२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

थकनी पहिरोको उच्च जोखिममा

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन ४, २०७७
    मेलम्चीः मेलम्ची नगरपालिका– ४ थकनीमा अविरल वर्षाका कारण पहिरो जाँदा अमलेका माधवराज खनालको घर पुरिएको छ । अमले बस्तीका मात्रै केदारनाथ खनाल, चिरञ्जीवी खनाल, दीपेश खनाललगायतका १२ घरमा पहिराले पूर्ण रूपमा क्षति पुर्‍याएको र बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा छ ।

    पहिरो पीडित दीपेश खनालका अनुसार मानवीय क्षति नभए पनि घरमा भएका सबै सरसामान तथा लत्ताकपडा सबै नोक्सान भएको छ । त्यस क्षेत्रका खनालबस्ती, डाँडा कठेरीलगायत बस्ती उच्च जोखिममा परेको स्थानीय जनप्रतिनिधि कृष्णबहादुर तामाङले बताए ।

    स्थानीय जनप्रतिनिधिको सक्रियतामा सिन्धु सुरुङमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले पहिरो पीडितको उद्धार गरेको र उनीहरुको वैकल्पिक बासस्थानका लागि छलफल भइरहेको नेपाली कांग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिए ।

    अमले, डाँडा कठेरीलगायत मेलम्ची–४ का विभिन्न स्थानमा पहिराका कारण ५०–६० घर जोखिममा परेका छन् । तिनलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको जनप्रतिनिधि तामाङले बताए ।

    उनका अनुसार डाँडा कठेरीका विस्थापितलाई तत्कालका लागि विद्यालयमा बसोबासको प्रबन्ध मिलाइएको छ । स्थायी स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गरिएको पनि तामाङले जानकारी दिए ।

    यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले विस्थापितलाई तत्काल नगरपालिकासँगको सहकार्यमा त्रिपाल र पाल उपलब्ध गराउने प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए । रासस

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस