खबरज्योति,
२१ साउन २०७५,, मताराम ।
इन्डोनेसियाको पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार पुनः आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । लोम्बोकमै गत साता आएको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो ।
स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको छ । बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए । लोम्बोकमा सेना र अन्य उद्धारकर्ताले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पुर्याएका छन् ।
राष्ट्रिय विपद एजेन्सीका प्रवक्ता सुटोपो पुर्वोले मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको जानकारी दिए । ‘हजारौं घरमा क्षति पुगेको छ र अधिकांश मानिसको मृत्यु भत्किएका घरले पुरिएर भएको हो,’ उनले भने । लोम्बोक जिल्लाको उत्तरमा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्युडको उक्त भूकम्प आइतबार साँझ गएको र भूकम्पको केन्द्र उत्तरी लोम्बोक रहेको छ। भूकम्प जमिनको सतहबाट करिब साढे १० किलोमिटर मुनि थियो ।
‘भूकम्पको ठूलो धक्का आउँदा म टिभी हेरिरहेको थिएँ,’ लोम्बोक निवासी हारिएनले भने, ‘बत्ती हल्लिरहेको थियो र मानिसहरु भागौं-भागौं भन्दै कराइरहेका थिए । म पनि घरबाट बाहिर निस्किएँ, बाहिर अँध्यारो थियो किनभने विद्युत काटिएको थियो ।’ इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ ।
त्रसित मानिसहरु रातारात सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा आएका छन् । भूकम्प आएको आधा घन्टा विमानस्थलहरुमा पनि विद्युत कटौती हुँदा उडान र अवतरण बन्द भएको थियो । यही क्षेत्रमा गत साता आएको ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए ।
प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा छ । डिसेम्बर २००४ मा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९ दशमलब १ म्याग्निच्युडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो, जसका कारण एक दर्जन तटीय मुलुकका २ लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । एपी
प्रतिक्रिया दिनुहोस