राजनीतिको र नजान्दै कलिलो उमेरमा राजनीति गर्न पूर्ण कालीन भएकी म दोलखाको लाँकुरी डाँडा स्थित डम्बर थामी बाको घरमा सेल्टर लिन पुगेँ । मसँग क. ज्वाला, क. क्षितिज, क. राम्जी र क. हिमाल हुनुहुन्थ्यो । भूमिगत हुनुको उद्देश्य के हो ? भूमिगत कार्यशैली कस्तो हुन्छ ज्ञान थिएन । हिँड्दा हिँड्दा थाकेर बल्ल सेल्टरमा पुग्दा निकै आनन्द आएको हुँदो हो मलाई, त्यसैले हतार हतार डम्बर बाको सानो ननिहुरिए टाउको जोगाउन मुश्किल पर्ने घर भित्र छिरें । दाईहरुले गरे जस्तै घरभेटीलाई नमस्कार पनि गरे ।
बाले हामीलाई गहुँको छावली माथि बस्ने ठाउँ बनाईदिनु भयो । उहाँहरु मध्येमा सबैधन्दा सानी म उमेरका हिसाबले पनि र राजनीति ज्ञानको हिसाबले पनि । थकाई कति लागेको थियो भोक कस्तो थियो पत्तै नपाइकन बसेकै ठाउँमा निदाएछु । दाजुहरु भने बासँग गफ गरीरहेका थिए सायद् ।
छोरी ! ए छोरी उठ त् । आमाले घचघच्याउदै उठाउनु भयो । अनि हेर सानै रहिछन्, कति बर्षकी भयौ ? कसरी सक्नु भूमिगत हुन । यो त निकै कठिन काम पो हो त नानी । बा आमा छन् की छैनन् सम्झेर कति रुँदा हुन् नी बरै, आमाले तपक्क आँशु झारिन् । मेरो मन त्यति कमलो रहेनछ सायद, म रोइन । उनले मकैको ढिडो र मासुको तिहुन मेरा अगाडि राख्दै भनिन्, ‘तिमिहरु आउने कुरा थाहा पाएर अलिकति भैसिको मासु ल्याएका थियौ हिजै । खाउ भोकायौ होला नि कठै, ओठ निचोर्दा दुध आउला जस्तो छौ । कसरि सकौली ।’
अब म के गर्ने के नगर्ने अलपत्र परे त्यस दिनसम्म मेरो मुखमा मासु भन्ने जात परेकै थिएन । नभनिकन दिएको भएता अलिअलि खाने थिए होला अब कसरी खाउ । त्यहाँ मध्येमा क. राम्जी मेरो परिवारको नजीकको नातेदार, उहाँलाई पृष्ठभूमि थाहा भएकोले भागमा हेर्नु भयो अनि मलाई हेर्दै भन्न्ुभयो, ‘हेर्नुस कमरेड सबै कुरा नखाएता कम्युनिष्ट होइदैन खानु पर्छ । खानुस् । फेरि बा आमाले त्यति धेरै मायाँ गरेर दिएको कुरा फाल्दा उहाहरुको चित्त दुख्छ । हामीले कसैको पनि चित्त दुखाउनु हुँदैन अनि पेट भोको पनि त राख्न भएन हिजो बिहानदेखि केहि खान पाएका छैनौं, जहाँ जे पाइन्छ तेहि खानु पर्छ । सबै कुरा पचाउन सक्नु पर्छ अनि पो कम्युनिष्ट होइन्छ ।’
म कम्युनिष्ट हुनका लागि स्कुल पढ्दा पढ्दै भूमिगत भएकि भर्खरै । हजुरबादेखिनै हाम्रो परिवार बैष्णव धर्म मान्ने भएकोले हामी सबै वैष्णव थियौ । म अलि छुट्टै थिए सबैले छोएको खानुपर्छ मान्छे मान्छे बीचमा भेदभाव गर्नु हुँदैन भन्ने भावना थियो । तर माछामासु भने खाएकी थिइन । यो परीक्षामा पास नभई फेरि कम्युनिष्ट नहुने डरले दर्विलो मुटु पारेर ढिडो भित्र मासुको टुक्रा लुकाएर निस्तो ढिडो खाएँ, तर झोल भने खान सकिन । त्यहाँ मेरा बारेमा खुब कुरा भयो । डम्बर बाले मलाई केहि प्रश्न पनि सोध्नुभयो । धेरै कुराहरु सिकाउनुभयो ।
उहाँको घर पुरानो सेल्टर रहेछ २०२८ साल देखिको । उहाँले मेरो चप्पल बाहिरबाट बोकेर माथि ल्याइदिनु भएको रहेछ । भन्नुहुन्थ्यो, ‘नानी मैले यसैगरी क. अष्टलक्ष्मी शाक्यको चप्पल बोकेर ल्याएको थिए । उहाँलाई पनि धेरै कुराहरु सिकाएको थिए । धेरै छोरीहरु आए, गीत गाए । दुःख गरे, लडाइ गरे तर पछि केहि पनि पाएनन् । नेता त पुरुष नै पो भए । त्यसैले नेता बन्नु पर्छ है छोरी । नीति फेर्ने त नेताले हो, कार्यकर्ताको त के हिसाब हुन्छ र । त्यसैले चलाख हुनुपर्छ । सबै कुरा पचाउनु पर्छ अनि पो कम्युनिष्ट भइन्छ । नेता हुनुपर्छ अनि पो नीति फेर्न सकिन्छ ।’ उहाँको कुराले मेरो मन अलमलियो । अब कम्युनिष्ट हुने की नेता हुने ?
म एकोहोरो डम्बरबाको कुरा सुनिरहेको थिएँ, त्यहिँ निदाएछु । बाले सचेत गराउनुभयो, ‘हेर यसरी निदाउँदा त दुश्मन आएको थाहा नै पाइदैन नी । चलाख हुनुपर्छ, सचेत हुनुपर्छ, नत्र त बर्बाद हुन्छ नानी ।’ त्यहि उहाँले पिस्करको हत्याकाण्डका बारेमा पनि बताउनु भएको थियो । सबै त मैले दिमागमा घुसाउन सकिन । चलाख नभए त दुश्मनले मार्छ भन्नेकुरा चै मन्त्र झै जपिरहे । अनि उनले सरिता बोहोरा, पुर्णमाया थामी, मिरा थामी आदीको विरताको निकै चर्चा गरे । ‘खै कता हो कता नानी तिनीहरु ख्याल मज्जाका थिए मीठा कुरा गर्थे, जनतालाई मख्ख पार्ने कला थियो । आन्दोलन सकियो महिला पनि सकिए ।’ आज म डम्बरबाको कुरा सम्झेर झसङ्ग भएँ, आन्दोलन सकियो महिलाहरु पनि सकिए ।
खासमा मेरो जिल्लामा पनि त महिला कार्यकर्ता नभएको कहाँ हो र ? अन्दोलन ताका पूर्वको ओखलढुङ्गा, उदयपुर, खोटाङ, मतलव पूर्विव्यूरोमा सिन्धुपाल्चोकले महिलाको टीमनै पठाएको थियो । दोलखामा हामी दोलखा नै हाम्रो घर बताएर संगठन बनाएको अहिले झै लाग्छ । आन्दोलन ताका निकै छोरीहरु जन्मायो सिन्धुपाल्चोकले । निकै छोरीहरुको बलिदानी खेप्यो सिन्धुपाल्चोकले । दोलखाको बोत्लेमा मारिनेमा पनि सिन्धुपाल्चोककै छोरी धैरै थिए । उतिबेला हामी कम्युनिष्ट थियौं, हामीमा कुनै साँध सीमाना थिएन । कुनै पद र हैसिएतको लोभ लालचा थिएन ।
पार्टी खुल्ला भयो महिला कार्यकर्तालाई विस्तारै भूमिगत । पहिलो पटक विधायक खोज्दाकै बखत सिन्धुपाल्चोकका महिला कार्यकर्ताहरु हराइसकेका थिए । यो रोग अरु पार्टीमा पनि उस्तै हुनुले डम्बर बाको कुरो याद् आयो ‘नेता हुनु पर्छ, नीति फेर्न त कार्यकर्ताको के हिसाव हुन्छ र ।’ आखिर हो रहेछ । नेता हुन नसक्नु नै महिलाको कमजोरी रहेछ । त्यसैले पार्टीले सिला खोज्नु परेको थियो सायद् ।
अहिले पार्टी दक्षिण एशियाकै ठूलो बनेको छ । त्यो बच्चा जन्माउन मेरो पनि रगत पसिना बगेको छ । मलाई प्रश्न गर्नेहरुलाई जवाफ दिन्छु, ‘हामी जागीर खान गएका थिएनौं, जहाँ समय पुगेपछि पेन्सन पाकोस् । हामीले नयाँ कार्यको थालनी गरेका थियौं, आखिर सफल पनि भयौ । अहिले एउटै कम्युनिष्ट पार्टी बन्न सफल भयो हाम्रो प्रत्यक्ष लगानी छ यसमा । पार्टी एउटा कम्पनी होइन कि जहाँ हालेको शेयरबाट नाफाको बोनस हाता परोस् ।’
आहा ! गवैले छाती फुल्छ । हाम्रो पार्टी दक्षिण एशियाकै ठूलो । २ सय ४० बर्षे राजतन्त्र ढालियो, अब के चाहियो र हामीलाई । तर डम्बर बाले भनेझै नीति बनाउने ठाउँमा कतै काँहि महिलाको नाम निसानै हराउदा भने मेरो मन निकै अमिलियो । पाँच बर्षे जानीरका बखत निकै चर्चा चलेको थियो महिला सहभागीताको तर अहिले त्यति सारो सुन्नमा आएको पाइदैन । मैले अलि अघि पनि भनेकी थिएँ, त्यो जानीरमा लगाउन पार्टी भन्दा पनि श्रीमान कमरेडहरु लाग्नु भएको छ किनकी त्यो जानीरमा आफ्नी श्रीमति पार्न पाए पाँच बर्ष ढुक्कले घर चल्ने छ । नत्र आज खोइ त झण्डै सबै जिल्लाको नेतृत्व फाइनल भइसक्दा पनि कहि कतै महिला नेताको नाम आएको थाहा भएन । अनि बहस चलेको पनि पत्तै पाइएन । त्यो पनि पाँच बर्ष पछिको बार्गेनिङकै लाइनमा थियो भने दैब जानुन् ।
२०७५ भाद्र १८ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस