खबरज्योति
५ साउन २०७५, सिन्धुपाल्चोक ।
राज्यले शिक्षामा गरेको लगानीले कुनै प्रतिफल दिन नसकेको भन्दै शिक्षाविद्हरुले आवाज उठाइरहेको बेला प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर सुदृढीकरण गर्न ३२ करोड १५ लाख खर्च गर्ने भएको छ ।
शिक्षामा गुणस्तरीयता र पहुँचमा समानता स्थापित गरी विभेदकारी शिक्षाको अन्त्य गर्न यो रकम खर्च गरिने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । ‘हामीले आर्थिक वर्ष २०७५/७६ को बजेटमा शिक्षालाई विशेष प्राथमिकता दिएका छौं’, मन्त्री दुलालले भने– ‘शिक्षालाई गुणस्तरीय बनाउँदै माटो सुहाउँदो शिक्षा प्रदान गर्नु हाम्रो लक्ष्य रहेको छ ।’ शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम अन्तर्गत रकम खर्च गरिने उनको बताए ।
मन्त्रालयका अनुसार शैक्षिक गुणस्तर सुदृढीकरण गर्न प्रदेश भित्रका १ हजार ३ सय २३ सामुदायिक माध्यमिक विद्यालयको अंग्रेजी, गणित र विज्ञान विषयका ४ हजार १ सय शिक्षकलाई शिक्षण क्षमता अभिवृद्धि तालिम प्रदान गरिने छ । जसको लागि मन्त्रालयले २ करोड ५ लाख रुपैंयाको बजेट विनियोजन गरेको छ ।
त्यस्तै प्रारम्भिक बाल विकास केन्द्रका ५ हजार सहजकर्तालाई प्रोत्साहन स्वरुप १० करोड रुपैंया दिईने भएको छ । प्रदेश भित्रका सबै सामुदायिक विद्यालयमा शैक्षिक सामग्रीका खरिदका लागि १० करोड रुपैंया छुट्याईएको छ । मन्त्रालयले सबै जिल्ला समावेश हुने गरि २० वटा विद्यालयमा आइसिटि भवन सञ्चालनका लागि २ करोड अनुदान दिने जनाएको छ ।
भूकम्पका कारण क्षति भएका र कतैबाट अहिलेसम्म योजना नपरेका विद्यालयको भवन निर्माण शुरुवातका लागि मन्त्रालयले ५ करोड २० लाखको ब्यबस्था गरेको छ । शैक्षिक सूचना व्यवस्थापन प्रणाली स्थापनाको लागि २ करोड रुपैंया छुट्याईएको छ । त्यस्तै प्रवाविधिक धार सञ्चालन भएका विद्यालयहरूका लागि प्रयोगशाला व्यवस्थापन कार्यक्रम अन्तर्गत प्रति विद्यालय ३ लाखको ब्यबस्था अनुसार ३० विद्यालयको लागि ९० लाख रुपैंयाको व्यवस्था गरिएको आर्थिक वर्ष २०७५/७६ को बजेटमा उल्लेख छ ।
मन्त्रालयले नमूना विद्यालय विकासको तयारी गर्नुको साथै एक पालिका एक प्राविधिक शिक्षालयको अवधारणा अनुसार प्राविधिक तथा व्यावसायिक धारका विद्यालय स्थापना गर्न अनुदानको ब्यबस्था गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस