खबरज्योति,
२६ साउन २०७५, सिन्धुपाल्चोक ।
हेलम्बुलाई चिया पकेट क्षेत्र बनाइने भएको छ । जस अन्तर्गत गाउँपालिकाले ३१ हजार बिरुवा बितरण गरेको छ ।
हेलम्बु गाउँपालिकाको सात वडा मध्ये चार नम्बर वडाबाहेक सबै वडाहरुमा चिया उत्पादन गर्न सकिने प्राविधिक सर्वेक्षणले देखाए पछि गाउँपालिकाले ब्यावसायिक चिया खेतितर्फ चासो दिएको हो । कृषकहरुलाई आयआजर्नमा जोड्दै पालिकाको उत्पादकत्तो बढाउने उद्देश्यले पहिलो चरणमा वडा नम्बर १, २, ६ र ७ का तीन कृषि समूह र १३ कृषकहरुलाई निःशुल्क चियाको बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषिशाखा प्रमुख रमा कार्कीले खबरज्योतिलाई बताईन् ।
बिरुवा रोपेको चार वर्ष पछि पत्ता टिप्न योग्य हुने र वर्षमा एक पटक मात्र टिप्न मिल्ने छ । अर्थोडक्स अन्तर्गत तक्दा ७८ प्रजातिको यो चियाको एउटा बोटबाट एक वर्षमा एक देखि डेढ केजी हरीयो पत्ता टिप्न सकिन्छ । पाँच केजी हरीयो पत्तालाई प्रशोधन गरेपछि एक केजी तयारी चिया बन्दछ र एक केजी तयारी चियाको हाल बजार मूल्य २ हजारदेखि २ हजार ५ सयसम्म पर्छ । अन्तराष्ट्रिय बजारमा समेत यो चियाको माग हुने गरेको छ ।
१८ देखि २० डिग्री चिसो ठाउमा यो चिया उत्पादन हुने भएकाले हेलम्बु गाउँपालिका यो प्रजातिको चिया उत्पादनको लागि प्राविधिक दृष्टिले पनि उपयुक्त देखिएको हो ।
प्रतिक्रिया दिनुहोस