खबरज्योति,
१७ मंसिर २०७५, सिन्धुपाल्चोक ।
जुरे पहिरो पीडितहरुले राहत पाउनको लागि अझै समय लाग्ने भएको छ । पहिरो पीडितको सहयोगार्थ नेपल बैंक चौतारा शाखामा जम्मा भएको रकम बाँड्नको लागि सरकारले अनुमति दिएता पनि प्राविधिक समस्याका कारण पीडितले राहत पाउन अझै केहि समय लाग्ने भएको हो ।
७१ साउन १७ गते राति १ सय ४५ जनाको ज्यान गएको उक्त पहिरो पीडित परिवारका लागि सर्बसाधारणबाट बैंकमा २ करोड २४ लाख ६६ हजार ६ सय ५७ रुपैयाँ पैसा खातामा जम्मा भएता पनि नेपाल सरकारले बैंक खाता रोक्का गरेका कारण पीडितले राहत पाउन सकेका थिएनन् ।
७५ कात्तिक १४ गते बसेको मन्त्री परिषद्को बैठकले बैंक खाता फुकुवा गरेता पनि पीडितको हातमा रकम कहिले हात पर्छ भन्ने अझै एकिन छैन । मन्त्री परिषद्को बैठकले भूकम्प प्रभावित लाभग्राहीको सुविधा लिएकाहरुलाई नदोहोरीने गरी भूकम्प पीडितले पाए सरह पैसा जुरे पीडितलाई दिनु भन्ने परिपत्र गरेपश्चात बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले दोहोरो नपर्ने गरी लाभग्राहीको सुचि तयार पार्न स्थानीय बिपद् ब्यवस्थापन समितिलाई भनेको छ ।
‘हामीले दोहोरो सुबिधा नपर्ने गरि पीडितको नामावली पठाउन स्थानीय बिपद ब्यवस्थापन समितिलाई भनेका छौं नामावली आइसकेपछि जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक बसेर निर्णय पुनर्बिचार गर्नको लागि अनुरोध गर्ने छौं’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने ।
पहिरो गएपश्चात पीडितले ऋण धन गरि बनाएको संरचना पनि भूकम्पले भत्काएकाले जुरे पीडित भूकम्प पीडित पनि भएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री बताए । उनीहरुले दोहोरो पीडा भोगेकाले दुबै सुबवधा पाउनुपर्ने क्षेत्रीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस