जब आगो बल्यो, अनि सडक तात्यो
त्यति नै बेला न्यायले अग्लो पहाडबाट
हामफालेर सुसाइट गर्यो
अनि सुरु भयो–योनीमा राजनीति
एकादेशको सरकारको
नयाँ युगले गर्भधारण गरेलगत्तै
एउटा फूल निमोठियो, कोपिला चुँडियो
कोमल अस्मिता च्यतियो
र, त अहिले
ढुंगालाई फूल देख्न थालेकाछन्– उनीहरु ।
उनीहरु अर्थात्
यज्ञराज पन्त–दुर्गादेवी पन्त ।
उनीहरुकै कुटीको आँगनैमा फूलेको छ– तुलसी
छुन सक्दैनन् –उनीहरु
टिप्न सक्दैनन् –उखेलेर फ्याँक्न सक्दैनन्
त्यो तुलसी छोरी निर्मलाको अन्तिम नासो हो
उसैलाई छोरी देख्छन् –उनीहरु
उसैले रोपेकी थिई–तुलसी
तर, फुल्न नपाउँदै ऊ आफै निमोठिई
त्यसैले, अचेल ढुंगालाई फूल देख्छन्– उनीहरु ।
जसरी महाकवि देवकोटाले
शब्दलाई देखेका थिए
दृष्यलाई सुनेका थिए
वासनालाई स्वाद लिएका थिए
ठीक अहिले उस्तै जीवन बाँच्छन् –उनीहरु ।
च्यातिएको अस्मिताका लागि
न्यायको भिख माग्दा
पला–पला पीडाको पहाड अग्लिन्छ
चोटको गहिराई बढ्छ
एउटै आवाजमा भन्छन् –उनीहरु
प्रमाण नष्ट गर्ने–यही सरकार
अपराध ढाकछोप गर्ने–यही सरकार
योनीमा राजनीति गर्ने–यही सरकार ।
रुँदारुँदा नसा चड्किसक्यो
मुटु ढुंगा भइसक्यो
आगो बलेकै छ–सडक तातेकै छ
ए सरकार
न्यायलाई अग्लो पहाडबाट घचेडेर
भन किन गर्यौं
कोमल योनीमा राजनीति ?
000
प्रतिक्रिया दिनुहोस