२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

टनेलमा व्यवसायीक गोलभेडा खेती

  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    २१ साउन २०७५, सिन्धुपाल्चोक ।

    मेलम्ची नगरपालिका वडा नं. ८ केउरानीका कोमल गिरीले यस वर्ष ५ वटा टनेलमा गोलभेंडा लगाएका छन् । व्यबसायिक रुपमा गोलभेंडा खेती गर्ने उद्देश्यले उनले यस वर्ष एकैपटक ४ वटा टनेल थपे । ४ वटा टनेलमा फलेकोमध्ये एक क्विन्टल गोलभेंडा प्रति किलोको ५० रुपैंयाँका दरले बिक्री भैसकेको छ । एउटा टनेलमा रोपेका बिरुवा भर्खर सर्दैछन् ।

    ‘२०७३ असारमा बनाएको टनेलमा गरेको गोलभेंडा र अन्य तरकारी खेतीबाट झण्डै २ वर्षमा ४९ हजार रुपैंयाँ बराबरको आम्दानी भएछ । २ वर्षको अनुभवबाट टनेलमा तरकारी खेती गर्दा अन्नबाली भन्दा झण्डै १० गुणा बढी आम्दानी हुने भएपछि व्यबसायिक रुपमा तरकारी लगाउनका लागि एउटा टनेलबाट बढाएर ५ वटा पुर्याएको हुँ,’ उनले भने– ‘मैंले भूकम्प अघि पनि तरकारी खेती त गरेको थिएँ । तर टनेलमा भने पहिलो पटक तरकारी खेती गरेको हुँ । दुई वर्षको अनुभवले ५ मिटर चौंडाई र १२ मिटर लम्बाई भएको एउटा टनेलमा गरेको तरकारी खेतीबाट एक सिजनमा (६ देखि ८ महिना) खर्च कटाएर २० हजार रुपैंयाँ नाफा हुने देखेपछि एकैपटक ४ टनेल थपेर गोलभेंडा खेती गरिरहेको छु ।’ ५ वटा टनेलले ओगटेको झण्डै १० आना जग्गामा अन्नबाली लगाउँदा जम्मा ५ हजार रुपैंयाँ बराबरको उत्पादन हुने कोमल बताउँछन् ।

    ५० प्रतिशत अनुदानमा ४ वटा टनेलका लागि प्लास्टिक खरिद गरेका किसान कोमल गिरीले ५ वटै टनेलमा थोपा सिंचाई सेट समेत जडान गरेका छन् । ‘जिल्ला कृषि विकास कार्यालयबाट २ वटा र केयर नेपाल तथा आत्मनर्भर केन्द्रको जीविकोपार्जन सुपर परियोजनाबाट २ गरी ४ वटा टनेलको प्लास्टिक ५० प्रतिशत अनुदानमा किनें । बाँस तथा काम गर्ने जनशक्ति आफैंले व्यबस्थापन गरेर टनेल बनाएको हुँ ।’ उनी भन्छन्– ‘टनेलमा थोपा सिंचाई फिट गरेर खेती गर्दा थोरै पानीले सिंचाइ गर्न सकिने, झार कम आउने भएकोले समयको बचत भई अन्य काम गर्न पाईने र उत्पादन पनि दशौं गुणा ब्ढने रहेछ । तरकारी खेतीबाट दैनिक रुपमा पैसा आउने भएकोले धेरै फाईदा पाएको छु ।’ उनले थपे– ‘केउरानीमैं कृषि उपज संकलन केन्द्र समेत निर्माण भएका कारण बजारको समस्या नहुने देखेर र अरुलाई पनि उत्प्रेरित गर्नु पर्छ भनेर व्यबसायिक रुपमा तरकारी खेतीमा लागेको छु ।’

    ७३ सालमा पहिलो पटक लगाएको गोलभेंडाबाट घरमा खाएर बचेको बिक्री गर्दा १८ हजार नाफा लिएका गिरीले दोस्रो सिजनमा लगाएको तरकारीबाट ४ हजार ७ सय रुपैंयाँ मात्रै नाफा कमाए । त्यहि टनेलमा तेस्रो पटक लगाएको गोलभेंडाबाट फेरी २१ हजार रुपैंयाँ भन्दा बढी नाफा दियो । ‘संस्थाले निःशुल्क रुपमा तरकारीको बीउ, टनेल निर्माणका लागि प्लास्टिक, केहि कृषि औजार, थोपा सिंचाई सेट र व्यबसायिक तरकारी खेती तालिम उपलब्ध गराएपछि अर्धव्यबसायिक रुपमा टनेलमा गोलभेंडा लगायतका तरकारी लगाउन थालेका हौं,’ उनले भने– ‘एक वर्षमा २ हजार रुपैंयाँ बराबरको अन्नबाली फल्ने २ आना जग्गामा बनाएको टनेलबाट झण्डै दुई वर्षमा ४९ हजार रुपैंयाँ बराबरको तरकारी फलाउन सकिँदो रहेछ भन्ने प्रमाणित भयो ।’ उनले आफु पनि व्यबसायिक किसानको रुपमा अघि बढ्नुका साथै अरु किसानलाई पनि सिकाउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

    कोमल गिरी किसान मात्रै नभएर ४ सय भन्दा बढी किसानहरु आवद्ध भएको श्री विष्णु लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पनि हुन् । ‘किसानलाई आवश्यक रासायनिक मल तथा बीउबिजन उपलब्ध गराउनका लागि भनेर हामीले २०७० सालमा सहकारी स्थापना गरेका हौं । मेरो कामलाई मन पराएर सबैले अध्यक्षको जिम्मेवारी दिनुभएको छ,’ उनी भन्छन्– ‘केएर नेपाल र आत्मनिर्भर केन्द्रले केउरानीमा कृषि उपज संकलन केन्द्र बनाइदिएको छ र आवश्यक सामाग्री व्यबस्था समेत भैसकेको अवस्थामा यस क्षेत्रमा तरकारीको उत्पादन बढाउनु पर्ने देखेको हुँदा सदस्यलाई उत्प्रेरणा दिने उद्देश्यले काम गरिरहेको छु ।’

    २०७२ वैशाख १२ गतेको भूकम्पपछि व्यबसायिक तरकारी खेतीका बारेमा सिक्न पाएपछि र बीउबीजन तथा सामाग्री सहयोग पाएपछि पीडित किसानहरु समेत उत्प्रेरित भएको उनको अनुभव छ । टनेल वरपरको जग्गामा अलैंची, भेडे खुर्सानी, भण्टाका साथै किवी, अनार, कागती, अलैंची, जुनार, नास्पाती लगायतका फलफूल समेत लगाएका छन् । ‘केउरानीलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्ने र त्यसको नेतृत्व सहकारीले गर्ने गरि हामी अगाडि बढिरहेका छौं ।’ उनले भने– ‘सहकारीको व्यबसायिक योजना पनि यसै वर्ष तयार गरेर कार्यान्वयन भैरहेको र संकलन केन्द्रमार्फत यस क्षेत्रको कृषि उपजको बजारिकरण गर्ने लक्ष्यसहित काम भैरहेको छ ।’

    ५ वटा टनेलमा फलेको तरकारीबाट एक सिजनमा एक लाख रुपैंयाँ नाफा हुने भएपछि अरु किसानलाई पनि व्यबसायिक बन्न आकर्षित गरोस् भन्ने हिसाबले आफूले तरकारी खेती गरिरहेको उनले बताए । सहकारीले कृषि उपज संकलन केन्द्रलाई अझै व्यबस्थित गरेर किसानको उत्पादनलाई बजारिकरण गर्नेमा उनी ढुक्क छन् । आफूले व्यवसायिक खेती गरेको देखेर अन्य कृषकहरुले पनि खेतीलाई महत्व दिएकोमा आफूलाई खुसी लागेको उनले बताए ।

    • विनोद शर्मा
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस