२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मेलम्चीले पारित गर्यो १५ वर्षिय योजना

  • २०७५ मंसिर १७, सोमबार मा प्रकाशित ५ साल अघि
  • ‘२०९० सम्ममा स्वच्छ, सुन्दर र समृद्ध मेलम्ची’, मन्त्री दुलाल

    खबरज्योति,
    १७ मंसिर २०७५, सिन्धुपाल्चोक ।

    मेलम्ची नगरपालिकाले आगमी १५ वर्षेको लागि गुरुयोजना निर्धारण गरेको छ । एकीकृत नगर गुरु योजना निर्माण सम्बन्धी दीर्घकालिन सोच निर्धारण तथा रणनैतिक योजना तर्जुमा गोष्ठीबाट गुरुयोजना पारित गरेको हो ।

    बिहीबार सम्पन्न सो योजना तर्जुमा गोष्ठीले मेलम्ची नगर समृद्विको आधार कृषि, पर्यटन, उद्योग र जलाधार भन्ने दृष्टिकोण समेत पारित गरेको छ । रणनैतिक योजना निर्माण कार्यक्रममा अतिथि ३ प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यपत्र प्रस्तुतका क्रममा सामजिक विकास मन्त्री युवराज दुलालले वि।सं। २०९० सम्ममा स्वच्छ, सुन्दर र समृद्ध मेलम्ची नगरपालिका निर्माण गर्न सकिने धारणा राखे । । जसको लागि वातावरणीय स्वच्छता कायम राख्दै, प्राकृतिक सुन्दरताको संरक्षण र विकास गर्दै प्राथमिक क्रममा कृषि, उद्योग, पर्यटन र जलाधारको माध्यामबाट रोजगारी श्रृजना र उत्पादन बृद्धिमा जोड दिईनुपर्ने उनको भनाई थियो ।

    ‘अबको युगमा समाजवादी शासन प्रणालीको अभ्यास गर्दै तीव्र गतिमा समतामूलक आर्थिक विकासको वातावरण निर्माण गरि नगरपालिकाको भू–बनोट र हावापानीका आधारमा उपलब्ध प्राकृतिक श्रोत र साधनको दिगो र अधिकतम सदुपयोग गर्नुपर्छ’, कार्यपत्र प्रस्तुत गर्दै मन्त्री दुलालले भने । उनले कार्यपत्रमा लक्ष्य निर्धारण गरिए अनुसार कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने, कृषि तथा पशुपालनको क्षेत्रमा दक्ष युवा जनशक्ति आकर्षित गर्ने, जलाधार क्षेत्रको संरक्षण गरि दिगो उपभोग गर्ने, इन्द्रावती र मेलम्ची नदी किनारामा करिडोर निर्माण गरि जमिन संंरक्षण र उकास गर्ने जोड दिए । त्यस्तै इन्द्रावतीमा चेक ड्याम बनाइ ढुंगा, गिट्टी, बालुवा तथा दहत्तरबहत्तरको सुरक्षा र उपभोग गर्ने, नदी किनाराका संरक्षीत जग्गालाई एकीकरण गरि विभिन्न उद्योगको स्थापना र विस्तार गर्ने पर्यटकीय पूर्वाधारको विकास गरि आन्तरिक र बाह्य पर्यटनको अभिबृद्धि गर्न सकिने उनको कार्यपत्रमा उल्लेख छ ।

    जीवन निर्वाहमुखि कृषिलाई व्यवसायिकीकरण गर्ने, कृषिजन्य तथा पशुजन्य उपभोग्य बस्तुमा आत्मनिर्भर हुने, पर्यटन प्रबर्धन मार्फत रोजगारी र आम्दानी बृद्धि गर्ने जस्ता विषय कार्यपत्रमा समेटिएको छ । त्यस्तै उद्योगको स्थापना गरि रोजगारी र आर्थिक समृद्धि हाासिल गर्ने, कृषि, पर्यटन, उद्योगमा नागरिक लगानि र लाभ साझेदारीको सुनिश्चितता गर्ने, प्रत्येक नागरिकलाई उद्यम यारोजगारको अवसर सुनिश्चित गर्ने, प्रतिव्यक्ति आम्दानी राष्ट्रिय औसत सरह वा सो भन्दा माथि र्पुयाउने र समाजवादी शासन ब्यबस्थाको नमूना विकास गर्ने, बृहत् मेलम्ची निर्माणको आधार तयार गर्ने कार्यपत्रमा उल्लेख गरिएको छ ।

    सो गोष्ठीमा सामाजिक अभियान्ता बालकृष्ण देउजा तथा व्यवसायी शिवराम श्रेष्ठले समेत कार्यपत्र प्रस्तुत गरेका थिए । नगर प्रमुख डम्बरबहादुर अर्यालको सभापतित्वमा भएको उक्त कार्यक्रममा ३ नं। प्रदेश सांसद इन्द्रमाया गुरुङ, नेकपाका जिल्ला नेता झम्क नेपाल, वडाका अध्यक्ष तथा सदस्य, कार्यपालिकाका सदस्य, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो ।

    मेलम्ची नगरपालिकाले रणनैतिक तर्जुमाको लागि पहिलो दिन विभिन्न समूह विभाजन गरेर छलफल गरिएको मेलम्ची नगरपालिकाका नासु राजेन्द्र दुलालले जानकारी दिए । १५ वर्षे रणनैतिक योजनाको छलफलमा विभिन्न उपसमितिहरु वन, वातावरण आर्थिक, कृषि, संस्थागत तथा क्षमता विकास, पर्यटन विकास, स्रोत परिचालन र पूर्वाधार विकास लगाएत समितिहरु निर्माण गरिएको उनले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस