२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

तातोपानी नाका खुल्ने भएपछि सिन्धुपाल्चोकमा खुसियाली

  • २०७५ अषाढ ११, सोमबार मा प्रकाशित ६ साल अघि
  • सिन्धुपाल्चोक । चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता गरेपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकारवालाहरु खुसी भएका छन्।

    २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका खुलाउने र मितेरी पुल निर्माण गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा सहमति भएको जानकारी पाएपछि उनीहरु हर्षित भएका हुन्। भूकम्पपछि असुरक्षाको कारण देखाउँदै चीन सरकारले सो नाका बन्द गरी रसुवागढी नाका मात्रै सञ्चालनमा ल्याएको थियो। नेपाल र चीन जोड्ने छोटो र सहज नाका भए पनि लामो समयदेखि बन्द हुँदा सयौं नागरिकको रोजगारी मात्रै नभई मुलुकका लागि ठूलो परिमाणको राजस्व समेत गुमेको थियो।

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा बिहीबार तातोपानीको मितेरी पुल चीन सरकारले निर्माण गरिदिने सम्झौता भएको हो। सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङ्यूले हस्ताक्षर गरेका छन्। यस्तै, रसुवागढीको मितेरी पुल समेत चीन सरकारले नै निर्माण गरिदिने सम्झौता भएको छ।

    नाका खोल्ने उद्देश्यका साथ केही समय पहिलेदेखि नाका नजिकै रहेको लार्चा सुक्खा बन्दरगाह निर्माणको काम समेत सुरु भएको छ। नेपाल इन्टर मोडल यातायात समिति र चिनियाँ अधिकारीको सहमतिपछि लार्चा बन्दरगाहको काम सुरु भएको हो। आगामी एक वर्षभित्र उक्त सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    नाका खुल्ने र मितेरी पुल समेत चीन सरकारले निर्माण गर्ने सम्झौताको स्वागत गर्दै नेकपाका नेता तथा सिन्धुपाल्चोक १ का सांसद अग्निप्रसाद सापकोटाले लामो समयदेखिको आफूहरुको प्रयासले सार्थकता पाएको बताए। ‘तातोपानी नाका खुलाउन पटक-पटक भएका राजनीतिक, कूटनीतिक प्रयासले सफलता पाएको छ’, नेता सापकोटाले भने, ‘नाका खुलाउन प्रधानमन्त्रीले खेल्नुभएको भूमिका सकारात्मक छ। सिन्धुपाल्चोकवासीका तर्फबाट उहाँलाई धन्यवाद छ।’

    उनले नाका बन्द हुँदा सयौँको रोजगारी गुमेको, मुलुकले ठूलो परिमाणको राजस्व गुमाएको र नाका क्षेत्रका व्यापारी तथा व्यवसायी समेत पलायन भएको अवस्थामा अब भने सकारात्मक संकेत देखा परेको बताए। नेता सापकोटाले अरनिको राजमार्गको विस्तार तथा मर्मत सम्भारमा ध्यान दिन सरकारलाई आग्रह पनि गरेका छन्। प्रधानमन्त्री ओली चीन जानुअघि असार ४ मा नेता सापकोटा नेतृत्वको टोलीले तातोपानी नाका खुलाउन आग्रह गर्दै ध्यानकर्षण गराएको थियो।

    सिन्धुपाल्चोकका नेकपा नेता माधव सापकोटाले पनि नाका खुल्ने र मितेरी पुल निर्माण हुने सहमतिपछि जिल्लाभर खुसियाली छाएको प्रतिक्रिया दिए। चीनसँग भौगोलिक सुगमता भएको नाका लामो समयदेखि बन्द हुँदा त्यसबाट स्थानीय र राष्ट्रिय तहमा परेको समस्या समाधान हुने दिशामा गएको भन्दै उनले खुसी व्यक्त गरे।

    तातोपानी नाका जोडिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पनि नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने विषयमा भएको सहमति स्वागतयोग्य रहेको बताएका छन्। ‘नाका खुल्छ भन्दाभन्दै ३ वर्ष बित्यो, आज खुल्ला भोलि खुल्ला भनेर बस्नेहरु समेत निराश भएका थिए। अब भने आशा पलाएको छ,’ अध्यक्ष पौडेलले भने, ‘भन्सार, अध्यागमन कार्यालयलाई थप व्यवस्थित बनाएर सरकारले तत्काल बाह्रबिसेमाथिको राजमार्ग मर्मतमा ध्यान दिनुपर्छ।’

    उनले राजमार्ग मर्मतमा समेत ध्यान नदिँदा स्थानीयलाई समेत समस्या परेको भन्दै नाका व्यवस्थित बनाउन गाउँपालिकाको तर्फबाट समेत सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। नाका खुलाउन नेकपाका नेता अमृतकुमार बोहोरा, नेता सापकोटा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ लगायतले पहल गर्दै आएका थिए।

    यस्तै, नेपाल र चीनबीच नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ। सो सम्झौतापछि सामान तथा मालबस्तु आयात तथा निर्यातमा थप सहज हुने भएको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ पनि प्रधानमन्त्री ओली र सिन्धुपाल्चोकको राजनीतिक नेतृत्वले गरेको सकारात्मक पहलपछि तातोपानी नाका खुल्ने अवस्थामा पुगेकोमा खुसी व्यक्त गर्छन्।

    उनले भने, ‘अब नाका खुल्छ, व्यापार तथा व्यवसायमा समेत थप सहजता आउँछ भन्ने लागेको छ। उद्योग वाणिज्य महासंघ सिन्धुपाल्चोक चीनमा भएको सहमतिको स्वागत गर्छ।’ नेपाल हिमालय सीमापार व्यवसायी संघले पनि नाका खुल्ने विषयमा जानकारी पाउँदा खुसी लागेको प्रतिक्रिया दिएको छ। नाका खुल्नुभन्दा पहिल्यै राजमार्गको मर्मत सम्भार तथा अन्य अत्यावश्यकीय काम गर्नुपर्नेमा संघले जोड दिएको छ। रमेश लम्साल/रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस