२०८२ बैशाख ३, बुधबार | Wed, 16, Apr, 2025

‘राष्ट्र सुल्टो यात्रामा हिँड्दैछ’, दुलाल

  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ६ साल अघि
  • बाल विकास महोत्सव सम्पन्न

    सुन्दर शिरीष,
    २१ साउन २०७५, सिन्धुपाल्चोक ।

    बालबालिकाको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ चौतारामा बालविकास महोत्सव गरिएको छ । महोत्सवलाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले राष्ट्र सुल्टो यात्रामा हिड्न सुरु गरेका बताए ।

    ‘अहिले राष्ट्र सुल्टो पाहिलातर्फ यात्रा सुरु गरेको छ’, सम्बोधनको क्रममा मन्त्री दुलालले भने– ‘सरकारले अहिले शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण क्षेत्रमा प्राथमिकताका साथ लगानी गरेको छ जसले राष्ट्रलाई समृद्धितर्फ लैजाने देखिएको छ ।’ हरेक राष्ट्रको भविश्य कस्तो बन्छ भन्नेमा शिक्षा र स्वास्थ्यमा गरिएको लगानीले महत्व राख्ने भन्दै राष्ट्र समृद्धतर्फ बढिरहेको उनले जनाए ।

    जसको लागि कार्यक्रम आयोजना गरिएको हो उनीहरुले कार्यक्रमबारे थाहा नपाएपनि भविश्यमा यसले गहिरो छाप पार्ने मन्त्री दुलालले जनाए । ‘यो सह्रायिन कार्यक्रमको रुपमा मैले लिएको छु’, उनले भने– ‘तर हामीले जसका लागि कार्यक्रम गरिरहेका छौं उनीहरुलाई यो कार्यक्रमको औचित्य थाहा छैन । तर भविश्यमा यसले गहिरो प्रभाव पार्ने निश्चित छ ।’

    सरकारले बालविकास कक्षादेखि १२ कक्षा सम्म अनिवार्य र निःशुल्क विद्यालय निर्माणको अवधारणा ल्याएको उल्लेख गर्दै मन्त्री दुलालले सबै विद्यालयमा अनिवार्य बालविकास केन्द्रको स्थापना गरी सहजकर्तालाई दरबन्दीको दायरामा ल्याईने योजना रहेको बताए ।

    फरक प्रसंगमा बोल्दै मन्त्री दुलालले संघीय राजधानीसँग सिन्धुपाल्चोक जिल्लालाई नजिक बनाउन पहल थालिएको बताए । उनका अनुसार देशको राजधानी काठमाण्डौसँग सिन्धुपाल्चोकलाई जोड्न छोटो दूरीको सडक निर्माण कार्य सुरु गरिने भएको छ । जुन मार्गबाट राजधानी ५० किलोमिटरमा पुग्न सकिने उनले बताए । उनले भने– ‘मैले दिने भनेको विकासको बाकस सबै क्षेत्रमा पठाउन सुरु गरिसकेको छु, तपाईंहरु ढुक्क हुनुहोस् ढिलोचाँडो आईपुग्छ ।’

    कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक दिनेशकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङ, सेभ द चिल्ड्रेन इन्टरनेशनलका पि.डि.क्यू.डाइरेक्टर जुली एलेन, जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ लगायतले बालबालिकाको विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुनसक्ने भन्दै आफ्ना राय प्रस्तुत गरेका थिए ।

    महोत्सवमा १३ नमूना बाल विकास केन्द्रको प्रदर्शनी स्टल राखिएको थियो । त्यस्तै १ स्टलमा स्तनपान सप्ताह र पोषणयुक्त खानेकुराहरुको प्रदर्शनी गरिएको थियो । सबै स्टलहरुको मन्त्री दुलालले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा ३ सदसीय अनुगमन टोलीले सो स्टलहरुमध्ये प्रथम, द्वीतीय र तृतीय स्टल छुट्याएका थिए । जसमध्ये साँगाचोक प्रथम, कुञ्चोक द्वीतीय र स्याउले–पिपलडाँडा तृतीय भएका थिए । उनीहरुलाई दोसल्ला सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा अतिथिहरु, विभिन्न कार्यालय, संघ संस्था र सञ्चारकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रमका अध्यक्ष एवम् शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौरीशंकर पाण्डेले सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद प्रदान गर्दै समापन समारोहमा महोत्सवले बाल विकास केन्द्रमा भएका राम्रा अभ्यास तथा सिकाइलाई एक आपसमा हस्तान्तरण गर्ने अवसर दिएको बताए । उनले सिकाईलाई  कक्षा कोठामा बालबालिकासंग प्रत्यक्ष प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्न सहजकर्ताहरुलाई आग्रह समेत गरे ।

    शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकको मूख्य आयोजनामा भएको महोत्सवको व्यस्थापन टुकी संघ सुनकोशी, आर्थिक सहयोग सेभ द चिल्ड्रेन इन्टरनेशनल र प्रचारप्रसार तथा प्रबद्र्धन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस