खबरज्योति,
१ असोज २०७५, सिन्धुपाल्चोक ।
अवैध रुपमा नदी दोहन गर्नेहरुबाट यो आर्थिक वर्षमा ३८ लाख ५२ हजार ५० रुपैंया राजश्व सङ्कलन भएको छ ।
असारदेखि भदौ महिनासम्म नदीबाट गिटी बालुवा निकासी गर्न नपाइने नीति छ । सो नीतिको उल्लङ्घन गर्नेहरुलाई प्रहरीको सहायतामा पक्राउ गरी कारबाही समेत गरिएको छ ।
हालसम्म ३६ ट्रिपर, १८ मिनिट्रक, १३ स्काभेटर, २ डोजर, १२ ट्याक्टर, १ जेसिभी नियन्त्रणमा दिएर कार्बाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै १ ट्याक्टर, २ स्काभेटर र २ मिनिट्रिपर कारबाहीको क्रममा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीनै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । आरोप पुष्टि भए कडा कार्बाही गरिने उनले बताए ।
‘प्रहरी राष्ट्रको सेवक हुन्, उनीहरु नागरिकप्रति उत्तरदायी हुनैपर्छ’, प्रहरी प्रमुख मरासिनीले भने– ‘प्रहरीले तस्करसँग मिलेर काम गरेको पाईए तुरुन्त कारबाही हुन्छ ।’ उनले तस्करहरुलाई प्रहरीले सजिलै उन्मूक्ति नदिने पनि दावी गरे ।
२ महिनाको अवधिमा ३८ लाख ५२ हजार ५० रुपैंया राजश्व जिल्ला समन्वय समितिको खातामा सङ्कलन भएपनि खाता भने बन्द रहेको छ । प्रदेश सरकारले खाता सञ्चालनको लागि नयाँ कार्यविधि नबनाएका कारण सो रकम सञ्चालन गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले बताए ।
सरकारले वर्खाको तीन महिना नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्न नपाईने भने पनि जिल्लाका अधिकांश नदीहरुमा यही बेला तस्करहरुले अवैध रुपमा दोहन गर्ने गरेका छन् । उनीहरुले नदीको स्वरुपनै परिवर्तन हुनेगरी बर्खाको समयमा नदी दोहन गरेका छन् । जसले गर्दा जिल्लाका नदी आसपासका कयौं बस्ती, पुल समेत जोखिममा परेका छन् । खेतियोग्य जमिनमा सिञ्चाईका समस्याका कारण नदी आसपासका कृषकहरुले खेतीनै गर्न नपाएको समेत गुनासो गरेका छन् ।
सरकारले तोकेको तीन महिना आजबाट पूरा भएको छ । अजबाट नदी खुलाउनु पर्ने भएतापनि अनुगमन समतिको बैठक बस्न नसक्दा कहिले खुल्ने हो तय हुन सकेको छैन । ‘बैठक बस्न नसकेका कारण असोज १ गतेबाटै नदी खुलाउन सकिएको छैन’, जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले भने– ‘तत्काल बैठक बसेर यो समस्या समाधान गछौं ।’ उनका उनुसार आज अनुगमन समितिको बैठक बस्नेछ । बैठकले असोज ५ गतेबाट नदी खुलाउन सक्ने सम्भावना रहेको छ ।
यता असोज १ गते बाट नदी खुला नगरेको भन्दै क्रसर व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । नदी तत्काल खुलाउन स्थानीय तहले पहल गर्नुपर्ने सिन्धुपाल्चोक क्रसर व्यवसायी संघका अध्यक्ष किरण थापाले बताए । ‘पालिकाले टेण्डर आह्वान गरिसकेको छ तर नदी खुलेन भने हामीले कसरी घाटा पूर्ति गर्ने ?’, उनले भने– ‘स्थानीय तहलाई पनि नदी नखोल्दा राजश्वमा घाटा लाग्छ त्यसैले सबैको हितको लागि नदी तत्काल खोल्न आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस