स्वर्ग कस्तो हुन्छ ?
यसबारे खासै विस्तृतमा व्याख्या गरिएको छैन । यद्यपी स्वर्ग भन्नसाथ त्यस्तो चित्ताकर्षक ठाउँको परिकल्पना गरिन्छ, जहाँको वातावरण सुरम्य होस् । त्यहाँको वायुमण्डमा सुगन्ध फैलिएको होस् । त्यहाँको हावामा संगीतको प्रतिध्वनी गुञ्जिएको होस् । ठीक यसैगरी नर्कको पनि परिकल्पना गरिएको छ । नर्कमा त्यही व्यक्ति पुग्छन्, जसले पापकर्म गरेका छन् । दुराचार गरेका छन् । व्याभिचार गरेका छन् । अरुको चित्त दुखाएका छन् । हत्या, हिंसा गरेका छन् । अराजकता फैलाएका छन् ।
नर्क रुखो, उजाड, उराठलाग्दो र भयानक हुन्छ । त्यहाँ डरलाग्दा हिंस्रक दृश्यहरु देखिन्छ । ठूल-ठूलो भाँडामा तेल तताइन्छ र नर्क पुग्नेहरुलाई त्यसमा डुबाइन्छ । के वास्तवमै मृत्युपछि स्वर्ग वा नर्कमा पुग्छौ । यी कुनै तथ्य र विज्ञानमा आधारित कुरा होइन । सदियौंदेखि भनिदै र सुनिदै आएको कुरा मात्र हो । यसर्थ हामीले परिकल्पना गरेजस्तै स्वर्ग वा नर्कको कुनै अस्तित्व छैन, जो मृत्युपछि भेटिन्छ । त्यसो भए किन स्वर्ग र नर्कको कुरा गरियो ?
मृत्युअघि नै स्वर्ग र नर्क
वास्तवमा स्वर्ग पुग्न हामीले मृत्यु कुरिहनु पर्दैन । मृत्यु पछि मात्र स्वर्ग पुगिन्छ भन्नु भ्रम हो । स्वर्ग हामीले आफ्नै जीवनकालमा भेट्छौं । हामीले परिकल्पना गरेको जस्तै सुमधुर, सुरम्य, सुगन्धित स्वर्ग यहीँ भेट्छौ । त्यो पनि भोलि वा भविष्यमा होइन । आज र अहिले नै ।
ठिक यसैगरी मृत्युपछि मात्र नर्क पुगिने होइन । बाँचेकै बेला हामी नर्कमा पुग्न सक्छौ । जीवित अवस्थामै । त्यो पनि भविष्यमा होइन, अहिले नै । स्वर्ग पुग्ने कि नर्क ? यसमा कुनै अदृश्य शक्तिको हात छैन । हामी स्वर्ग जाने वा नर्क जाने भन्ने कुराको छिनोफानो अरुले गर्ने होइन । हामी आफैले हो । यो नितान्त हाम्रो हातको कुरा हो ।
कहाँ छ स्वर्ग, कहाँ छ नर्क ?
स्वर्ग र नर्क दुबै लोकमा छौ हामी । हाम्रो कर्मले नै निर्धारण गर्छ, कुन लोकमा बस्ने भन्ने । हामी सही काम, सही ढंगले, सही समयमा गर्छौ । सकारात्मक, सचेत र सर्तक छौं । संयमित, विनय र विनम्र छौ । ज्ञान र विवेकले काम गर्छौ । यदि त्यसो हो भने हाम्रो लागि स्वर्ग लोकको ढोका खुला हुन्छ । स्वर्ग लोक, जहाँ हामी खुसी, आनन्द प्राप्त गर्न सक्छौ ।
नर्क पनि हाम्रो कर्मले निर्धारण गर्छ । हामी कुकर्म गर्छौ । अरुलाई विझाउने, अरुलाई थिचोमिचो गर्ने, खराब नियत र ढंगले काम गर्छौं । हिंसा गर्छौं, घृणा गर्छौं । कुविचार राख्छौ । यदि त्यसो हो भने हामी नर्कमा धकेलिन्छौ ।
एउटै भूगोल वा एउटै माटोमा उभिएका दुई फरक व्यक्ति पनि स्वर्ग वा नर्कमा हुनसक्छ । यी दुवै लोक देखिदैन । तर, भोगाईबाट यसको अनुभूत हुने हो । हामी हरक्षण दुःखी, भयभित, निरास, नकारात्मक हुन्छौ भने हाम्रो लागि यो भन्दा भयानक नर्क अरु केही हुन सक्दैन । जबकी हामी खुसी, उमंगित, सकारात्मक, संयमित हुन्छौ भने हामीले अर्को स्वर्ग खोज्नुपर्दैन ।
तपाईं कुनै कु-कर्म गर्नुहोस्, तपाईंको मनमा औडाह हुन्छ । तपाईंले गलत नियतले, गलत ढंगले, गलत काम गर्नुभयो भने त्यसको खराब नतिजा तपाईंले नै भोग्नुपर्छ । अर्थात यसका लागि मृत्यु पर्खिरहनु पर्दैन । त्यसैगरी तपाईंले राम्रो काम गर्नुभयो, सही र सकारात्मक कर्म अपनाउनुभयो भने तपाईंले यसबाट राम्रो प्रतिफल प्राप्त गर्नुहुन्छ । यस किसिमको प्रतिफलले तपाईंका जीवन सफल र खुसी तुल्याउँछ । यसको अर्थ तपाईं स्वर्गमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस