२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘दशैंपछि नयाँ सरकारको अनुभूति हुन्छ’ मन्त्री दुलाल

  • २०७५ आश्विन १४, आईतबार मा प्रकाशित ६ साल अघि
  • सुन्दर शिरीष,
    १३ असोज २०७५, सिन्धुपाल्चोक ।

    प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले दशैंपछि नागरिकले नयाँ सरकारको अनुभूति पाउने बताए ।

    चौतारा साँगाचोकगढी नगरपालिका– ७ मा रहेको मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री दुलालले सरकारले दशैंपछि विकासको खाकासहित कार्ययोजना ल्याउने हुँदा नागरिकहरुले प्रत्यक्ष नयाँ सरकारको अनुभूति गर्न पाउने बताए । ‘कार्ययोजना आएपछि प्रदेश सरकारलाई काम गर्न बाटो खुल्छ’ मन्त्री दुलालले भने– ‘त्यसपछि नागरिकले प्रत्यक्ष अनुभूति हुने गरी विकासको आयोजना सुरु हुन्छ ।’ यस अघि सरकारले कार्ययोजना ल्याउन नसक्दा भनेजस्तो काम गर्न नसकिएको उनले बताए ।

    कम्युनिष्टको सरकार छ भन्दै घमण्ड गरेर बस्ने समय नरहेको भन्दै दुलालले काम गरेर नागरिकको मन जित्नुपर्ने बताए । प्रदेशले विकासका विभिन्न खाका तयार पारिसकेको उल्लेख गदै उनले नकारात्मक सोचाईले विकास नहुने बताए । ‘गलत कामको सबैले खबरदारी गरौं’, दुलालले भने– ‘मैले सिन्धुपाल्चोकको प्रशासन प्रमुखलाई भनिसकेको छु, गलत कार्यलाई प्रसय नदिई तत्काल कारबाहि गर्नुस् ।’ कुनै पनि कार्यको नागरिकले निगरानी र खबरदारी गर्नुपर्ने उनको भनाई थियो ।

    ‘मन्त्री, पालिका प्रमुख, वडाप्रमुखले के काम गरिरहेका छन् त्यसको निगरानी अब जनताले गर्नुपर्छ’, उनले भने– ‘आफुले जिताएको व्यक्तिले कस्तो काम गरिरहेको छ सबै थाहा पाउनुपर्छ ।’ तीन तहको सरकार हुँदा पनि नागरिकले सेवा सुविधा पाउन सकेनन् भने हामी जत्तिको अभागि कोहि नहुने मन्त्री दुलालले बताए ।

    सहकारीले स्थापनाकालदेखिनै जनमुखी काम गरेको भन्दै दुलालले विकास र समृद्धिको दिशातिर सहकारी उन्मूख हुनुपर्ने धारणा राखे । ‘सहकारीको सफलताको मापन पूँजिसँगमात्रै जोडिदैन सदस्यहरुको खुसी, सन्तुष्टी, सेवा, सम्बन्धसँग पनि जोडिन्छ’, मन्त्री दुलालले भने –‘त्यसैले सहकारीले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्ने काम गर्नुपर्छ ।’ आफ्नो कार्यक्षेत्रभित्र शेयर सदस्य बढाउन र समाजमा आर्थिक समानता निर्माण गर्न उनले सहकारीलाई आग्रह गरे ।

    सहकारी आठ वर्ष अघि ९ लाख ७५ हजार पूँजि संकलन गरी सुरु गरिएको थियो । अहिले सहकारीले शेयर पूँजि वापत ९० लाख ५४ हजार ५ सय रुपैंया दाखिला गरेको जनाएको छ । यो गतवर्षको तुलनामा ३ दशमलव ५० प्रतिशतले बढेको हो । सहकारीमा हाल ४ सय ८२ सदस्य रहेका छन् ।

    साधारणसभामा सहकारीका अध्यक्ष बालकृष्ण लामिछानेले कार्यपयोजना सहित आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा अगामी वर्षसम्म शेयर पूँजिलाई बृद्धि गरी १ करोड ५० लाख पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तै चालु आर्थिक वर्षमा स्वरोजगार हुन चाहने युवाहरुको समूहलाई २ देखि १० लाखसम्म व्यवसाय धितोमा कर्जा उपलब्ध गराउने, सदस्यहरुको दुर्घटना बीमा गराईनेलगायतको नीति लिएको छ ।

    कार्यक्रममा सहकारीका कोषाध्यक्ष कमलप्रसाद दुलालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा खाता सञ्चालनमा बृद्धि गरिएको, निक्षेप दायित्वमा बृद्धि गरिएको, ऋण लगानीमा परिवर्तन गरिएको जनाईएको छ ।

    सहकारीले कार्यक्रमकै बीच उत्कृष्ठ ऋणी, उत्कृष्ठ वचतकर्ता र एसईई परीक्षामा एप्लस भन्दा माथी ल्याउन सफल शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ । उत्कृष्ठ ऋणी घनश्याम श्रेष्ठ, उत्कृष्ठ वचतकर्ता धनमाया रानामगर र एसईई परीक्षामा एप्लस भन्दा माथी ल्याउन सफल सर्मिला दुलाल, निसा घिमिरे, अस्मिता आचार्य, सुसन श्रेष्ठलाई सहकारीले सम्मान गरेको हो ।

    साधारणसभालाई जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनी, चौतारा साँगाचोकगढी नगरपालिका– ७ का वडाध्यक्ष उमाप्रसाद दुलालले शुभकामना प्रदान गरेका थिए । सहकारीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि एवम् अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस