असार १६, २०७७
चौताराः इन्द्रावती गाउँपालिकाले सलह किरा आएमा समस्या समाधानका लागि सतर्क रहन किसानहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै तराईका बारा र पर्सामा देखिएका सलहहरु बिस्तारै अन्य ठाउँमा पनि देखिन थालेकाले सतर्कता अपनाउन र त्यसको निराकरणका विभिन्न उपाय अपनाउन आग्रह गरेको हो ।
छिमेकी भारतमा मात्रै यो किराले बालीनाली सखाप बनाएकाले सिन्धुपाल्चोकमा आउने सम्भावनालाई ध्यान दिँँदै इन्द्रावतीले किसानहरुले खेतबारीमा सलह बस्न नदिन पाकेको वा टिप्न मिल्ने बालीहरुलाई भित्र्याउने र तत्काल बजार लगिहाल्न किसानलाई सुझाव दिएको छ । सलहले हरियो बालीको पात खाएपछि डाँठ र हाँगासमेत सखाप पार्ने क्षमता राख्दछ ।
अहिले धानको बीउ राख्ने समय भएकाले धानको ब्याडलाई सलहले भेटेमा सखाप पार्ने हुँदा धानको बिउँ जोगाउन झुलको प्रयोग गर्न भन्दै तितेपाती निमको झोलको प्रयोग, धुँवा लगाउने, भाँडाकुँडा ठटाउने जस्ता विधि पनि निकै प्रभावकारी देखिने बताइएको छ ।
सलहले एक दुई दिनमै निकै क्षति पुर्याएर बसाई सर्ने हुनाले रासायनिक औषधि प्रभावकारी नहुन सक्ने हुँदा हाल्नै परेपनि (मेटाराईजियम) नामक जैविक विषादीको प्रयोग प्रभावकारी हुने सुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस