२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पूर्वमाओवादी र पूर्वएमालेबीच शक्तिसंघर्ष

  • २०७५ चैत्र २५, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २५ चैत्र २०७५
    सिन्धुपाल्चोकः जनप्रतिनिधिले कर्मचारीमाथि कुटपिट र अभद्र व्यवहार गरेको भन्दै लिसंखुपाखर गाउँपालिका कर्मचारीले १७, १८ र १९ गते सेवा नै ठप्प पारे । पालिका र सातवटै वडामा कार्यरत कर्मचारीले कार्यालय बन्द गरेर सेवा रोकेका थिए ।
    प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सोमबार प्रेसविज्ञप्ति जारी गरेर कामकाज ठप्प पारेको जनाएका थिए । तर, कर्मचारीले नै पालिका र वडाकार्यालय बन्द गर्दा सेवाग्राही मर्कामा परे । गाउँपालिकामा कार्यरत इन्जिनियर कपिल श्रेष्ठलाई वडा नं. १ ठूलोधादिङका सदस्य दावादोर्जे तामाङ र ज्याङ्छ्युप सेन्पा गुम्बा स्तुपा निर्माण समितिका अध्यक्ष दावाग्याम्छो तामाङले कुटपिट र अभद्र व्यवहार गरेको आरोप कर्मचारीले लगाएका छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिका अध्यक्ष कृष्णबहादुर ज्ञवालीले पनि विज्ञप्ति प्रकाशित गरेर वडासदस्यलाई कडा कार्बाहीको माग गरेका छन् । तत्काल कार्बाही नगरिए जिल्लाभरका कर्मचारी आन्दोलनमा जाने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।
    स्तुपा निर्माणको भुक्तानी लिन गएका तामाङद्वयसँग इन्जिनियर श्रेष्ठको चर्काचर्की परेको थियो । समयमा काम नगरेर झुलाउने गरेकोले अनियमितताविरुद्ध विद्रोह गरेको सदस्य दावादोर्जे तामाङले दाबी गरेका छन् । मंसिरमै स्तुपाको काम सम्पन्न भएको र सबै कागजात मिलाएर वडाध्यक्षले प्रमाणित गरेर पठाउँदा पनि भुक्तानी नदिएपछि कार्यकक्षमै केहीबेर विवाद भएको उनले बताए । चार महिनाअघि काम सम्पन्न भएका अन्य थुप्रै उपभोक्ता समितिलाई पनि भुक्तानी नदिएको पाइएको छ । उनीहरु सबै ऋणमा डुबेका छन् । गाउँपालिका अध्यक्ष कमल नेपाल मंगलबारमात्रै अमेरिकाबाट गाउँपालिका फर्केका छन् । ‘कर्मचारीले सेवा बन्द गरेको थाहा पाएँ । अब गएर समाधान गर्छु,’ उनले भने । यद्यपि, यो घटनाले लिसंखुपाखरमा पूर्वएमाले र पूर्वमाओवादीबीच शक्तिको संघर्ष देखिएको छ । अध्यक्ष नेपालको निर्देशनमा कार्यकारी दूलाल र इन्जिनियर श्रेष्ठले पूर्वमाओवादी र नेपाली कांग्रेसले सम्पन्न गरेको कामको भुक्तानी रोक्ने र दुःख दिने गरेको पाइएको छ । पूर्वमाओवादी र कांग्रेस एकातिर र पूर्वएमाले अर्कोतिर रहेर संघर्ष गरेको बुझिएको छ । पालिकाले आह्वान गरेको बैठकलाई अधिकांश वडाध्यक्षले बहिष्कार गरेका छन् ।
    सिन्धुसन्देश साप्ताहिकबाट

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस