खबरज्योति २२ चैत्र २०७५
रामकृष्ण थापा, सिन्धुपाल्चोक: १५ किलोमिटर दूरीमा पानीका थुप्रै मुहान छन् । खानेपानीका लागि सरकारी निकायबाट बर्से्नि बजेट पनि विनियोजन हुन्छ । तर, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौताराका स्थानीयले भने पिउनेपानीको अभाव सधैँ झेल्दै आएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५, ६ र ७ मा बर्से्नि हिउँदमा खानेपानीको हाहाकार हुने गरेको छ ।
‘पानी नभएर होइन, व्यवस्थापन गतिलो नभएर हामीले सास्ती बेहोर्नुपरेको हो,’ चौतारा पुरानोबजारनिवासी जीवन श्रेष्ठले भने, ‘पानीका मुहान प्रशस्तै हुँदा पनि बजारवासी काकाकुल हुनुपरेको अवस्था छ ।’ थालखर्क र होल्चेबाट ल्याइएका पाइपलाइन पचासभन्दा बढी ठाउँमा फुटेका र चुहिएका छन । फुटेको पानी बनाउन जाने कोही छैनन् । महिना दिनदेखि धारामा पानी नआएको उनको भनाइ छ ।
सात वर्षदेखि दलीय संयन्त्रमा समिति सञ्चालन, तर व्यवस्थापन कमजोर
जुगल–थालखर्क–होल्चे खानेपानी उपभोक्ता समितिले नगरपालिकाका चारवटा वडाका लागि पिउनेपानीको व्यवस्थापन हेर्छ । उपभोक्ताबाट निर्वा्चित पदाधिकारीले अनियमितता गरेको भन्दै तिनलाई बर्खास्त गरेर सात वर्षदेखि दलीय संयन्त्रमा समिति सञ्चालन गरिँदै आएको छ । दलीय संयन्त्रले जिम्मा लिएपछि खानेपानीको व्यवस्थापन झन् कमजोर भएको उपभोक्ताले आरोप लगाएका छन ।
जुगल गाउँपालिकाको थालखर्क र नगरकै होल्चे भन्ने लेकमा रहेको मुहानबाट सदरमुकामवासीलाई पिउनेपानी ल्याइएको छ ।
मुहानको व्यवस्थापन, नयाँ मुहानको खोजी र व्यवस्थित पाइपलाइनका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट बर्से्नि करोडौँ रुपैयाँ खर्चने गरिएको छ । व्यवस्थित र दिगो पाइप लाइनका लागि यसै वर्ष मात्र जापानी संस्था जाइकाले ६० करोड खर्च गरेको छ ।
सडक खन्दा झन् हाहाकार
चौताराबाट स्याउलेसम्मको १२ किलोमिटर सडक निर्माणकार्य तीव्र रूपमा भइरहेको छ । बज्रगुरु कन्स्ट्रक्सनले खनिरहेको सो सडकको बीच भागबाट खानेपानीको पाइपलाइन सदरमुकाम ल्याइएको छ । रोड कटिङ लेबलभन्दा पाइपलाइन माथि भएकाले एक्जाभेटरले सडक खन्दा पानीको पाइप फुटेकाले दुई महिनायता सदरमुकाममा नियमित पानी छैन । सडक निर्माण गरिरहेको ठेकेदार कम्पनी र खानेपानी समितिबीच द्वन्द्व हुँदा उपभोक्ताले समस्या भोग्नुपरेको हो ।
आफूहरूलाई सोध्दैनसोधी सडक खन्न थालिएको र पाइप सबै फुटेकाले पानीको अभाव भएको जुगल–थालखर्क–होल्चे खानेपानी उपभोक्ता समितिका सचिव श्यामकृष्ण श्रेष्ठले बताए । बज्रगुरु कन्स्ट्रक्सनका साइट म्यानेजर ङवाङ लामाले खानेपानी समिति र जाइकाले हालेको पाइपलाइन सडक कटिङ मापदण्डभन्दा माथि भएकाले काम गर्न अप्ठेरो परेको बताए । ‘१२ किमि कालोपत्रे गर्न २२ करोड रुपैयाँ आएको छ,’ लामाले भने, ‘फुटेको पाइप र विद्युतीय पोल सार्ने खर्च हामीसँग छैन ।’ सडक बनाउँदा दर्जनौँ स्थानमा फुटेको पाइपलाइनको मर्मतसुधार नगरिँदा सदरमुकाममा पानीको हाहाकार भएको हो ।
नयाँपत्रिकाबाट
प्रतिक्रिया दिनुहोस