२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कविता: समयको कठोरता

  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ६ साल अघि
    • नवराज रायमाझी

    पीडाका बादलले छोपेका घामहरू
    चन्द्रग्रहण लागेर छोपेका जुनहरू
    सायद छट्पटीमा होलान् !
    बक बसिसकेका आवाजहरू
    मोतीबिन्दु लागेका हेराइहरू
    सायद कसैको पर्खाइमा होलान् !
    भोका तर अगाइसकेका पेटहरू
    सम्झनाका यादगार अन्तिम भेटहरू
    सायद चौबाटोमा तड्पिरहेका होलान् !
    बसन्तको अभावमा खण्डहर बनेका चौतारीहरू
    नचाहँदा नचाहँदै अन्योलमा छुटेका दौतरीहरू
    सायद पश्चतापमा होलान् !

    यी सब सङ्गेल्दै सङ्गेल्दै
    हजारौं मनहरूको मनकुण्ड बनाउनु छ !
    छट्पटी, पर्खाइ, तड्पाइ र पश्चतापलाई
    प्रशोधन गरेर खुसीका धरहरा ठड्याउनु छ !
    ताराको आत्महत्या पछि जन्मिएका दिनहरू
    शून्य शून्य बनाई, डोलीसँगै अन्मिएका दिनहरू
    शीर नै निमोठिएपछि अभावमा पलाएका पालुवाहरू
    घमासान युद्धपछि हार्नेहरूबाट निस्किएका बालुवाहरू
    श्रद्धाञ्जली पछिका सुन्दर कल्पनाहरू हुन् ।

    त्यहि स्वर्णिम कल्पनाका शहरहरूमा
    खुसी खोज्नुछ तिनै ओठका रहरहरूमा
    समयले समयसँग केही माग्न सकेन,
    हामीले समयसँग मागेछौं
    त्यसैले त समय समय भएर बाँचिरह्यो !
    निराशाका चुचुराबाट आशाका झण्डा फर्फराउँदै
    अन्धकार समयमा सत्यताका अग्नि भर्भराउँदै
    तृष्णाका उजाड मरूभुमीहरूमा
    आँसुका टिलपिल तलाउहरूमा
    भावनाका गहिरा संगमहरूमा
    जीवनका अप्ठ्यारा घुम्तीहरूमा
    बाल्नु छ शान्तिका दिपहरू !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस