२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नगरोस् कोही प्रेम

  • २०७५ आश्विन १५, सोमबार मा प्रकाशित ६ साल अघि
    • अमित घिमिरे

    एघार वर्ष लागेछ– यी एघार बर्षमा २१ पात्रहरुसंग सानिध्य भएँ । कोहीसंग लामो सामिप्यता त कोहीसंग घण्टाभरको । उनलाई शुक्रबार महांकाल गाविसको ग्यालथुम खोला किनारमा भेटेको ।

    एकोहोरो वोल्छिन् हिन्दी । कसैसंग माग्दिनन् । फोहोरमा खोज्छिन । भूगोल कुन हो ? नामथर बतन के हो ? किन यसरी हिँडिरहेकी छिन् ? अथक प्रयास गर्छु अपितु उनको बारेका केही खुल्दैन । कसैलाई थाहा छैन उनको बारेमा ।

    त्यस दिन म बगरमा जीवन खोजिरहेको थिएँ । त्यसो त बगरको परिभाषामा जीवनको कत्तिको शाब्दिकता हुन्छ– जान्दिन । अपितु आम देखाईमा बगर पाखा लागेका झिँझा, किनार लागेका, अस्तु नभएका लाशका अवशेषहरु एकत्र गर्ने थलो हो । म पनि यही देख्छु तर जीवनसहित ।

    म, बगर पाखा लागेका झिँझा, किनार लागेका, अस्तु नभएका लाशका अवशेषहरुको मौनता । यदाकदा माथिल्लो किनारमा फाट्ट फुट्ट आउने सवारी साधन अनि एकनास सुर्साई रहने खोलो । घण्टौं बितिसकेको थियो । केही चलेको आवाजले मेरो ध्यान खिच्यो । एउटा बनमान्छे मानकमा ऊ फुत्त देखापरी ।

    तरायन चेहेरा । शायद जीवन प्रकट भएको हो । मेरो ज्ञान र चेतनाका लागि । ऊ– उसको उमेर, हालत देखेर मैले “कैली“लाई सम्झिएँ ।“ कैली“ भन्थी “तपाईको प्रेममा म एक दिन पगली हुनेछु र हातमा चप्पल लिएर, झाँक्रो फिँजाएर हिँड्ने छु“ ।

    यो पगली पनि मायाका नाममा पागली भएकी होली । बगर छाडेर म उसको पछि लागें– उसलाई पढ्न । उसको मायालाई पढ्न ।

    लेखक

    पढ्न नसकेको उनको कथाले यसै पनि उदिग्न बनाउँछ । आखिर कस्तो दर्द उनको छातीमा छ ? एउटा तामासा बन्न मञ्जूर भयो उनलाई किन ? खोलाका किनार–किनार दौडिएर पनि उनले हाम फालिनन्, कुनै टिप्पर र गाडिको चक्का मुनी ढुनमुनिनन् किन ? यो रमिता प्रतिकात्म लाग्छ मलाई ।

    उनलाई जीवन मोह छ र उनले जीवन लीला समाप्त पारिनन् पक्कै हैन, मलाई लाग्छ प्रतिकात्मक उनको यो प्रस्तुति प्रेम–तपडको बिम्ब हो । धोकाको घातको र अनि कथित आफ्नाहरुको पीठमा धसिएको छूराको आलो घाउको प्रतिप्रारुप हो ।

    कुनै उफ् ! अहा ! उनको चेहेरामा छैन । कस्तो अद्भुत शान्ति छ । उनी शान्त छिन् र म तड्पमा छु । यद्यपी मेरो कोही हैनन् उनी । म घण्टौं उनको बेसिलसिलेवार क्रियाकलाप नियाल्छु, मुहारको भंगीमा अनुभूत गर्ने यत्न गर्छु

    माया नै यी सब बस्तुस्थितिको कारण हो भने नगरोस् कोही प्रेम ।

    अपवादबाहेक अहिलेको माया मैलो छ । स्वाङ र नाटक बढी छ । झन् सामाजिक सञ्जाल भित्रेपछि माया त केवल छल हो । पाँचरसात वटा स्वरुप र रुप हुने गर्छ । समर्पण हैन स्वार्थ छ । कुनै होटल लज रेष्टुँराको तन्ना भिजाएपछि माया सकिन्छ ।

    तर हे पगली तिमीले सच्चा माया गर्यौ र मायाले लुट्यो– नगरोस् कोही प्रेम ।

    २०७५ असोज १५ गते प्रकाशित

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस