२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कठै ‘निम्छरो’ कांग्रेस

  • २०७६ बैशाख २६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • आरपी शर्मा ः नेपाली कांग्रेसले सरकारका कामहरू रचनात्मक ढंगबाट आलोचना गरेर असल प्रतिपक्षी बन्न सकिरहेको छैन । कांग्रेसले सरकार विरुद्ध प्रोपागान्डा मात्र फैलाउने प्रयास गरिरह्यो । सरकारले गरेका राम्रा कामहरू ओझेलमा पारेर सरकारका कमजोरीहरू माथि मात्र प्रहार गर्न खोज्नु लोकतान्त्रिक पद्धति होइन ।

    ठूलो मेहेनेतपछि बनेको संविधान कार्यान्वयन गर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षको दूरी बढ्नु राम्रो होइन । प्रतिपक्षीको आलोचना पनि सुनेर सरकार अघि बढ्नुपर्छ ।

    काठमाडौं । मंगलवार प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सांसदहरूले प्रश्न गर्ने पालो आयो । २७ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोधे । कसैले निर्मला पन्तको हत्यारा कहिले जेल जान्छ भनेर सोधे भने कसैले कर्णालीमा तुइन विस्थापनको बारेमा प्रश्न सोधे । उत्तर दिने पालो थियो प्रधानमन्त्री ओलीको । ओली जवाफ दिन रोष्ट्रममा उक्लिए ।

    ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु,’ जवाफ दिन गएका प्रधानमन्त्रीले प्रश्नकर्ताका प्रश्नलाई ‘निम्छरो’ भनी टिप्पणी गरे । प्रधानमन्त्रीले निम्छरो शब्द प्रयोग गरेपछि कांग्रेसका सांसदहरू उठेर विरोध जनाए ।

    सांसद गगन थापा, मिनेन्द्र रिजाल लगायतले प्रधानमन्त्रीले संसदीय मर्यादा कायम नराखेको आरोप लगाए । ‘प्रश्नको सीमा र मर्यादा हुन्छ,’ यति भन्दै प्रधानमन्त्री कांग्रेस सांसदहरूसँग दोहोरी खेल्न उत्रिए । हल्लाखल्ला भएपछि प्रधानमन्त्रीले जम्माजम्मी २ प्रश्नको मात्र जवाफ दिएर रोष्ट्रमबाट बाहिरिए ।

    नेपाली शब्दकोशमा निम्छरोको अर्थ यसरी उल्लेख गरिएको छ, ‘१। ९निम्नस्तर० धन, बुद्धि, विद्या, आदि सबै कुराबाट नाजुक स्थितिको, कमजोर । २। दुब्लो पातलो निर्बलियो ।’ प्रधानमन्त्रीले कांग्रेसलाई ‘नालायक’ भनेको कांग्रेसको बुझाइ छ ।

    के कांग्रेस निम्छरो हो
    २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पार्टी एकता गर्ने उद्देश्य राख्दै तत्कालीन एमाले र माओवादीले गठबन्धन गरेर निर्वाचन लडे । त्यतिबेला संसदमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो शक्ति थिए । दोस्रो र तेस्रो शक्ति गठबन्धनमा उत्रिएपछि कांग्रेस राजनीतिक रूपमा कमजोर भयो । यतिबेला संसदमा कांग्रेस अंकगणितीय हिसाबले कमजोर प्रतिपक्षीको रूपमा छ ।

    केन्द्रमात्र होइन ७ वटै प्रदेशमा कांग्रेस प्रतिपक्षी बन्यो । प्रदेश नम्बर दुईमा कांग्रेस केही बलियो हुने अनुमान गरिएको थियो तर त्यहाँ त प्रमुख प्रतिपक्षी पनि हुन पाएन । प्रधानमन्त्रीकै शब्द सापटी लिने हो भने कांग्रेस राजनीतिक रूपमा ‘निम्छरो’ देखिएको छ ।

    सरकारको आलोचना गर्ने नाउँमा कांग्रेस ‘रचनात्मक’ हुन बिर्सिएको नेकपाका एक नेताको दाबी छ । ‘नेपाली कांग्रेसले सरकारका कामहरू रचनात्मक ढंगबाट आलोचना गरेर असल प्रतिपक्षी बन्न सकिरहेको छैन,’ उनले भने, ‘कांग्रेसले सरकार विरुद्ध प्रोपागान्डा मात्र फैलाउने प्रयास गरिरह्यो । सरकारले गरेका राम्रा कामहरू ओझेलमा पारेर सरकारका कमजोरीहरू माथि मात्र प्रहार गर्न खोज्नु लोकतान्त्रिक पद्धति होइन । सरकारले बल्ल एक वर्ष पार गरेको छ, कतिपय कमजोरी पनि भएका होलान् । तर कांग्रेसले हरेक कुरालाई अधिनायकवादसँग जोडेर प्रचार गरिरहेको छ । आजको युगमा जनताले भोट दिएर सरकार संचालन गरेको शक्ति अधिनायकवादी हुन सम्भव छैन ।’

    तर कांग्रेसकी सांसद डीला संग्रौलाले भने प्रधानमन्त्रीले संसदलाई चुनौती दिएको बताइन् । ‘सदन प्रतिपक्षीको हो भन्ने ओलीले बिर्सेको उनको आरोप छ । ‘प्रधानमन्त्रीले सांसदलाई निम्छरो ९नालायक० भन्दा पनि उहाँले रुलिङ गर्नुभएन,’ संग्रौलाले भनिन्, ‘प्रधानमन्त्रीको अधिनायकवादी शैलीमा सभामुख साक्षी बस्नुभयो ।’

    संसदमा सभामुखको कार्यशैली
    यतिबेला प्रधानमन्त्रीले प्रयोग गरेको शब्दमा बहस भइरहेको छ । तर संसद सभामुखको नियन्त्रणमा हुने गर्दछ । तर मंगलवार सभामुख कृष्णबहादुर महराले तत्कालै सुल्झाउन सक्ने ‘निम्छरो प्रकरण’मा चुप बसिदिए । नीति तथा कार्यक्रम जस्तो विषयमा सवाल(जवाफ गर्दा झन् बढी संवेदनशील हुनुपर्ने सभामुख यो समस्या सुल्झ्याउन सक्थे, आफ्नो अधिकार प्रयोग गरेर । तर, उनले त्यो जरुरी ठानेनन् ।

    सभामुखका लागि संसदमा सबै सांसदहरू बराबर हुन्छन् । चाहे प्रधानमन्त्री होस्, चाहे प्रमुख प्रतिपक्षी दलको नेता होस् या १ जना मात्र प्रतिनिधित्व गरेको पार्टीको सांसद होस्, सभामुखले उत्तिकै महत्त्व दिनुपर्ने हुन्छ । प्रतिपक्षी दलको एकजना मात्र पनि विरोधमा उठेको बेलामा सभामुखले सदन संचालन गर्नु लोकतान्त्रिक पद्धति नभएको कतिपय कांग्रेसका नेताहरू बताउँछन् ।

    बुधवार राष्ट्रिय जागरण अभियानको घोषणा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई निरिह र डरपोक भएको आरोप लगाए । सांसद गगन थापाले सभामुखलाई सत्तारुढ पार्टीको कारिन्दा भएको आरोप लगाए । यसअघि चिकित्सा शिक्षा विधेयक पारित गर्नेबेलामा पनि सभामुखलाई यस्तै आरोप लागेको थियो ।

    कांग्रेसले आफूलाई हेपेको प्रधानमन्त्रीको आक्रोश
    बुधवार साँझ ‘जनतासँग प्रधानमन्त्री’ नामक एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेसले आफूलाई हेपेको आरोप लगाए । कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको भन्दै प्रधानमन्त्रीले भने, ‘संसदमा मेरो अपमान गरियो । तथानाम प्रश्न गरिएको थियो । वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको थियो ।’

    यद्यपि अरूलाई उखान टुक्का जोडेर ‘भित्तैमा पुर्याउने’ शैली रहेका प्रधानमन्त्रीको दाबी तर्कसंगत देखिँदैन । निर्मला प्रकरण, वाइडबडी प्रकरण जस्ता कतिपय सुशासन र भ्रष्टाचारसँग जोडिएका विषयहरू राष्ट्रव्यापी रूपमा अगाडि आएका छन् । ति प्रकरणका बारेमा प्रधानमन्त्रीलाई कांग्रेसले मात्र होइन जनताले सधैं सोधिरहेका हुन्छन् । संसदको प्रत्यक्ष प्रसारण हेरिरहेका जनताले पनि कांग्रेस सांसदहरूले सोधेको प्रश्नको जवाफको प्रतीक्षा गरिरहेका थिए ।

    सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ उच्चारण गरेपछि कांग्रेसले त्यसको विरोध गर्ने नाउँमा राष्ट्रपति जस्तो सर्वोच्च संस्थालाई विवादमा तान्न खोजेको प्रधानमन्त्रीको बुझाइ छ । कांग्रेसले विरोध गरेपछि प्रधानमन्त्री कांग्रेसप्रति असहिष्णु बनेका हुन सक्छन् । यही कारणले प्रधानमन्त्री जवाफ दिन संसदको रोस्ट्रममा जानुभन्दा अगाडि नै आक्रोशित मुद्रामा देखिएका थिए ।

    सरकार(प्रतिपक्षबीचमा बढ्दो दूरी
    गतसाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन गरेको थियो । समर्थन गरेकै कारणले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण पार्टीभित्रै आलोचित बनेका थिए । प्रधानमन्त्री ओलीले अहिले पनि कांग्रेसले सरकारको नीति तथा कार्यक्रम समर्थन गर्नेमा ढुक्क थिए तर उनीमाथि प्रश्नको ओइरो लाग्यो ।

    संसदमा सानोतिनो वादविवाद हुनु नौलो होइन । भारत र अन्य कतिपय देशको संसदमा त अझ कुटाकुट नै हुने गर्दछ । तर नेपालको हकमा ठूलो मेहेनेतपछि बनेको संविधान कार्यान्वयन गर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षको दूरी बढ्नु राम्रो होइन । प्रतिपक्षीको आलोचना पनि सुनेर सरकार अघि बढ्नुपर्छ ।

    सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले सरकारको बचाउ मात्र गर्नुपर्थ्यो । तर ओलीले सांसदका प्रश्नहरूलाई निकै हलुका ढंगले लिए । जवाफ पनि निकै हलुका थियो । प्रश्नको जवाफ भन्दा धेरै प्रश्नमाथि कटाक्ष गरे । यसलाई कांग्रेसले आफ्नो अपमानको रूपमा लियो । सत्तापक्ष र प्रतिपक्षको बीचमा बढेको यस दूरीलाई कम गर्न सभामुखले पहल गर्नुपर्थ्यो तर त्यो पनि भएन । खबरडबलीबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस