खबरज्योति २०७६ बैशाख ३०
सिन्धुपाल्चोक: भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन सिमाक्षेत्रमा व्यापक रुपमा काम भैरहेको छ । तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ १७ गतेबाट तातोपानी नाका सञ्चालन गर्ने मिति घोषणा गरेर सिमा क्षेत्रमा काम भैरहेको छ । तर, पुल निर्माणको काम आघा अझै बाँकि रहेकाले तातोपानी नाका तोकिएको मितिमा खुल्ने सम्भावना टर्दै गएको छ ।
अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । तर, पुलको ढलानको काम बाँकी भएकाले यहि मितिमा नाका सञ्चालनमा आउँछ भन्ने भन्न नसक्ने अवस्थामा रहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जनाए ।
उनका अनुसार नेपाल र चिन जोड्ले पुल ढलान गर्ने बाँकि छ । ढलानपछि फर्मा खोल्नको लागि केहिदिन कुर्नुपर्ने हुन्छ । त्यसैले नाका सञ्चालन हुने मिति पछि हट्ने पक्काकक्की जस्तै भएको उनको भनाई छ । नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह पनि बैशाख १८ अर्थात मजदुर दिवसको दिनमा हस्तान्तरण गरिने थियो । ाममा ढिलाइ भएकाले एक महीनापछि सरेको बन्द अध्यक्ष पौडेलले बताए ।
प्रधानमन्त्रीको निर्देशनअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद अग्नी सापकोटा, घनश्याम भुसाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको टोलीले गत चैत २६ गते स्थलगत निरीक्षण गरी चाँडै काम सकाउन सम्बन्धित सचिवलाई निर्देशन दिएका थिए । उनीहरुको निर्देशनपछि कामका तिव्रता आएको छ ।
बाह्रबिसे नगरपालिकाअन्तर्गत गातिको बसेरीदेखि सीमा पुलसम्मको सडक चिनियाँ पक्षले मर्मत सम्पन्न गरिसकेको छ । लार्चामा निर्माण भएको अत्याधुनिक सुख्खा बन्दरगाहको छिटफुटबाहेक सबै काम सम्पन्न भइसकेको छ । तर, पनि पुर्ण रुपमा सम्पन्न नहुनाले हस्तान्रणमा ढिलाई भएको छ ।
सांसद अग्नीप्रसाद सापकोटाको पहलमा गत वर्षको बर्खामा बाढीले बगाएको बाह्रबिसेको खुर्सानीबारीस्थित साँदी खोलाको बेलिब्रिज जडान गरिने भएको छ । पक्की पुल निर्माणका लागि आवश्यक बजेट माग गरिरहेको सांसद सापकोटाको भनाई छ ।
पटक पटक गरेका उच्चस्तरीय चिनियाँ टोलीले नेपाल तर्फको सडक सञ्चालनमा आए नाका सञ्चालनमा आउन सक्ने जनाएको थियो । टोलीले नाका सञ्चालन गर्न नेपालतर्फकै सडक बाधक भएको निर्यौल निकालेको थियो । चीनबाट स्थलमार्ग हुँदै सामग्री ढुवानी हुने मुख्य व्यापारिक मार्ग तातोपानी सञ्चालनमा नआउँदा नेपाली व्यापारीहरूले रसुवाको केरूङ तथा लामो समुद्री मार्ग हुँदै भारतको कोलकाताबाट सामान ढुवानी गर्न बाध्य भएको छन् ।
भूकम्पले संरचनामा क्षति पुर्याएको भन्दै बन्द रहेको तातोपानी नाका २०७३ सालमा आएको भोटेकोशी बाढीले लिपिङदेखि तातोपानीसम्मको चार किलोमिटर सडक ठाउँ ठाउँमा कटान गरेपछि यातायात सञ्चालन हुन सकेको छैन । चीनबाट सामग्री ढुवानी गर्ने मुख्य नाका भएपनि भूकम्पले निकै क्षति पुगेपछि चिनियाँ पक्षले आफ्नो ध्यान रसुवाको केरूङ नाकातर्फ केन्द्रित भएका छन् ।
प्रतिक्रिया दिनुहोस