महेश्वर दाहाल
खबरज्याेति
१३ वैशाख
काठमाडौं – दुःख, पीडा, शोषण, अत्याचारलाई सतहमा ल्याएर समाजमा समवेदना जगाउने काम पत्रकारहरुले गर्दै आएका छन् । तर, विडम्वना समाजको प्रवक्ता पत्रकार भने सबैभन्दा अन्याय, अत्याचारको शिकार भइरहेका छन् ।
यतिवेला विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव नेपालमा एकदमै छिट्टो मिडियामा देखिएको छ । मिडियालाई प्रभावकारी बनाउने, मिडिया मालिकलाई धनी बनाउने मुख्य सूत्रधार तिनै पत्रकार हुन्, जो अहोरात्र फिल्डमा, काममा खटिएका छन्, वर्षाैदेखि नाफामा चलेका ठूला लगानीका मिडियामा अहिले सबैभन्दा बढी श्रमजीवी पत्रकारहरुको रोजीरोटीको खतरा देखिएको छ ।
कान्तिपुर, नागरिकसहित ठूला लगानीका मिडियामा वर्षाैदेखि काम गरिरहेका अधिकांश पत्रकारहरु पेशागत असुरक्षाको पीडाले छटपटाइरहेका छन् । कोरोनाभाइरसका कारण जीवन रक्षाको चिन्तामा डुबिरहेका बेलामा मिडिया मालिकले वेतलवी विदामा बस्न गरेको ‘आग्रह’ ले आफ्नो र परिवारको जीवन कसरी धान्ने भन्ने थप चिन्ता बढेको छ । वर्षाै मिडिया हाउसमा काम गरेका थुप्रै पत्रकारहरुलाई मिडियाबाट विदाइ गर्ने उद्देश्यसहित अचानक वेतलवी विदामा बस्न आदेशात्मक पारामा भनिएको छ ।
देशैभरि काम गर्ने पत्रकारहरुको अन्य स्थापित निजी व्यवसायमा काम गर्ने श्रमजीवीको भन्दा धेरै ठूलो समस्या रहेको छ । तैपनि आफ्नो पीडालाई गौण मानेर पत्रकारहरुले समाजप्रतिको आफ्नो दायित्व सम्झेर सक्रिय रहदैं आएका हुन । विश्वभरि नै मानव जीवनमा खतरा मडारिएको यो बेलामा वर्षाैदेखि काम गर्दै आएका मिडिया हाउसका मालिकले अचानक काम र मामबाट विदाइ गर्दा कस्तो मानसिक पीडा थपिएको होला ?
हो, लकडाउनका कारण साना लगानीका, स्वरोजगारमुलक अधिकांश पत्रिकाहरु बन्द भएका छन् । चलेका ठूला लगानीका पत्रिकाहरुको पनि पेज र छपाइ संख्या घटेको छ । वितरण र विज्ञापनको समस्या धेरै छ । अहिले घाटामा चलाउनुपर्ने वा नाफा नहुने भएपछि पत्रकार र कर्मचारीहरुलाई वेतलवी विदामा बस्न मिडिया मालिकहरुले भनेका छन् । वर्षाै नाफामा चलेका तर तत्काल समस्या आउने वित्तिकै किन यस्तो गैरजिम्मेवार काम गरियो ?
