असार १२, २०७७
मेलम्चीः मेलम्चीको पानी असार मसान्तसम्म काठमाडौँको सुन्दरीजलमा झार्ने सरकारको योजना असफल भएको छ। कोरोना भाइरसको असरले गर्दा आयोजनाको काम प्रभावित भएपछि काम समयमै नसकेको आयोजनाले जनाएको छ।
सुरुङमा पानी परीक्षण सफल भएपछि मात्रै उपत्यकामा मेलम्ची पानी आउने आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए। मेलम्चीको पानी काठमाडौं उपत्यकामा असोजसम्ममा मात्रै आउनसक्ने जनाए। सुरुङमा पानी राख्नासाथ पानी आइहाल्ने नभएर परीक्षणमै केही समय लाग्ने उनको भनाई छ।
खत्रीले मेलम्ची आयोजनाको मुख्य जटिल काम मानिएको सुरुङको ९९ प्रतिशत काम सकिएको र अहिले वालमात्रै लगाउन बाँकी भइरहेको छ।
चालू आर्थिक वर्षभित्रै बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने सरकारको दाबीको ठीकविपरीत आयोजनाले यस वर्षका लागि छुट्ट्याइएको बजेट खर्च गर्न नसकेर फिर्ता गरेको छ। आव २०७६।७७ का लागि सरकारले ७ अर्ब ३९ करोड रुपैयाँ मेलम्ची आयोजनाका लागि विनियोजन गरेको थियो । तर, कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण आयोजनाको काम प्रभावित हुँदा आयोजनाले ३ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गरेको हो।
खानेपानीमन्त्री विना मगरले फागुन १ गते श्वेतपत्र जारी गर्दै असार मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने घोषणा गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस