खबरज्योति २०७६ जेठ २१ मंगलबार
सिन्धुपाल्चोक : विनासकारी भूकम्पबाट बन्द रहेको तातोपानी नाका बुधबार चार वर्षपछि औपचारिक रुपमा खुल्यो। तर नाका सञ्चालनमा आए पनि पहिलेको जस्तै व्यापार हुनको लागि केही महिना कुनु पर्ने भएको छ।
नाका सञ्चालनको लागि दुवैतिर भौतिक संरचना पूर्ण रुपमा तयार नभएकाले मालबाहक सवारी आवागमनमा रोक लगाएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमारी पौडेलले जनाए। त्यसैले नाका सञ्चालनको लागि अझै केही महिना कुर्नु पर्ने अवस्था सिर्जना भएको बताए। ‘नाका सञ्चालनका लागि नेपालतर्फ सरकारी कार्यालय व्यवस्थित भइसकेको छैन। ‘चीनतर्फ पुनर्निर्माण सम्पन्न भए पनि व्यापारका लागि स्थानीय खासा आएका छैनन्।
बिगतमा खासामा क्रियाशील नेपाल–चीनका ट्रान्सपोर्टेशन कम्पनीहरू पुनर्स्थापित हुन समय लाग्ने छ’ अध्यक्ष पौडेलले भने। नाका खुलेसँगै नेपाली व्यापारी सामान लिनको लागि चीनको विभिन्न सहरमा जान थालेका छन्। नेपाली व्यापारीहरु सामान लिएर आउँदो दसैताका मात्रै खासा आइपुग्ने भएकाले दसैताकाबाट मात्रै व्यापार पहिलेको जस्तै अवस्थामा फर्कने उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले जनाए।
नाका सञ्चालनमा नआउँदा व्यापार ठप्प भएर बसेका व्यापारीहरू सामान लिनको लागि चीनका बिभिन्न शहरमा गइसकेको बताए। मंगलबार खासा गएको चार वटा कन्टेरनलाई सीमा पार गराएर तातोपानी नाका सञ्चालनमा ल्याएको घोषण गरिएको थियो। उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव तथा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री झाङ जिवेन र चिनियाँ राजदूत हाउ याङ जिले बुधबार संयुक्त रुपमा नाका सञ्चालनको घोषणा गरेका थिए।
नाकाबाट चार वटा कन्टेनरले ऊन बोकेर तिब्बतको खासाबाट नेपाल प्रवेश गराएर कारोबार सुरु गरिएको जनाएको थियो। तर भौतिक पूर्वाधार पूर्ण रुपमा तयार नभएपछि केही महिनाको लागि नाकाबाट मालबहाक साधनमा रोक लगाइएको छ। नाका खुले पनि पूर्ववत् व्यापार सञ्चालनका लागि भने अझैं केही महिना कुर्नुपर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस