खबरज्योती
१५ चैत्र २०७४, सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिका– ५ का ४० वर्षिय सुनिल तामाङ तालामाराङ चौकी नजिकै खोलामा मृत अवस्थामा फेला परेका छन् । चैत्र ४ गते घरबाट मेलम्चीमा दोस्रो किस्ता लिन हिँडेका तामाङ १२ गते चौकी नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकीले तामाङलाई ४ गते राती १० बजे बजारमा हल्ला गर्दै हिँडेको अवस्थामा देखेपछि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले केहि समय पछि उनलाई छाडेको थियो । तामाङ घर नफर्किएपछि खोजीकार्य गर्दा सुनिललाई मृत अवस्थामा प्रहरी चौकी नजिकै भेटिएको आफन्तले बताएका छन् ।
स्थानीयले प्रहरीलेनै कुटपिट गरी मारेको आशंका गर्दै १३ गते तालामाराङ बजारमा यातायात आवतजावत पूर्ण ठप्प पारेका थिए । प्रहरीले यातना दिएर हत्या गरेको आरोप लगाउँदै स्थानीय आईत तामाङ भन्छन्– ‘यदी प्रहरीले नमारेको भए कसरी लाश यहाँ आयो ?’ मृतकको परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने उनले माग गरे ।
तर प्रहरीले भने आरोपको खण्डन गरेको छ । ‘हामीले उहाँलाई नियन्त्रणमा लिएर केहि समय पछि छाडेका थियौं’, तालामाराङ प्रहरी चौकीका प्रमुख राजु केसीले भन्छन्– ‘हामीमाथी स्थानीयले गरेको शंका निराधार छ ।’ प्रहरीले यसो भनेपनि स्थानीयले प्रहरीलेनै मारेको दावी गर्दै आएका छन् । स्थानीयका अनुसार प्रहरी प्रमुखनै यस घटनापछि फरार छन् ।
प्रतिक्रिया दिनुहोस