निजी क्षेत्रको अग्रणी संचार संस्था कान्तिपुर पब्लिकेसन्स २७ औं वर्षमा चलिरहेको छ । तर, कोरोना संकट सुरु भए लगत्तै पत्रकार/कर्मचारीलाई वेतलवी विदामा बस्न निर्देशन दिएको छ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलास सिरोहियाले सार्वजनिक फोरमहरुमा हामी कान्तिपुर अरु जस्ता होइनौं भन्ने गरेका थिए ।
कान्तिपुर प्रकाशनमा हात हाल्नुअघि सिरोहिया काठमाडौंमा सामान्य व्यवसाय गर्दथे । कान्तिपुर पब्लिकेसन्सका संस्थापक श्याम गोयन्कासँग मिलेर सिरोहिया कान्तिपुरमा प्रवेश गरेपछि उनी र उनको परिवारको आर्थिक हैसियत र त्यही बेलादेखि, केही वर्षपछि त्यहाँ काम गर्ने पत्रकाहरुको आर्थिक हैसियत कति गुणाले अन्तर छ, सबैका आँखा अगाडि छर्लङ्ग छैन र ? कैलाश सिरोहियाले मिडियाबाट कमाएको सम्पत्तिका बारेमा हाम्रो भन्नु केही छैन । तर, उनले त्यहाँ वर्षाैदेखि कार्यरत पत्रकारहरुलाई मिडिया तत्काल घाटामा भए पनि विगतको नाफाको केही हिस्साबाट यो संकटको बेलामा पत्रकारहरुको रोजीरोटी हल गर्न किन चाहदैंनन् ? हाम्रो मुख्य चासो चाहिं यो हो ।
सबैलाई थाहा छ, करिब डेढ वर्ष यता कान्तिपुरले आशातित नाफा कमाउन सकेको छैन । तर, बिल्कुल घाटामा गएको छैन । यही बेला कोरोना संकट भित्रिएपछि जनशक्ति घटाउने भन्दै एक सयभन्दा बढी पत्रकार, कर्मचारीहरुलाई वेतलवी विदामा बस्न निर्देशन दिएको छ । जतिसुकै संकटकाल लागे पनि वा एक रुपैयाँ नाफा नकमाए पनि कान्तिपुरले कम्तीमा छ महिनासम्म विगतकै सञ्चिती नाफाबाट आफ्ना कर्मचारीहरुलाई तलव दिए पनि सिरोहियाको र उनको परिवारको आर्थिक हैसियत धेरै खुम्चदैंन । उच्च नाफा कमाउन्जेल मात्र तलव दिने, सरदर आयमा झर्ने वा थोरै घाटामा पर्ने बित्तिकै उनले पत्रकार, कर्मचारी कटौती गर्नु व्यावसायिक चरित्र वा इमान्दारिता पनि होइन । श्रमजीवी पत्रकारहरुलाई यस्तो अप्ठ्यारो बेलामा काम र मामबाट विमुख गराउने हो भने कान्तिपुर वा जुनकुनै ठूला लगानीका मिडियाहरुका आम्दानीका स्रोतहरु अब पारदर्शी बनाइनु पर्ने आन्दोलन पनि चलाउनु पर्ने हुनसक्छ । तर, यस्तो आन्दोलन गर्न बाध्य नबनाइयोस !
कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले पत्रकार/कर्मचारीलाई वेतलवी विदामा बस्न निर्देशन दिएसँगै सम्पादकहरुले श्रमजीवीहरुको पक्षमा साथ दिनुपर्नेमा उल्टो सिरोहियाको काँधमा बन्दुक थमाएर आफूहरुसँग असहमत पत्रकारहरुलाई छानी–छानी बेतलवी विदामा बस्न निर्देशन दिएको कतिपय पत्रकारहरुले गुनासो गरेका छन् । सम्पादकहरुले नचाहदा नौ/दश वर्षदेखि काम गरिरहेका केही पत्रकारहरु अझै करारमा रहेको विषय त पहिलेदेखि नै आएको हो ।
कान्तिपुर पब्लिकेसन्सले पत्रकारहरुलाई वेतलवी विदामा बस्न निर्देशन दिएको विषयमा नेपाल पत्रकार महासंघले सुरुवाती पहल लिएपछि कान्तिपुर मिडियाले चासो दिएर विदामा बस्न नदिने बचनवद्धता गरेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिएका छन् । कान्तिपुरको यो कदम सकारात्मक छ । तर, विदामा बस्न नदिने त छदैंछ, हठात वा चाहना विपरीत विदामा राखिएका पत्रकारहरुलाई अविलम्व फिर्ता बोलाएर काममा लगाउनु पर्छ । विदामा बसेकाहरुलाई फिर्ता बोलाएर काममा लगाइएन भने त्यो कान्तिपुरका लागि गम्भीर भुल हुनेछ । किनभने विभागीय प्रमुखहरुले आफूहरुसँग असहमत हुने कतिपयलाई वेतलवी विदामा राखिसकेका छन् । त्यसैले उनीहरुको चाहना पूरा भइसकेको छ । यसर्थ विदामा राखिएकाहरुलाई तत्काल काममा फर्काउनु पर्छ । नत्र पत्रकारको हितमा काम गर्ने संघ, संगठनहरु आन्दोलन गर्न बाध्य हुनेछन् ।
कान्तिपुर पब्लिकेसन्सले विदामा बस्न निर्देशन दिइएका पत्रकारहरुलाई सञ्चिती विदा कटाएर तलब दिने बचनवद्धता गरेको कुरा आएको छ । तर, नौ/दश वर्षदेखि करारमै राखिएका पत्रकारहरुलाई समेत स्थायी बराबर नै विदाको व्यवस्था गरी तलब उपलब्ध गराइनु पर्छ । त्यसो गरिएन भने वर्षौदेखि करारमै राखिएकाहरुलाई झन् ठूलो अन्याय हुनेछ । कान्तिपुर पब्लिकेसन्सले कसैलाई पनि अन्याय गर्दैन भन्ने विश्वास यतिवेला गराउनुपर्छ ।
कान्तिपुर मिडियासँगै अलग्गिएको नागरिकको समस्या त त्यो भन्दा पनि विकराल देखिएको छ । यसमा कार्यरत धेरै पत्रकारहरुले माघदेखि नै तलव नपाएको गुनासो छ । नेपाल पत्रकार महासंघसहित पत्रकार संघ, संगठनहरुसँग तलव दिने सहमति गरे पनि पुस महिनासम्मको दिएर त्यसपछि दिएको छैन । पत्रकारहरुले तलव नदिंदासम्म काम नगर्ने भनेपछि अंग्रेजी प्रकाशन रिपब्लिका बन्द भएको छ । तर, कहिलेसम्म बन्द गर्ने वा पुनः खुल्ने केही बताइएको छैन । यसले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरुको भविष्य अनिश्चित रहेको छ । सूचना विभागको कार्ड नबनाएको कुरालाई लिएर त्यहाँ कार्यरत पत्रकारहरुले लामो समयदेखि आवाज उठाउँदा पनि अझै बनेको छैन । नागरिकका मालिकले तत्काल समस्याको समाधानका लागि पहल नबढाएमा उसका लागि आगामी दिनमा धेरै समस्या पर्ने पक्का छ ।
नयाँ पत्रिकामा स्वेच्छिक वेतलवी विदा लिनका लागि सबै पत्रकारहरुलाई सार्वजनिक आव्हान गरे पनि उसले घोषित रुपमा तोकेर नै कसैलाई निकालेको छैन । अनलाइन संस्करणमा हटाउनका लागि पहल गरिरहेकाले पेशागत सुरक्षाको चिन्ता गर्दै त्यहाँ कार्यरत पत्रकारहरुले काम गरिरहेका छन् । अन्नपूर्ण दैनिकमा पनि दुई महिनादेखि धेरैले तलव नपाएको गुनासो पत्रकारहरुको छ ।
नाम चलेका स्थापित र यही व्यवसायबाट यसअघि धेरै नै कमाएका पत्रिकाको यो अवस्था छ भने अरु थुप्रै मिडियामा काम गर्नेहरुको पेशागत सुरक्षा त झन् निकै दयनीय छ । कोरोनाको कहरका कारण भएको लकडाउनको एक महिनामा नै श्रमजीवी पत्रकारहरुको पेशागत असुरक्षा भएकाले यसको सुरक्षाका लागि पत्रकारहरुले दर्हैसँग लड्नुपर्ने वाध्यात्मक अवस्था सिर्जना भएको छ । समाजमा भएका अन्यायका विरुद्धमा लेख्ने श्रमजीवी पत्रकारहरुले आफैमाथि भएको अन्यायको विरुद्ध एकताबद्ध भएर लड्ने बेला आएको छ । पेशागत सबै संघ, संगठनहरु यो आन्दोलनको नेतृत्व गर्न तयार छन् । निकट भविस्यमा हुने सम्भावित आन्दोलनका बारेमा नेपाल पत्रकार महासंघ, प्रेस संगठन, प्रेस युनियनलगायत विभिन्न संघ, संगठनको नेतृत्वसँग निरन्तर छलफल चलिरहेको छ । फेरि पनि हाम्रो जोड छ, वास्तवमा आन्दोलन हाम्रो रहर होइन, वाध्यता हो । ( लेखक प्रेस संगठनका संयोजक हुन) झिल्काे डटकमबाट साभार
प्रतिक्रिया दिनुहोस