकेपछि घर–घरमा पु¥याउन पाइपिङको काम २० देखि ३० प्रतिशत हाराहारी सम्पन्न भएको छ । मेलम्चीको पानी काठमाडौं भित्रिएको लामो समय बाग्मतीमा पानी छाड्नुपर्ने स्थिति छ ।
अस्ति मेलम्चीमा यो दुर्घटना हुनुको पछाडि बलि निषेधित क्षेत्रमा बलि चढाइएको कारणले हो भन्ने पनि सुनियो । त्यस्तै हो?
किन बलि दिइयो? यो प्रश्नको जवाफ मलाई चाहिन्छ । कालो बोका बलि दिनुको अर्थ के हो? त्यो क्षेत्र धार्मिक हिसाबले तपोभूमिको रूपमा स्थापित छ । गुरु रिम्पोछेहरूको तपस्यास्थल हो । काटमार निषेधित क्षेत्र हो । त्यहाँ कालोबोका बलि दिइयो । के होस् भनेर दिएको हो? कतिपय साथीले भने कम्युनिष्ट भौतिकवादी भएर अन्धविश्वासको कुरा गर्ने? कलोबोका नै किन काटेको? पेटारे वा अरू रंगको काट्न सकिन्थ्यो । त्यसको जवाफ चाहिन्छ । तपाईं जतिसुकै भौतिकवादी भने पनि पशुपति, स्वयम्भूमा पुगेपछि शिर निहुरिन्छ । जतिसुकै नास्तिक भनिए पनि मन्दिरमा गएर पिसाब फेर्दैन, यो सत्य हो । आस्था जीवित छ र आस्थामाथि चोट लाग्यो भने कहीँ न कहीँ दुर्घटना हुन्छ । आस्थामाथि प्रहार गर्नु हुँदैन ।
बौध्द गुम्बाको राजनीतिमा नेकपा नै कसरी विभाजित भयो?
कतिपय संस्कार, संस्कृति र संरचना निर्माणको कुरा छ । आस्था र मान्यताहरू लाद्ने विषयमा कहिलेकाहीँ दृष्टिकोण बाझिन्छन् । तर ती दृष्टिकोणबाट माझिएर छलफल गरे निचोड निस्किहाल्छ । हरेक चिजमा बहस हुन्छ । बहसबाट निर्णय लागू हुन्छ । (जनआस्थाबाट)
प्रतिक्रिया दिनुहोस