२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

महिनावारी दिवसमा छात्रालाई प्याड बनाउने सीप

  • २०७६ जेष्ठ १९, आईतबार मा प्रकाशित ५ साल अघि
  • खवरज्योति २०७६ जेठ १९ आइतबार
    मेलम्चीः सिन्धुपाल्चोकमा पनि मर्यादित महिनावारी ः अब त काम थालौं भन्ने नाराका साथ गएको मँगलबार विभिन्न कार्यक्रम गरी महिनावारी स्वच्छता व्यबस्थापन दिवस मनाइयो । दिवसका अवसरमा जनता मावि ज्यामिरे र जागेश्वरी आधारभुत विद्यालय तालामाराङमा पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड निर्माण सम्बन्धी एक दिने तालिम सञ्चालन भएको छ ।
    सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुननिर्माण परियोजना अन्तर्गत जनता माविमा भएको तालिममा ५५ जना छात्राले प्याड बनाउने सीप सिकेका छन् भने ममता खड्काको अध्यक्षतामा १३ सदस्यीय महिनावारी व्यबस्थापन समिति पुनर्गठन भएको छ ।
    दिवसकै अवसरमा तालामाराङका ४ विद्यालय बतासे र तेर्से मावि, जागेश्वरी र पञ्चकन्या आवि, इचोकको नारायण आवि, महाँकालको सर्बोदय माविमा महिनावारी व्यबस्थापन समिति पुनर्गठन भएको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले जनाएको छ । मेलम्ची नगरपालिका ६ तालामाराङको जागेश्वरी आधारभुत विद्यालयले आफ्नै लगानीमा कक्षा ६ देखि ८ सम्मका ३६ जना छात्रा र २ जना शिक्षिकालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड निर्माण तालिम दिएको छ । विद्यालय पुननिर्माण परियोजना अन्तर्गत गतवर्ष कक्षा ६ देखि ८ सम्मका ३० छात्रा र १९ छात्रलाई तालिम दिएकोमा यस वर्ष नयाँ विद्यार्थीलाई लक्षित गरेर तालिम सञ्चालन गरेको प्रधानाध्यापक माधवप्रसाद ढुङ्गानाले बताए ।
    सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुननिर्माण परियोजना अन्तर्गत नुर्बुलिङ माध्यमिक विद्यालयमा मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी शीर्षकमा कविता प्रतियोगिता भएको थियो । प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत ७ जना विद्यार्थी सहभागी भए । जसमध्ये कक्षा १० की छात्रा पेम्बा डोल्मा ह्योल्मो पहिलो, कक्षा १० कै फुलसानी तामाङ दोस्रो र कक्षा ९ का अनिष तामाङ र मनबहादुर तामाङ तेस्रो भए ।
    सबै विद्यार्थीले आफ्नो कवितामा महिनावारीका बेला महिलालाई विभेद वा छुवाछुत गर्नु नहुने, महिनावारी सरसफाइमा ध्यान दिनु पर्ने, ४ देखि ५ घण्टामा प्याड फेर्नु पर्ने, पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाएर प्रयोग गर्नु पर्ने लगायतका कुरालाई समावेश गर्नु भएको थियो ।
    महिनावारीका बेला औसतमा ५ दिन रगत बग्ने र २८ दिनको महिनावारी चक्र हुने भएकोले अँग्रेजी वर्षको पाँचौं महिना मे र २८ तारिखलाई विश्वभर महिनावारी स्वच्छता व्यबस्थापन दिवसका रुपमा मनाइन्छ । कारितास स्वीटजरल्याण्ड, हेल्भेटास नेपाल र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले सिन्धुपाल्चोकका २० विद्यालयमा महिनावारी स्वच्छता व्यबस्थापनको काम गरिरहेका छन् ।
    कारितासले ३६ विद्यालय भवन पुननिर्माणसँगै ३७ विद्यालयमा खानेपानी तथा सरसफाइ योजना निर्माण र सरसफाइ संरचना निर्माण गरिरहेको छ । कक्षा ६ भन्दा माथि पढाइ हुने २० विद्यालयमा महिनावारी मैत्री संरचना निर्माण, प्रयोगबारे अभिमुखिकरण, पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड निर्माण तालिम, महिनावारी व्यबस्थापन समिति गठन तथा परिचालनका लागि सहजिकरण भैरहेको छ ।
    परियोजना अन्तर्गत २० विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी एक हजार एक सय ६३ जनालाई प्याड बनाउने सीप सिकाइएको मञ्चले जनाएको छ । एक सय ७२ छात्र, ९ सय ४ छात्रा, १७ शिक्षक, ४९ शिक्षिका र २१ जना अभिभावक गरी एक हजार एक सय ६३ जनालाई प्याड बनाउने सीप सिकाइएको र अघिल्लो शैक्षिक शत्रमा महिनावारी हुने उमेरका विद्यार्थी मध्ये ५५ प्रतिशत विद्यार्थीले प्याड बनाउने सीप सिकेको कार्यक्रम अधिकृत विनोद शर्माले जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस