२०८१ चैत्र ३०, शनिबार | Sat, 12, Apr, 2025

हेलम्बुमा मोडेल शिक्षा

  • २०७६ जेष्ठ १९, आईतबार मा प्रकाशित ५ साल अघि
  • खवरज्योति २०७६ जेठ १९ आइतबार
    रामकृष्ण थापा
    हेलम्बुः चैत मसान्तमै आर्थिक वर्ष ०७५÷०७६ को बजेट फरफारक गरेर चर्चा कमाएको हेलम्बु गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि मोडेल शिक्षा नीति तयार पारेको छ ।
    गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षाको अवस्था हेर्न कक्षा पाँच र आठ कक्षाको अन्तिम परीक्षाको उत्तरपुस्तिका एकै ठाउँमा जम्मा गर्न शिक्षा शाखा प्रमुख युगबहादुर थापालाई निर्देशन दिए । थापाले सबै उत्तरपुस्तिका गाउँपालिका कार्यालय किउल ल्याए ।
    उत्तरपुस्तिकाको जाँच पालिकामा नै भयो । तर, ९० प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएको परिणाम बाहिर आयो । शैक्षिक क्षेत्र पछाडि परेको आफ्नै आँखाले देखेपछि शेर्पाले अनुत्तिर्ण विद्यार्थीलाई पुनः परीक्षा दिन लगाए । पुनः परीक्षा दिएका विद्यार्थी केहीले पास गरे । धेरै त फेरि पनि फेल नै भए ।
    अन्तिम परीक्षामा अनुत्तिर्ण विद्यार्थीले तुरुन्तै अर्को जाँच दिएरमात्रै माथिल्लो कक्षामा पढ्न पाउने छन् । एक विषयभन्दा बढीमा फेल भए कक्षा दोहो¥याउनु पर्ने नीति बनाइएको छ । सबै कक्षाका पाठ्यपुस्तक पनि गाउँपालिकाले नै जिम्मा लिएर सात वडाका ३४ विद्यालयलाई भर्ना अभियानमै वितरण गरिसकेको छ । ३४ विद्यालयमा चार हजार सात सय २९ विद्यार्थी छन् ।
    नपढाउने शिक्षकको तलब रोक्का
    विद्यालयमा दैनिक उपस्थित नहुने र गुणस्तरयुक्त शिक्षा प्रदान नगर्ने शिक्षकलाई कार्बाहीस्वरुप तलबै रोक्न सक्ने गाउँपालिकाको शिक्षा समितिले नीति बनाएको छ । ८० प्रतिशत विद्यार्थी उत्तिर्ण नभए शिक्षकलाई कार्बाही गर्ने नीति बनाइएको छ । जुन विषयमा विद्यार्थी कमजोर हुन्छन् अर्थात् ८० प्रतिशत विद्यार्थीलाई उत्तिर्ण नगराउने शिक्षकलाई शाखाले कार्बाही गर्छ ।
    शिक्षकलाई दोहोरो सुविधा
    नियमित र गुणस्तर शिक्षा प्रदान गर्ने शिक्षकलाई तलबबाहेक सुविधा दिने नीति अघि सारिएको छ । शिक्षक स्वास्थ्य कोष स्थापना गरिएको छ । कोषलाई गाउँपालिकाले सुरुमा १० लाख दिएको छ । प्रत्येक शिक्षकले वार्षिक १२ सय कोषमा जम्मा गर्नुपर्छ । स्थायी शिक्षक बिरामी पर्दा कोषले उपचार गर्छ । त्यसैगरी अस्थायी र करारमा रहेका शिक्षकलाई अवकाश कोष स्थापना गर्ने नीति लिएको छ । कोषमा प्रत्येक शिक्षकले मासिक पाँचसय जम्मा गर्नुपर्ने नियम छ ।
    गाउँपालिकाले प्रत्येक अस्थायी र करार शिक्षकका लागि वार्षिक ६ हजार जम्मा गरिदिन्छ । बीचैमा पेशाबाट बाहिरिनुपर्दा शिक्षकले अवकाश कोषबाट रकम पाउँछन् । इसिडी कक्षामा पढाउने शिक्षकलाई सरकारले दिने ६ हजार तलबमा गाउँपालिकाले चार हजार थपेर १० हजार दिने व्यवस्था मिलाएको छ । उनीहरुलाई पोशाक भत्ता १० हजार पनि प्रदान गरिने नीति लिएको छ । लेखामा काम गर्ने शिक्षक र प्रअलाई थप भत्ताको व्यवस्था गरिएको छ । हेलम्बुमा दुई सय २५ शिक्षक कार्यरत छन् ।
    सम्भोटा र संस्कृत भाषाका कक्षा
    हेलम्बुको माथिल्लो भागमा जनजाति र तल्लो भेगमा बाहुनक्षेत्रीको बाहुल्यता छ । तर, सबै विद्यालयमा सम्भोटा र संस्कृत भाषाको कक्षा सञ्चालन भइरहेका छन् । ह्योल्मो, तामाङ र लामा बालबालिकाले संस्कृत भाषाको कक्षा पढिरहेका छन् । बाहुनक्षेत्री र दलितले पनि मंगोलियन लिपि सम्भोटाको अध्ययन गरिरहेका छन् । जातीय तथा धार्मिक सहिष्णुता र एकताका लागि यस्ता कक्षा सञ्चालन गरिएको अध्यक्ष शेर्पाले बताए । ‘गाउँमा मर्दापर्दा चाहिने पण्डित र लामा उत्पादन गर्ने रणनीति हामीले लिएका छौं,’ उनले भने ।
    मोडेल विद्यालय निर्माण सुरु
    हाल सञ्चालनमा रहेका नौ वटा माध्यमिक र अरु विद्यालयलाई आधारभूत तहमा कायम गर्नेे नीति रहेको छ । कक्षा ९–१० र ११–१२ माध्यमिक तहको लागि गाउँपालिकामा एउटामात्रै विद्यालय स्थापना गरिने भएको छ । स्वीट्जरल्याण्डको लुनार युनिभर्सिटीले तयार पारेको गुरुयोजनाको आधारमा एक अर्ब लगानी गरेर घोप्टेघ्याङमा हेलम्बु मोडेल आवासिय विद्यालय स्थापना हुँदैछ । प्रथमपटक चार करोडको टेण्डर भएको छ ।
    १४ कोठाको भवन निर्माण सुरु भएको छ । सातै वडाका माध्यमिक तहका विद्यार्थीलाई एउटै विद्यालयमा राखेर पढाउने योजना छ । एक हजार रोपनी क्षेत्रफलमा बन्ने सो विद्यालय नेपालकै लागि नमूना हुने शेर्पाले बताए । विद्यालयमा शिक्षक र विद्यार्थी दुवैलाई खानाबस्नको सुविधा हुनेछ । शिक्षकको दक्षता र जनशक्तिलाई एकीकरण गरेर नतिजा निकाल्न मोडेल विद्यालय स्थापना गरिन लागेको हो । सिन्धुसन्देश साप्ताहिबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस