साउन ८, २०७७
अमित घिमिरे
आफ्नै मृत्यु कस्तो हुन्छ होला
जान्न चाहें
बाँचेरै त धेरै मरेको म
मरेर मर्दा कस्तो हुन्छ होला
भोग्न चाहें
र
मैले आफूलाई वध गरें
उही बगर
जहाँ म हर पत्थरमा देऊता खोज्थ्ये
आज सबै ढुंगा मात्र भएका थिए
मैले बनाउने बगर चित्रहरु उपर
निस्प्राण, कात्रोमा म ढलेको थिएँ
म एक्लो
म मुर्दा– म मलामी
चिताअग्नीले मलाई पोलेन
मरे पछि आगोले पोल्दो हरेनछ
अखवारका श्रद्धान्जली
र फेसबुकका रीपले
शितल पनि हुँदो रहेनछ
मरेपछि दुख्दैन
मरेपछि पोल्दैन भन्थ्ये
तर मरेपछि आगोले हैन
आँसुले पोल्दो रहेछ
रुने मनहरुले दुख्दो रहेछ
अनि मलाई विस्मात् भयो
मुक्त कहिल्यै नहुने रहेछ जीवन
दुखाइ र आँसुहरु
न जिउँदोमा, न मरेर
जिउँदामा पोल्ने आँसुहरु पुस्ने हात थिए मेरा
म छु नि भन्ने बचन थिए
मरेर पोल्ने आँसुमा हात भएनन्
नरोऊ भन्ने बोली थिएन
क्रमशः म जलें
म खरानी भएँ
निराकार आकाशमा धूवाँ हुँदै विलाएँ
र पनि म मरिँन
त्यही होला आत्म भनेको–नमर्ने
बल्ल थाहा भो
दुख्ने मन–मुटु क्यै हैन रहेछ
आत्म रहेछ
र त मरेर पनि म दुख्न छाडिँन ।
प्रतिक्रिया दिनुहोस