खबरज्योति,
६ जेष्ठ २०७५, सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिकाले १ वर्षभित्र भएको कामको वार्षिक समिक्षा गरेको छ ।
गाउँपालिकाले जनप्रतिनिधि आईसकेपछि भए गरेको कामको वार्षिक समिक्षा गरेको हो । शुक्रबार गाउँपालिकाको भवनमा गरिएको वार्षिक समिक्षा कार्यक्रममा पुनर्निर्माणलाई ८० प्रतिशत पुर्याईएको जनाईएको छ । ‘अहिलेको प्रमुख चुनौति भनेकै पुनर्निर्माणलाई पूरा गर्नु हो’, कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने– ‘हामीले पुनर्निर्माण ८० प्रतिशत सकिसकेका छौं, अबको एक वर्ष भित्र सतप्रतिशत पुनर्निर्माण गर्नेमा जोड दिएका छौं ।’ पुनर्निर्माणलाई प्राथकिमतामा राखी गाउँपालिकाले २०७५ चैत्र मसान्तसम्म सबैखाले नक्सा निःशुल्क बनाउने व्यवस्था मिलाएको जनाएको छ ।
त्यस्तै गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा एक वर्ष खर्चगरेको जनाएको छ । कृषि क्षेत्र अन्तर्गत हेलम्बु– १, ५, ६ र ७ नं. वडालाई चियाको पकेट क्षेत्र घोषणा गरिएको, ट्राउट माछाको भूरा उत्पादनलाई जोड दिईएको, २ हेक्टर जमिनमा चिया नर्ससी स्थापना गरिएको छ । कृषि कार्यक्रम अन्तर्गत एक वर्षमा १ करोड २९ लाख २५ हजार रुपैंयाको काम भईसकेको, २७ लाख ६७ हजारको काम भईरहेको र तेस्रो चौमासिकमा ३ लाख ७० हजार ३० रुपैंयाको काम हुन बाँकी समिक्षा कार्यक्रममा जनाईएको छ ।
शिक्षालाई गुणस्तरीय बनाउँदै आधुनिक विधि र प्रविधिमा हेलम्बु गाउँपालिकाले जोड दिएको छ । ०७४ को अन्तिम परीक्षाको नतिजालाई आधार मानि २ वर्ष भित्र सिकाई उपलब्धीमा ५ प्रतिशतले बृद्धि गर्ने पालिकाको योजना छ ।
त्यस्तै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिकाले औषधीलाई अभाव हुन नदिएको जनाएको छ । गर्भवती महिलाहरुलाई ध्यानमा राख्दै उनीहरुलाई बर्थिङ सेण्टरसम्म जानको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य क्षेत्रमा विनियोजन भएको कुल बजेटको ३८ प्रतिशत खर्च भईसकेको पालिकाले जनाएको छ । पालिकाले स्वास्थ्य क्षेत्रमा १ करोड ५० लाख ५४ हजार बजेट विनियोजन गरेको थियो ।
गाउँपालिकाले आगामी वर्षमा प्रत्येक घरमा ग्रीन हाउस निर्माण गर्न पहल गर्ने, एकीकृत सम्पत्ति कर निर्धारण गर्ने, जग्गा बाँझो राख्न नदिन विभिन्न स्कीम ल्याउने, शिक्षालाई गुणस्तरीय बनाउन पहल गर्ने, च्याउ पकेट क्षेत्र निर्माण गर्ने, पर्यटन विकासमा जोड दिने योजना बनाएको छ ।
‘हामीले हेलम्बुलाई देशकै नमूना पालिका बनाउन पहल गरिरहेका छौं’, अध्यक्ष शेर्पाले भने– ‘मेरो कार्यकाल भरी पालिकालाई समृद्ध बनाएरै छाड्ने छु ।’ निक्कै सम्भावना बोकेको हेलम्बु गाउँपालिकाको अय स्तरमा बृद्धि गर्दै समृद्ध बनाउन आफुहरु लागिरहेको परिरहेको प्रमुख प्रशासकिय अधिकृत कुलराज सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस