२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

क्रसरबाट उडेको छारोले माझी बस्ती धुलाम्मे

  • २०७४ चैत्र १५, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योती
    १५ चैत्र २०७४, सिन्धुपाल्चोक ।

    इन्द्रावती नदीको किनार भिमटारदेखि बन्देउसम्म सीमान्तकृत माझी जातिको बस्ती छ । बीसदेउटार, भिमटार, झोलुंगे, जामुने, एक्ले र महादेवटारमा माझीबाहेक अन्य जाति छैनन्। पाँचसय घरधुरी रहेको बाक्लो बस्तीमा तीन हजार माझी बस्छन् ।

    नदी किनारमै रहेका उत्पादनशील खेतको फाँटमा आलु , तोरी र गहुँ बाली लगाइएको छ । बस्तीमाथि सालको घना जंगल छ । प्राकृतिक सुन्दरताले भरिएको माझी बस्तीले पर्यटकीय गन्तब्य समेतको सम्भावना बोकेको छ । तर, अहिले गाउँ पूरैलाई धुलो र फोहोरले ढाकेकोे छ । पर्यावरण बिग्रिँदै गएपछि माझी समुदाय आजकाल चिन्तामा परेका छन् ।

    नदी नजिकै गाउँको माझमा तीन ठूला क्रसर उद्योग छन् । ती उद्योगबाट उडेको धुलोले माझी बस्तीलाई प्रदूषित बनाएको हो । कालिञ्चोक भगवती इन्टीगेट प्रालि, भूमि निर्माण सेवा र इन्द्र क्रसर उद्योगले लापर्बाही ढंगले मेशिन चलाउँदा बस्तीको पर्यावरण दूषित भएको छ । क्रसर उद्योगले मेशिन र सडकमा पानीको प्रयोग नगरेकोले गाउँभरि धुलो उडेको हो ।

    बस्तीमात्रै होइन खेतका बाली र जंगलका रुख पनि क्रसरबाट उडेको छारोेले धुलाम्मे भएका छन् । फोहोर धुलोले पानीको मुहानसमेत दूषित भएको छ । अन्नबाली, घाँसपात र घरायसी पर्यावरणमा धुलोले नराम्रो असर पुर्याएको छ ।

    ‘क्रसरबाट उडेको मसिनो धुलोले गाउँलाई छपक्कै छोपेको छ,’ धोएको लुगा सुक्न नपाउँदै पुनः धुनुपर्ने विवशतालगायत मानव स्वास्थ्यमा नराम्रो असर परेको बताउँदै स्थानीय हर्कबहादुर माझीले भने, ‘तैपनि, जिम्मेवार तहले हाम्रो बस्तीप्रति कुनै चासो दिएको  पाइँदैन ।’

    वातावरणसम्बन्धी चेतना नभएकोले माझी वस्तीलाई उद्योगीले हेपेको उनले गुनासो गरे । क्रसर र गाउँको माझबाट कुद्ने ट्रिपरको धुलोले सास फेर्न गाह्रो पर्ने गरेको उनको अनुभव छ । बिचगाउँको विद्यालयमा पढिरहेका बालबालिका धुलोले प्रभावित हुने गरेको उनले सुनाए । ०५४ मा बनेको वातावरण संरक्षण ऐनअनुसार मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने गरी बस्ती नजिक उद्योग स्थापना गर्न पाइँदैन ।

    सुरुसुरुमा माझी समुदाय धुलोको असरबारे अनविज्ञ थिए । तर, गाउँका अगुवाले बुझाएपछि पर्यावरणीय असरबारे बोल्न थालेका छन् । ट्रिपर कुद्ने सडक र क्रसरमा पिँध्ने नदीजन्य पदार्थमा पानी हाल्न उनीहरुले पटकपटक अनुरोध गरेपनि व्यवसायी भने अटेर गरेर बसेका छन् । जसका कारण नदीजन्य पदार्थ बोकेर हिँडेका ट्रिपरलाई स्थानीयले बिचबाटैमा अवरोध पुर्याउने गरेका छन् । मानव स्वास्थ्यमा खेलवाड भइरहेकोले दिनहुँजसो बाटो अवरोध भएको राजनीतिक दलका स्थानीय नेता कमल माझीले बताए । चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधिले नै क्रसरबाट पैसा असुल्ने गरेकोले धुलोको समस्या समाधान नभएको उनले आरोप लगाए । क्रसर व्यवसायी गंगाराम दंगालले वातावरण संरक्षणका लागि आफू जे गर्न पनि तयार रहेको   दाबी गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस