नेपालीमा एउटा उखान छ– ‘झिंगाले सरापेर डिंगा मर्दैन तर त्यही झिंगा हात्तीको सुँडभित्र पस्न पायो भने खैलाबैला मच्याउँछ ।’ यतिखेर नेपाली राजनीतिको पटाङ्गीनीमा यस्तै दृश्यहरु छत्ताछुल्ल हुन खोजिरहेको छ । हुन त सबलाई थाहा छ जबसम्म लक्ष्यलाई बिर्सिन्न, सपनाहरु बिर्सिइन्न, संकल्प र अठोट मर्न दिइन्न, सुन्दर विचार र चेतना वा सत्यको दर्शन मर्दैन, तबसम्म कसैले सरापेर मरिन्न । खराब नियत र कुरुप आदर्शले नजित्दासम्म कसैले धारेहात लगाएर हराउन सक्दैन । त्यतिखेर मरिन्छ जतिखेर आदर्श र सपनाको मृत्यु हुन्छ । कसैको अवसान हुनु भनेको विचारको अवसान हुनु हो । गन्तव्यपथ बिराएर भीरपहराको वा पतनको बाटो रोजियो भने झिंगाले सराप्नै पर्दैन, आफैँ सिद्धिन्छ । काल आफैँभित्र छ, त्यो काल भन्नु नै संकल्पको मृत्यु हुनु हो । सपना, आदर्श र संकल्पको मृत्युको भयो भने झिंगा पनि यमराज बन्न सक्छ ।
दुई सय ४० वर्षदेखि जरा गाडेर बसेको सामन्तवाद, त्यसले थोपरेको दासता, उत्पीडन र शोषणको जाँतोको पिसाइबाट जनता उन्मुक्त भएका छन् । जीवन, आशा, प्रेम र सत्य स्थापित हुने कुरामा जनता ढुक्क छन् । वर्गीय शोषण, जातीय शोषण र दासताको जञ्जिरहरु चुँडालेको महशुस गरिरहेका जनता एकाएक निराश हुनुपर्ने अवस्थामा पनि छन् । एकातिर मुलुकको भाग्य र भविष्यको सुनौलो बिहान जन्मिन खोजिरहेको छ भने अर्कोतिर व्यक्तिगत नाफा, तुच्छ र निकृष्ट स्वार्थ, नाफाको दुनियाँ र जनतालाई कैदी बनाउने मानसिकता बोक्ने पश्चगामी र यथास्थितिवादीहरु देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् । कुमालकोटीले गर्ने गनगन, डाँडाकाँडामा हुने स्यालको रुवाई र हुँटीट्याउले आकाश थामेझैँ होहल्ला गर्ने केही भीड र जत्थाहरु फेरि युद्धका लागि लल्कारीरहेका जनतालाई ।
डुकुलण्ठक मूर्ख सामन्तहरुले छाडेको पछौटे चेतनालाई बटुल्दै विवेकहीन स्वरहरु उरालिरहेका छन् । पीडामा छटपटिएर जलिरहेका छन् । आफु गर्न पनि सक्दैनन् र अरुलाई गर्न दिने कल्पनासम्म पनि गर्दैनन् । नेपाली राजनीतिभित्र देखिएको कस्तो बज्रस्वाँठहरु । जनताले दिएको सौर्य, बल र विचारबाट प्राप्त सत्ता त्यही जनभावना विपरीत दुरुपयोग गर्ने दुस्साहसले जनमनहरु कति कँुडिएका होलान् ? तिनलाई यसप्रति रक्तिभर चिन्ता छैन । ‘पाएका छौ छोड्न हुँदैन’ भन्ने दरिद्र मानसिकतामा कहिले पलाउँला बुद्धि ? अरुले पाइसकेको चिजलाई मेरै हो भनेर बस्ने धृष्टता राजनीति हो ? राजनीतिमा सबै कुरा जायज मात्रै हुन्छ भनेर जनताको आदेशको खिल्ली उडाउँदा भोग्नुपर्ने परिणामको ख्याल नगर्नेहरुले के राजनीति र प्रजातन्त्रको दुहाइ दिन्छन् ?
याद राख्नैपर्ने कुरा आजसम्म कहिल्यै जनताले हारेका छैनन् । पीडा, दुःख र कष्ट भोगे अन्ततः आफ्नो जित सुनिश्चित पनि गरेका छन् । राजनीतिमा जनताको ढुकढुकी र जीवन स्पन्दन बन्न नसक्ने हो भने कुनै पनि राजनीतिक दल अस्तित्वमा रहन सक्ने छैन । नेपाली जनता हारहरुबाट, ठेसहरुबाट, तापहरुबाट र पिटाईहरुबाट खारिईसकेका छन्, स्पात बनिसकेका छन् भन्ने जान्दाजान्दै तिनको अवमूल्यन गर्नु भनेको क्षमायोग्य विषय चाहीँ होइन । मुक्ति खोजिरहेका जनता सजीव, सम्मुनत र स्वतन्त्र जीवन, समृद्धशाली देश निर्माण गरेर बाँच्न चाहन्छन् । देश खोक्रो र गरीब थिएन तर बनाइयो । प्राकृतिक सम्पदाको हिसाबले हामी सबैभन्दा धनी छौ । जल, जमिन, जङ्गल, जडिबुटी र मुख्यतः कर्मशिल जनशक्तिमा हामी असाध्यै धनी छौँ । भएका चिजहरुको सही सदुपयोग हुनसक्ने हो भने छोटो अवधिमा नै चमत्कारिक विकास हुनसक्छ । हिमाल, पहाड र तराईको अद्भूत भौगोलिक, जैविक र पर्यावरणीय विविधतालाई विकसित विज्ञान र प्रविधिको सही संयोजन गर्दै एकीकृत विकास गर्ने हो भने छोटो समयमा नै राष्ट्र सम्मुन्नत बन्न सक्छ ।
इतिहासमा हामी कहिल्यै पुछारमा थिएनौ चाहे त्यो राष्ट्रियता जोगाउने सन्दर्भमा होस् चाहे चेतनास्तरको सवालमा । तर राजनीतिमा देखिएको पछौटेपन, नेताहरुमा उब्जेको भोगविलास र व्यक्तिवादी चिन्तन, आन्तरिक आर्थिक, सामाजिक व्यवस्था र राज्यप्रणाली र वैदेशिक सम्बन्धमा रहेको विसंगतिका कारण देश पछाडि परेको हो । आन्तरिक रुपमा सामन्तवाद, राजनैतिक रुपमा होस् वा उत्पादन प्रणालीको रुपमा, विकराल रुपमा जकडिएको लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय उत्पीडन, जसको कारण बहुसंख्यक जनता, श्रमजीवी, किसान, मजदुर र बेरोजगार हुनुको पीडा चरम गरीबी, भोक, रोग र अशिक्षाबाट ग्रस्त समाज, आधुनिक सेवा सुविधाबाट वञ्चित मध्ययुगिन अवस्थाको कारक तत्व भन्नु नै एकात्मक र केन्द्रीकृत राज्यसत्ता हो ।
बाह्य रुपमा नेपाली जनतालाई थिच्ने काममा वैदेशिक साम्राज्यवादी शोषण र उत्पीडन हो । सुगौली सन्धिदेखि अर्धऔपनिवेशिक साङ्लोमा बाँधेर असमान सन्धी र सम्झौता गर्दै सार्वभौमसत्तामाथि धावा बोल्न विस्तारवादलाई प्रतिनिधिको रुपमा उभ्याइएको छ । यही प्रक्रिया भारतीय एकाधिकार पूँजीवादको रुपमा देखिनु, प्राकृतिक स्रोत र साधनमाथि विदेशी एकाधिकार र व्यापार घाटा र ऋणको बोंझ । लाखौँ यूवा युवा बेरोजगार भएर विदेशिनु पर्ने बाध्यता, बौद्धिक पलायनको डरलाग्दो अवस्था, पराधिन र परनिर्भर मानसिकता, कमिशनतन्त्र र भ्रष्टाचारको जालोले बेरिएको अर्थ क्षेत्र र त्यसैको आडमा फस्टाएको भूँईफुट्टावर्ग दलाल तथा नोकरशाह पूँजीपतिवर्गले हालीमुली चलाएको बिग्रदो अवस्था र राज्यसत्तामाथि तिनीहरुको नियन्त्रणका कारण राष्ट्र विकराल दुर्दशा भोग्दैछ । सामन्तवादको अवसान नवसामन्तहरुको उदय, साम्राज्यवादको पहाडलाई छिचोल्नुपर्ने र नवनेपाल निर्माण गर्न वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, धार्मिक, सांस्कृतिक उत्पीडनलाई अन्त्य गरी जनमुखी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ढाँचामा रुपान्तरण गर्नुपर्ने प्रमुख कार्यभारलाई ग्रहण गर्न नयाँ चेतना र त्याग गर्ने हिम्मत चाहिन्छ नै । साथै राष्ट्रियता र गणतन्त्र नेपाली जनताको अभिभाज्य पहलुलाई जोगाउने हिम्मत नगर्ने तर उपेक्षा गर्ने दृष्टिकोणलाई अन्त्य नगरेसम्म विद्यमान समस्याहरुको हल गर्न सकिदैन भन्ने कटु यथार्थलाई भुलेर सत्तामा हालीमुहाली गरी जनताको ध्येय र आकाङ्क्षामाथि कुठाराघात गर्ने प्रवृत्तिको अन्त्य हुनुको सट्टा लोलुपता अझैं बढाउने र संक्रमणको फाइदा उठाउन उद्दत दल र तिनका कार्यकर्ताहरु सिघ्र पतनको मरणासन्नमा छटपटीमा रमाउन खोजेको घटनाक्रमहरुले अवगत गराउँछ नै ।
शब्दको भर्याङ चढ्दै गरेको गणतन्त्रमाथि खेलवाड गर्ने, राजनीतिक शून्यता बढाईदिने, कुत्सित् चिन्तनको अन्त्य गर्न अब फेरि आन्दोलनको आँधीबेहरी सृष्टि गर्नुपर्ने देखिन्छ । सबैले मनन् गरेका कुराहरु हुन् गोलीले फल वर्षाउँदैन, बम र बारुदका थुप्रोमा संगीतका मधुरिमा जन्मिदैन भन्ने आदर्शलाई व्यवहारमा पुष्टि गर्नु त कता हो कता पुनः विद्वेष र भ्रम फैलाउँदै उत्तेजित बनाउने कसरत गरिरहेका छन् । अब यी धृष्टतालाई चिर्दै वैचारिक युद्ध र शान्तिपूर्ण अन्तिम लडाइँको लागि जनता तयार हुनुपर्दछ । अब देशले शान्तिलाई महत्वपूर्ण अङ्गको रुपमा स्वीकार्न आव्हान गरिरहेको छ । जनता सपनाका सुन्दर महल खडा गर्न पाउने कुरामा ढुक्क छन् तर नेताहरु तिरस्कारपूर्ण अभिव्यक्ति दिन हौसिएका छन् । सहमति, सहकार्य जस्ता विषयहरु जो आजको प्रथम विषयवस्तु हो, जसलाई निर्वाचन परिणामले आदेश मार्फत् दिइसकेका छन्, तिनलाई स्वीकार्नुको सट्टा सत्तोसराप गरेर शाब्दिक भ्रम फैलाउने र आफैले तय गरेको समझदारीको विरुद्धमा हलो अड्काउने अभ्यास हुनुले अबको छिनाझप्टी भीषण हुने देखिन्छ ।
गणतन्त्रलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । त्यो पनि कडा ढुङ्गा, जसलाई दाँतले चपाउन सक्दैन र पेटले पचाउन पनि सक्दैन, त्यस्तो विषमपूर्ण अवस्था र गणतन्त्रप्रति भएको हेयभावले के संकेत देला ? के देशमा त्यस्ता नेताहरु छैनन् जसले रगतको होलीबाट प्राप्त अधिकारको रक्षा, विकास र समृद्धिको लागि सोच्ने गरोस् ? के यो साँच्चै सतीले सरापेको देश हो ? जनता भन्छन् जसरी हुन्छ बाधा अड्चन फुकाउने हिम्मत गर, अन्यथा जनविद्रोहको सामना गर्न तयार होऊ ।
२०७५ असोज १५ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस